BIZMANDU
www.bizmandu.com

यती एयरलाइन्स पब्लिक लिमिटेडमा रुपान्तरण, पर्यटन मन्त्रालयमा अध्यावधिक गर्न पठायो

२०८० असार २५

यती एयरलाइन्स पब्लिक लिमिटेडमा रुपान्तरण, पर्यटन मन्त्रालयमा अध्यावधिक गर्न पठायो
यती एयरलाइन्स पब्लिक लिमिटेडमा रुपान्तरण, पर्यटन मन्त्रालयमा अध्यावधिक गर्न पठायो


काठमाडौं। यती एयरलाइन्स प्राइभेटबाट पब्लिक(लिमिटेड)मा रुपान्तरण भएको छ। आर्थिक संकटमा परेपछि कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने उदेश्यसहित पब्लिकमा रुपान्तरण भएको हो।

Tata
GBIME
NLIC

कम्पनी रजिष्ट्रारको कार्यालयमार्फत केही दिन अघि मात्रै पब्लिकमा रुपान्तरण भएको हो। कम्पनीले अध्यावधिक गर्नका लागि पर्यटन मन्त्रालयमा पत्र पठाएको छ।

‘अध्यावधिक गरिदिन भनेर हामीलाई पत्र आएको छ। कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न पब्लिकमा रुपान्तरण गरेको जानकारी आएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने। लिमिटेडमा गएपछि यती समूह अन्तर्गत रहेको तारा एयर भने छुटिनेछ। 

९ महिना अघि पोखरामा यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनापछि व्यापारमा ठुलो धक्का लागेको छ। यो धक्कासँगै समूहले यतीको सेयर बेच्न लगानीकर्ता पनि खोजिरहेको छ। कम्पनीको ४९ प्रतिशत सेयर बेच्न विभिन्न समूहसँग छलफल समेत गरिरहेको छ।  कम्पनीमा विभिन्न आधा दर्जन बैंकले करिब ६ अर्ब ऋण लगानी गरेका छन्।

कम्पनीको सुरुआत लाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पाले गरेका थिए। लाक्पा सोनाम शेर्पा कम्पनीको अध्यक्ष हुन् भने आङछिरिङकी श्रीमती चन्दा शेर्पा प्रबन्ध निर्देशक हुन्। 

कम्पनीको पछिल्लो क्रेडिट रेटिङ अनुसार सन् २०२१/२२ को नौ महिनामा २ अर्ब ७४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। कम्पनीले त्यो समयमा पाँचवटा एटीआर ७२-५०० जहाजको हवाई सेवाबाट यो रकम बराबरको कारोबार भएको थियो। २०२१ मा कम्पनीले १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो।

२०२० मा कम्पनीले २ अर्ब ६६ करोड, २०१९ मा ३ अर्ब ४३ करोड र २०१८ मा ३ अर्ब १३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो। आङछिरिङको निधन २०७५ फागुनमा भएको थियो।

उनको निधनपछि नै यतीको कारोबारमा निरन्तर गिरावट छ। क्रेडिट रेटिङ इक्रा नेपालका अनुसार दुई वर्षअघि यतीको हवाई बजारमा हिस्सा २५ प्रतिशत थियो। त्यसयताको तथ्यांक भने सार्वजनिक भएको छैन।