काठमाडौं। चालु आर्थिक वर्ष सकिन एक साता मात्रै बाँकी रहँदा सेयर बजारले हरियाली कायम गर्न सुरु गरेको छ। आइतबार नेप्से सूचक २८.३८ अंक बढ्यो।
यद्यपि बजार बढ्दा समेत हकप्रद स्वीकृति पाएको माथिल्लो तामाकोशीको सेयर मूल्य भारी दरमा घट्यो।
तामाकोशीको बिहीबार एकाएक सेयर मूल्य बढेर सर्किट लागेको थियो। हकप्रद निष्कासनको स्वीकृति पाएको सूचना सार्वजनिक भए लगत्तै सेयर मूल्य घट्न थालेको हो। शुक्रबार शत प्रतिशत हकप्रद निष्कासनको अनुमति पाएको कम्पनी लगत्तैको कारोबारमा प्रति सेयर मूल्य ६.६५ प्रतिशतका दरले साढे ३१ रुपैयाँ घट्यो।
बिहीबार ह्वात्तै बढेको जोशी हाइड्रोपावर पनि आज साढे ३ प्रतिशत घटेको छ। बजारको अनुपातमा हाइड्रोपावर समूह भने बढ्न सकेन। ४७ वटा हाइड्रोको सेयर मूल्य बढेपनि प्रतिनिधि सूचकमा खासै घटबढ छैन।
तर होटल तथा पर्यटन क्षेत्रमा पुनरागमन भएको लगानीकर्ताको आकर्षणले आइतबार बजार भने करिब डेढ सातापछि हरियो बनेको छ। चन्द्रागिरि हिल्स ७० रुपैयाँ बढेको छ। ओरियन्टल होटल ३६ रुपैयाँ र तारागाउँ रिजेन्सी ३१ रुपैयाँ बढ्यो। सोल्टी होटल पनि १७ रुपैयाँ बढेको छ। आइतबार तेस्रो सबैभन्दा बढी कारोबार भएको सोल्टीको सेयर हो।
सबैभन्दा बढी कारोबार हिमालयन लाइफ इन्स्योरेन्सको भयो। १८ करोड ६० लाखको सेयर किनबेच भएको छ। शिवम् सिमेन्टको १६ करोड ३६ लाखको कारोबार भएको छ। कुल कारोबार रकम भने बिहीबारदेखि यथावत देखिन्छ। पछिल्लो तीनवटै कारोबार ३ अर्ब नाघेर बन्द भयो।