काठमाडौं। मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन्। नेपाल बीमा प्राधिकरणले उनको नाम स्वीकृत गरेसँगै नियुक्त भएका हुन्।
प्रभु र महालक्ष्मी लाइफको एकीकृत कारोबार शुक्रबारबाट सुरु हुँदैछ। दुवै कम्पनीबीच २०७९ असार ३० मा मर्जरका लागि प्रारम्भिक सहमति र गत जेठ ३ गते अन्तिम सहमति भएको थियो।
सम्झौतामा महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई मर्जरपछिको कम्पनीमा आगामी ४ वर्षको लागि नियुक्ति गर्ने सहमति भएको थियो।
उक्त सहमतिलाई प्रभु र महालक्ष्मी लाइफको जेठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बीमा प्राधिकरणमा प्रस्ताव पठाइएको थियो। नियुक्तिलाई प्राधिकरणले स्वीकृति दिएको हो।
व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृत हुन्। उनले २०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैकिङ करिअर प्रारम्भ गरेका हुन्। ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सक्रिय छन्।
भट्टराई २०५२ मंसिर १५ गते वीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए।
त्यसपछि निरन्तर नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्।
२८ वर्षदेखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भूमिकामा रहेका उनले काम गरेका सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेकाले प्रभु महालक्ष्मीलाई पनि उचाइमा पुर्याउने विश्वास रहेको कम्पनीले जनाएको छ।