BIZMANDU
www.bizmandu.com

युद्धको ५०१ दिन: युक्रेनमा १४३ अर्ब डलर क्षति, दोस्रो विश्वयुद्धपछि खराब अवस्थामा शरणार्थी समस्या

२०८० असार २४

युद्धको ५०१ दिन: युक्रेनमा १४३ अर्ब डलर क्षति, दोस्रो विश्वयुद्धपछि खराब अवस्थामा शरणार्थी समस्या
युद्धको ५०१ दिन: युक्रेनमा १४३ अर्ब डलर क्षति, दोस्रो विश्वयुद्धपछि खराब अवस्थामा शरणार्थी समस्या


युक्रेन र रुसबीच युद्ध भएको आज ५०१ दिन पुगेको छ। ५०० दिनअघि फ्रेबुअरीमा रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि युद्ध सुरु भएको थियो।

Tata
GBIME

युद्ध लम्बिँदै जाँदा युक्रेनबाट लाखौं मानिस पलायन भइसकेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म ६३ लाखभन्दा धेरै युक्रेनी शरणार्थी बन्दै छिमेकी देश पुगेका छन्। दोस्रो विश्वयुद्ध पछिकै हालसम्मको ठूलो शरणार्थी समस्या यो युद्धबाट देखिएको छ।

५९ लाखभन्दा बढी युक्रेनीहरु युरोपका विभिन्न राष्ट्रमा शरणार्थी बनेर पुगेका छन् भने ३ लाख ६४ हजार युरोप बाहिर पुगेका छन्। युक्रेनमै थप ६० लाख मानिस विस्थापित भएका छन्। शरणार्थी बनेकाहरुमा धेरै महिला र बालबालिका छन्। युक्रेनका १८ देखि ६० वर्ष उमेर समूहका पुरुषहरुलाई सरकारले स्वदेशमै बसेर युद्ध लड्न भनेको छ।

रसिया छाडेर जानेहरुको संख्या पनि केही हदसम्म देखिएको छ। युद्धलाई लिएर रसियाली समाज विभाजित पनि छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी इकाइ(युएनएचसीआर)का अनुसार युद्धका क्रममा युक्रेनमा मात्रै ९ हजार ८३ जना नागरिक मारिएका छन्। १५ हजार ७७९ जना घाइते भएका छन्। तर यो संख्या तथ्यांकमा भनिएको भन्दै धेरै हुने अनुमान छ।

रसिया र युक्रेन तर्फबाट पनि युद्धमा संलग्न हजारौं सैनिक मारिएका छन्। तर, यसको यकिन तथ्यांक आउन सकेको छैन। युक्रेनको रक्षा मन्त्रालयले जुलाइ ५ सम्ममा २ लाख ३१ हजार बढी रसियाली सैनिक मारिएको दाबी गरेका छन्। युद्धको पहिलो वर्षमा मात्रै २ लाख रसियाली सैनिक मारिएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ। रुसका लागि काम गरिरहेको लडाकु एजेन्सी वाग्नरको तर्फबाट पनि ४० देखि ६० हजार मानिस मारिएको दाबी गरिएको छ।

गत अप्रिलमा ‘लिक’ भएको अमेरिकाको डिफेन्स इन्टेलिजेन्स एजेन्सीको रिपोर्टको आधारमा भने रसियाको तर्फमा २ लाख २३ हजार सैनिक मारिएका छन्। अमेरिकी रिपोर्टको आधारमा भने युक्रेनको तर्फबाट १ लाख ३१ हजार जना मारिएका छन्। अमेरिकी तथ्यांक भने मस्को र किभले दिएको तथ्यांकभन्दा धेरै छ। यी तथ्यांकहरुको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

किभ स्कुल अफ इकोनोमिक्सले गरेको अनुसन्धानमा युक्रेनमा १४३ बिलियन अमेरिकी डलर बराबरको क्षति भएको छ। यस्तै, गत मार्चमा प्रकाशित विश्‍व बैंकको प्रतिवेदनअनुसार युद्धपछि युक्रेनको पुनर्निर्माणमा ४११ बिलियन अमेरिकी डलर खर्च हुने उल्लेख छ। शिक्षा क्षेत्रमा ८.९ बिलियन डलर, कृषि क्षेत्रमा ८.७ बिलियन अमेरिकी डलर, ऊर्जामा ८.१ बिलियन अमेरिकी डलर नोक्सान भइसकेको छ। युद्धका कारण अन्य क्षेत्रमा पनि अर्बौंको घाटा भएको छ।

अहिलेको अवस्थामा युद्धका दिनहरु अझै लम्बिने देखिएको छ। युद्ध रोक्ने पहल कतैबाट नहुँदा दुवै पक्ष थप आक्रामक देखिएका छन्। वाग्नर समूहको विद्रोहपछि युक्रेनमा रसियाली राष्ट्रपति भलादमिर पुटिन थप ‘अफेन्सिभ’ हुने देखिएको छ।

एक वर्षअघिसम्म रसियाले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिएको अनुमान गरिएको थियो। अहिले भने यो प्रतिशत घटेर १७ प्रतिशतभन्दा कममा झरेको बताइएको छ।

(अलजजिराको रिपोर्टको आधारमा तयार पारिएको सामाग्री।)