काठमाडौ। सेयर बजार कारोबारमा आएको सुधारको सकारात्मक प्रभाव सामूहिक लगानी कोषहरुमा परेको छ। नेप्सेमा सूचीकृत ३५ वटा बन्दमुखी सामूहिक लगानी कोष योजनाहरुले सार्वजनिक गरेको गत जेठको वित्तीय विवरणमा यस्तो देखिएको हो।
सेयर बजार बढ्दा योजनाहरुको वित्तीय अवस्था चैत र वैशाखका तुलनामा जेठमा सुधारात्मक छ। जसले सबै फन्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ।
त्यस्तै, अधिकांश म्युचुअल फन्डको सूचीकृत सेयरमा लगानी रकम पनि बढेको छ। पछिल्लो समय सेयर बजार उकालो लागेकाले त्यसको प्रत्यक्ष प्रभाव म्युचुअल फन्डमा देखिएको हो। म्यचुअल फन्डहरुको लगानीको अधिकांश हिस्सा सेयर बजारमा हुने गरेको छ।
सूचीकृत कम्पनीहरुको सेयरको भाउ बढ्दा म्युचुअल फन्डहरुको पोर्टफोलियोमा पनि सुधार आउँछ। जेठमा सेयर बजार करिब १३ प्रतिशतले बढेको छ। बजार १८०७ बाट बढेर २०५० बिन्दुमा पुगेको हो।
गत चैत र वैशाखमा बजार निरन्तर घट्दा सबैजसो म्युचुअल फन्डहरुको न्याभ भ्यालु घटेको थियो। धेरै योजनाहरु नोक्सानीमा गएका थिए।
चैतमा १६ योजना नोक्सानीमा थिए भने वैशाखमा करिब २६ बन्दमुखी योजनाहरु नोक्सानी गएका हुन्।
जेठ महिनामा ३२ म्युचुअल फन्डहरुले १ अर्ब ४५ करोड खुद नाफा कमाएका छन्। गत वैशाखमा म्युचुअल फन्डहरुमध्ये ८ योजानाले करिब २२ करोड खुद नाफा कमाएका थिए।
जेठमा सबैभन्दा धेरै नाफा कमाउने योजनामा एनआइसी एसिया ग्रोथ फन्ड छ। यो योजनाले १२ करोड ६७ लाख खुद नाफा कमाएको हो। वैशाखमा योजनाले ६ करोड ५० लाख खुद नाफा कमाएको थियो।
यस्तै जेठमा एनएमबि सुलभ इन्भेष्टमेन्ट-२ ले वैशाखको तुलनामा नाफामा निकै सुधार गरेको छ। वैशाखमा २२ लाख मात्र खुद नाफा कमाएको यस योजनाले जेठमा ११ करोड २२ लाख नाफा कमाएको हो।
सामूहिक लगानी कोषको गत वैशाख र जेठको नाफा-नोक्सान
यसैगरि प्रभु सेलेक्ट फन्डले ११ करोड १६ लाख, कुमारी धनबाराही योजनाले १० करोड ६६ लाख, सनराइज ब्लुचिप फन्डले ८ करोड १८ लाख सानिमा लार्ज क्याप फन्डले ७ करोड ९८ लाख खुद नाफा आर्जन गरेका छन्।
जेठमा मेगा म्युचुअल फन्ड-१, लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्ड नोक्सानीमा छन्। वैशाखमा योजनाहरुमध्ये २६ वटा नोक्सानीमा थिए।
सेयरको लगानी बढ्यो
बन्दमुखी सामूहिक लगानी कोष योजनाहरुमध्ये सबैजसो योजनाको सेयरको लगानी जेठमा बढेको छ। वैशाखको तुलनामा जेठमा सेयरको लगानी १९.५९ प्रतिशतले बढेको हो।
म्युचुअल फन्डहरुको लगानीको सबैभन्दा ठूलो हिस्सा नै सेयर बजारमा हुने गर्दछ। तसर्थ सामान्य बजारमा उतारचढाव आउँदा यसको आकारमा निकै फरक पर्छ।
जेठमा धेरै योजनाहरुको बैंक मौज्दात घटेको छ। योजनाहरुले सोही मौज्दात सेयर तथा ऋणपत्रमा हाल्ने भएकाले जेठमा बजार बढेको समयमा सेयरमा पनि पैसा थपेका हुन्।
यस महिनामा नबिल इक्विटी फन्डको बैंक मौज्दात सबैभन्दा धेरैले अर्थात ७६.६२ प्रतिशतले घटेको छ। वैशाखमा २३ करोड ९३ लाख बैंक मौज्दात रहेको यस योजनाको जेठमा घटेर ५ करोड ५९ लाखमा आइपुगेको छ।
यसका साथै एनएमबि-५०, नबिल ब्यालेन्स्ड फन्ड-३, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ लगायत २२ योजनाको बैंक मौज्दात घटेको छ। यसर्थ योजनाहरुले उक्त रकम सेयरमा लगानी सेयरको लगानी बढेको कोष व्यवस्थापकहरुको भनाइ छ।
जेठमा म्युचुअल फन्डहरुले सूचीकृत सेयरमा २२ अर्व १५ करोड १८ लाख लगानी गरेका छन्। वैशाखमा १८ अर्ब ५२ करोड ३६ लाख लगानी गरेका थिए।
सामूहिक लगानी कोषको गत वैशाख र जेठको सूचीकृत सेयर लगानी
जेठमा सूचीकृत सेयरमा सबैभन्दा धेरै लगानी गर्ने योजना सिद्धार्थ इक्विटी फन्ड हो। यो योजनाले १ अर्ब २१ करोड लगानी गरेको छ। वैशाखको तुलनामा जेठमा यस योजनाले सेयरको लगानी १७.४३ प्रतिशतले बढाएको हो।
एस्तै एनएमबि-५० योजनाले पनि सेयरमा १ अर्ब १५ करोड लगानी गरेको छ। जुन वैशाखको तुलनामा १९ प्रतिशतले बढेको हो। यस्तै सानिमा इक्विटी फन्डको १ अर्व १२ करोड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को १ अर्ब १ करोड र मेगा म्युचुअल फन्ड-१ को ९१ करोड लगानी सूचीकृत सेयरमा छ।
सबै योजनाको न्याभ बढ्यो
जेठमा सबैजसो योजनाहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ। वैशाखमा फेस भ्यालुभन्दा निकै कममा आइसकेका योजनाहरुको न्याभ भ्यालु जेठमा बढेको हो।
यस महिनामा सबैभन्दा धेरै न्याभ भ्यालु सानिमा इक्विटी फन्ड छ। योजनाको प्रति इकाइ न्याभ भ्यालु १२.८० रुपैयाँ छ। गत महिना ११.८६ रुपैयाँ रहेको थियो।
यस्तै सनराइज फष्ट म्युचुअल फन्डको न्याभ भ्यालु १२.५३ रुपैयाँ, एनएमबि-५० को ११.८३ रुपैयाँ, एनआइसी एसिया ग्रोथ फन्डको ११.६१ रुपैयाँ र एनएमबि हाइब्रीड फन्ड एल-१ को ११.४४ रुपैयाँ छ।
सामूहिक लगानी कोषको गत वैशाख र जेठको प्रति इकाइ खुद सम्पत्ति मूल्य
बाँकी २३ योजनाहरुको न्याभ भ्यालु फेस भ्यालुभन्दा माथि छ। यस्तै सात योजनाहरुको न्याभ भ्यालु भने फेस भ्यालुभन्दा कम छ।
मुद्दती निक्षेपमा ४ अर्ब २० करोड
म्युचुअल फन्डहरु सेयर मार्केट मात्र नभइ मुद्दती निक्षेपमा पनि ठूलो रकम राख्ने गरेका छन्। जेठको तथ्यांकहरुलाई केलाउँदा म्युचुअल फन्डहरुले मुद्दती निक्षेपमा ४ अर्ब २० करोड रकम राखेको पाइएको छ।
वैशाखको तुलनामा यो जेठमा मुद्दती निक्षेपको रकम ६ प्रतिशतले बढेको हो। बैशाखमा संचालनमा रहेका बन्दमुखी योजनाहरुले मुद्दती निक्षेपमा ३ अर्व ९६ करोड रकम राखेका थिए।
मुद्दती निक्षेपको अवस्था
मुद्दती निक्षेपमा सबैभन्दा धेरै रकम नबिल इक्विटीको छ। यस म्युचुअल फन्डले मुद्दती निक्षेपमा ३४ करोड ५० लाख रकम राखेको छ। गत बैशाखमा १२ करोड ५० लाख मात्र थियो। भने सबैभन्दा कम सिटिजन्स म्युचुअल फन्ड-२ को छ। यस योजनाको निक्षेपमा १ करोड मात्र छ।