BIZMANDU
www.bizmandu.com

मेसेजमा ‘थम्स अप’ इमोजी पठाउँदा क्यानडामा एक किसानले तिर्नुपर्‍यो ८१ लाख रुपैयाँ

२०८० असार २२

मेसेजमा ‘थम्स अप’ इमोजी पठाउँदा क्यानडामा एक किसानले तिर्नुपर्‍यो ८१ लाख रुपैयाँ
Hand-drawn banner illustration - Thumbs up. Pop Art. Respect.


सामाजिक संजाल चलाउँदा हामी धेरै जसो त्यसमा रहेका इमोजीहरु प्रयोग गर्छौं। ‘थम्स अप’ पठाउँछौं, ‘लभ’ रियाक्ट गर्छौं। तर, यही इमोजी क्यानडाका एक किसानलाई भारी परेको छ।

Tata
GBIME

क्यानडाको सास्काचेवानमा बस्ने क्रिस आर्चरलाई टेक्सट मेसेजबाट एउटा कन्ट्रयाक्ट पठाइएको थियो। जसको जवाफमा उनले ‘थम्स अप’ इमोजी पठाएका थिए।

क्रिसले कागजपत्र प्राप्त गरेको जनाउन यसखाले इमोजी पठाएको दाबी गरेका छन्। तर,  न्यायाधीशले त्यसलाई कन्ट्रयाक्टमा राजी भएको भन्ने ठहर गरे। अब उनले कन्ट्रयाक्ट पूरा गर्न नसकेको कारण ८२ हजार क्यानेडियन डलर (करिब ८१ लाख नेपाली रुपैयाँ) तिर्नुपर्नेछ।

कन्ट्रयाक्ट अनुसार आर्चरले सन् २०२१ मा केन्ट मिकेलबोरोफलाई ८६ टन अन्न दिनुपर्ने थियो। तर, उनले सो कन्ट्रयाक्ट पूरा गरेनन् र केन्ट अदालत पुगे। केन्टले फोनबाट आर्चरसँग अन्नको खरिदबारे पटकपटक कुरा गरेको र कन्ट्र्याक्टको ड्राफ्ट पठाएका थिए। जसमा लेखिएको थियो : प्लिज कन्फर्म फ्लक्स कन्ट्रयाक्ट।

जसको जवाफमा आर्चरले ‘थम्स अप’ इमोजी पठाए। तर, उनले कन्ट्रयाक्टमा लेखिएको मितिसम्म अन्न ‘डेलिभर’ गरेनन्। आर्चरसँग आफूले पहिला पनि धेरे पटक व्यापार गरेको र इमोजीलाई आफूले ‘डिल’ पक्का भएको ठानेको बताएका छन्।

तर आर्चरले भने कन्ट्रयाक्ट प्राप्त गरेको जनाउन आफूले इमोजी पठाएको बताएका थिए। उनले सो इमोजी पठाएर कन्ट्रयाक्ट गर्नेबारे सहमति नजनाएको दावी गरे। तर, कोर्ट अफ किङ्स को इजलासले गरेको फैसला भने आर्चरको विरुद्ध आयो।

न्यायाधीश टिमोटी किनीले डिस्नरी डट कममा इमोजीको परिभाषालाई मध्यनजर गर्दै फैसला गरेको बताए। जसमा इमोजीको अर्थ ‘डिजिटल माध्यमबाट हुने संचारमा स्वीकृति, अनुमोदन वा प्रोत्साहन व्यक्त गर्न प्रयोग गरिन्छ’ भन्ने छ।

उनले केही विषयमा स्वीकृति जनाउन थम्स अप अहिले प्रयोग भइरहेको बताए। उनले थप भने, ‘हस्ताक्षर कसैको पहिचान पुष्टि गर्ने आधार हो। यसले एक व्यक्तिलाई अहिलेको प्रविधिको प्रयोग, जस्तै इमोजीहरू प्रयोग गरेर सम्झौता पुष्टि प्रयोग गर्नबाट रोक्दैन।

इमोजीलाई डिजिटल हस्ताक्षरको रूपमा प्रयोग गर्न सकिन्छ। थम्स अप इमोजी कागजपत्र हस्ताक्षर गर्ने गैर परम्परागत माध्यम हो।’ आर्चरको मोबाइलबाट गरिएको ‘थम्स अप’ले त्यही स्वीकृति प्रदान गरेको अदालतको ठहर छ।