काठमाडौं। भारतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम(आइएलएस) संचालन गर्न दिने विषयमा आनकानी गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को भारत भ्रमणमा आइएलएस संचालन गर्न दिन सहमति भएको थियो। त्यही सहमति अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले संचालनका लागि पत्राचार गरेको थियो। तर त्यो पत्राचारको भारतले जवाफनै दिएको छैन। पर्यटन मन्त्रालयले जेठ २६ गते परराष्ट्रमार्फत पत्राचार गरेपनि अहिलेसम्म कुनै जवाफ नआएको हो।
‘दुई देशको प्रधानमन्त्रीबीच भएको सहमतिलाई कार्यान्वयन गर्नका लागि पत्राचार गरेका थियौं,’पर्यटन मन्त्रालयका एक कर्मचारीले भने,’अहिले सम्म भारतको नागरिक उड्डयन प्राधिकरणबाट कुनै जवाफ आएको छैन।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलम एरोनोटिकल इनफर्मेशन पब्लिकेशन ‘एआइपी’ जारी गरेको र प्राविधिकरुपमा नेपाल यो प्रणाली संचालनका लागि तयार रहेको जानकारी गराउन भारतलाई पत्राचार गरिएको थियो।
मन्त्रालयले आइएलएससँगै महेन्द्रनगरबाट ‘हाइ अल्टिच्युड’ उडानका लागि पनि प्रस्ताव राखेको थियो। लो अल्टिच्युट ‘१५ हजार फीट’ उडानका लागि लगभग सहमति भइसकेको थियो। मन्त्रालयले ३० हजार फीट भन्दा माथि उडानका लागि पत्राचार गरेको थियो। भारतले आइएलएस संचालनको ललिपप मात्रै दिएर प्रधानमन्त्रीलाई झुक्याएको ती कर्मचारीले बताए।
‘प्रधानमन्त्रीलाई समेत ललिपप दिएर भारतले आफ्नो स्वार्थ पूरा गरेको देखिन्छ। होइन भने प्रधानमन्त्रीबीच भएको सहमतिमा कर्मचारीले आनाकानी गरेर बस्दैनन्,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘जलविद्युत लगायतका आफ्ना स्वार्थ पूरा गर्न आइएलएस संचालन गर्न दिने सहमति गरेको देखिन्छ। ‘
प्रधानमन्त्री प्रचण्डले आइएलएस संचालन र महेन्द्रनगर प्रवेश विन्दुका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका थिए। आइएलएस नहुँदा मौसम प्रतिकुल हुँदा ठुला जहाज उडानअवतरण गर्न सम्भव हुँदैन।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउँदा ठुला जहाज भारत डाइभर्ट हुने गरेका छन्। गत वर्ष जाडो मौसममा आइएलएस प्रविधि संचालन हुन नसक्दा गौतम बुद्ध विमानस्थलमा करिब तीनमहिना अन्तर्राष्ट्रिय उडान अवतरण नै रोकिएको थियो।
आइएलएस संचालन स्वीकृति पाए भारतहुँदै भैरहवा आउने जहाजले ८५० मिटर भिजिबिलिटीमै अवतरण हुनसक्छ। योसँगै भैरहवा र भारतमा भएको विभिन्न सहरमा दुईतर्फी उडान सहज हुने जनाइएको छ।