काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले असार मसान्तभित्रै नेप्से-३० परीक्षण गर्ने भएको छ। नेप्सेको बुधबार बसेको संचालक समितिको बैठकको निर्णयले नेप्से-३० निर्माण गरी परीक्षणका लागि स्वीकृति दिएपछि प्रक्रिया अघि बढेको हो।
नेप्सेका अनुसार नेप्से-३० सिस्टममा करिब एक महिना परीक्षण हुनेछ।
‘बुधबार बसेको बोर्डको बैठकले नेप्से-३० परीक्षण गर्न स्वीकृती दिएको छ। यही महिनाबाट सिस्टममा नेप्से-३० परीक्षण सुरु गर्ने तयारी भएको छ,’ नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले बिजमाण्डूसँग भने,’यसका लागि आवश्यक काम हामी आजैबाट थालनी गर्छौं। कुन कुन कम्पनीलाई यसमा राख्ने लगायतका आन्तरिक काम सुरु भइसकेको छ।’
यस इन्डेक्समा समावेश गर्ने कम्पनीको छनौट सुरु भइसकेको छ। यो इन्डेक्स पुर्णरुपमा फ्रि फ्लोट पुँजीकरणमा आधारित हुनेछ। यो बेन्चमार्क इन्डेक्समा ३० वटा प्रमुख कम्पनी मात्रै समावेश हुने नेप्सेले जनाएको छ।
नेप्सेले पछिल्लो पाँच मध्ये तीन आर्थिक वर्ष खुद नाफामा रहेका कम्पनीलाई इन्डेक्समा छनोट गर्नेछ। त्यस्ता कम्पनीको प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत हुनुपर्ने व्यवस्था छ। र, सम्बन्धित वर्षको महँगीदर भन्दाबढी समेत हुनुपर्ने प्रस्ताव गरेको छ।
कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको हुनुपर्छ। बजारको कुल राफसाफ योग्य पुँजीकरणमा सेयरको फ्रि फ्लोट पुँजीकरण एक प्रतिशत हुन आवश्यक छ। प्रस्तावित व्यवस्था अनुसार यस्ता कम्पनीमा न्यूनतम २० हजार सेयरधनी पनि हुन जरुरी छ।
सो विधि अनुसार छनोट भएका कम्पनीको फ्रि फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या र कारोबार कित्ताका आधारमा प्रत्येकलाई निश्चित भार दिने उल्लेख छ। सो अंकभारबाट कुल भार गणना गरिने जनाएको छ।
जसमध्ये ४० प्रतिशत अंकभार फ्रि फ्लोट मार्केट क्यापको हुनेछ। ३० प्रतिशत प्रति सेयर आम्दानीको हो। कारोबार रकम, सेयर संख्या र कारोबार संख्यालाई १०/१० प्रतिशतमा भाग गरि लिक्विडिटीको कुल ३० प्रतिशत अंक भार छ।
अंकभारमा अब्बल ठहरिएका प्रथम ३० वटा कम्पनी नेप्से ३० मा कारोबार हुनेछन्। नेप्सेले सूचीकृत कम्पनीहरुको उपसूचकहरुलाई पनि १३ बाट ६ वटा झार्दैछ।
समूहगत सूचकबाट प्रत्येक समूहमा उच्च भार प्राप्त गर्ने ८/८ वटा कम्पनी छानिनेछन्। उपसूचकमा कम्पनीको संख्या ८ भन्दा कम भएमा प्रस्तावित विधि अनुसार उपलब्ध सबै कम्पनीलाई इन्डेक्समा समावेश गरिनेछ।
यसरी छानिने कम्पनीको कुल संख्या ३० भन्दा बढी भएमा कम भार पाउने कम्पनीहरूलाई यो इन्डेक्सको गणनाबाट हटाइनेछ। तर, यसरी हटाउँदा पनि हरेक ६ समूहबाट भने कम्तिमा एक कम्पनी राख्ने नीति नेप्सेले लिएको छ।
कम्पनीको संख्या ३० भन्दा कम भएको र प्रत्येक समूहबाट आठभन्दा बढी कम्पनी पनि छनोट नहुने देखिएमा उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याइने जनाएको छ।
इन्डेक्समा समावेश हुने कम्पनीहरू हरेक वर्ष दुई पटक पुनर्मूल्यांकन हुनेछन्। हरेक वर्ष भदौ र फागुनको अन्तिम शुक्रबार पुनर्मूल्यांकन गरी कम्पनीहरु परिर्वतन गरिनेछन्। नेप्सेले गत पुस ३० गतेको फ्रि फ्लोट पुँजीकरणलाई आधार पुँजीकरण मान्नेछ। र, इन्डेक्सको बेस भ्यालु १००० हुने तय गरेको हो।