काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो।
निगमले ढुवानी भाडाका आधारमा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले तीन वर्गमा विभाजन गरेर मूल्य घटाएको छ।
यो आधारमा तराईका सबै जिल्लामा पेट्रोल, डिजल तथा मट्टितेल लिटरमा साढे ७ रुपैयाँ घटेको छ। काठमाडौंको हकमा पेट्रोल र डिजल लिटरमा ५/५ रुपैयाँ घटेको छ भने सुर्खेत र दाङमा लिटरमा ६ रुपैयाँ मूल्य घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दै जाँदा निगमले सबै क्षेत्रमा एउटै मूल्य कायम गरेको थियो। अब ढुवानी भाडाका आधारमा तीनवटा वर्ग छुट्याएर मूल्य निर्धारण गरिएको हो।
उदाहरणका लागि अमलेखगंजका उपभोक्ताले पाइपलाइनबाट आएको तेलमा अतिरिक्त भाडाको पैसा पनि निगमले लिइरहेको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भाडाको पैसा लिन बन्द गरिएको हो। त्यसकारण त्यो क्षेत्रका उपभोक्ताले सस्तोमा पेट्रोलियम पदार्थ पाउनेछन्।
नयाँ मूल्य अनुसार काठमाडौंका उपभोक्ताले पेट्रोल लिटरको १७० रुपैयाँ र डिजल १५० रुपैयाँ तिर्नुपर्छ। तराईका जिल्लाका उपभोक्ताले पेट्रोल लिटरको १६७ रुपैयाँ ५० पैसा र डिजल लिटरको १४७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ।
निगमका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदा सहज आपूर्तिका लागि सबै ठाउँमा एउटै मूल्य निर्धारण गरिएको बताउँदै अहिले सहज भएका कारण क्षेत्रगत रुपमा मूल्य निर्धारण गरिएको जानकारी दिए। ‘ढुवानी नलाग्ने जिल्लाका लागि अतिरिक्त भार पार्नु हुँदैन भन्ने मान्यताका साथ पूरानै आधारमा मूल्य निर्धारण कायम गरेका हौं,’ उनले बिजमाण्डूसँग भने।
हवाई इन्धन आन्तरिकतर्फ लिटरमा १४ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिलिटर १५ रुपैयाँ मूल्य घटेको छ।