BIZMANDU
www.bizmandu.com

समानुपातिकमा दुईपटकमात्र मौका, विदेशबाटै मत हाल्न पाउने: ५०% बढी ‘नो भोट’ परे निर्वाचनै रद्द

२०८० असार १८

समानुपातिकमा दुईपटकमात्र मौका, विदेशबाटै मत हाल्न पाउने: ५०% बढी ‘नो भोट’ परे निर्वाचनै रद्द
समानुपातिकमा दुईपटकमात्र मौका, विदेशबाटै मत हाल्न पाउने: ५०% बढी ‘नो भोट’ परे निर्वाचनै रद्द

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यमा समानुपातिक प्रणालीबाट दुईपटक निर्वाचित भइसकेका व्यक्ति सोही निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ। निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा आयोगले उक्त व्यवस्था गरेको हो।

Tata
GBIME
Nepal Life

सोमवार बसेको बैठकले उक्त निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। ‘प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भईसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने,’ बैठकपछि प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रमुख राजनीतिक दलहरुले यसअघि नै समानुपातिकमा दुई पटकमात्र मौका दिने मापदण्ड बनाएको थियो। साविकको निर्वाचन सम्बन्धी कानूनमा परिमार्जन गरी ‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ गृह मन्त्रालय मार्फत संसदमा पेश गर्ने निर्णयसमेत आयोगले गरेको छ।

यसैगरी आयोगले विदेशमा रहेका मतदाता नामावलीमा समावेश व्यक्तिलाई सोही मुलुकबाट मत दिने व्यवस्था मिलाउनेसमेत निर्णय गरिएको छ। ‘आयोगले विदेशमा रहेका मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै प्रतिनिधि सभाको समानुपातिक तर्फको निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन सक्ने,’ आयोगको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी आयोगले कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले त्यस्तो उम्मेदवारलाई समर्थन नरहने गरी मतपत्रमा मतदानको व्यवस्था (नोटा) गर्नेसमेत निर्णय गरेको छ। यस्तो व्यवस्थामा कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत नोटा भएमा निर्वाचनै रद्द हुने निर्णय गरेको छ। ‘मतपत्र गणना गर्दा कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको मतसंख्या (NOTA) त्यस्तो निर्वाचनमा मतदान भएको कूल सदर मतको पचास प्रतिशत भन्दा बढी भएमा त्यस्तो निर्वाचन रद्द हुने,’ निर्णयमा भनिएको छ।