काठमाडौं। नेपाल आयल निगमलाई एक वर्षपछि ग्यासमा नाफा भएको छ। निगमका उपनिर्देशक मनोजकुमार ठाकुरका अनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा भएको हो।
इन्डियन आयल कर्पोरेसन(आइओसी)ले हरेक १५ दिनमा पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार यो पटक प्रतिसिलिन्डर १६१ रुपैयाँ मूल्य घटेर आएको ठाकुरले बताए।
‘एक वर्षपछि ग्यासमा बल्ल नाफा भएको छ,’ उनले भने, ‘जहिले असार-साउनमा ग्यासको मूल्य घटेर आउँछ। यो सिजनल भएकाले हरेक वर्षको यही समयमा मात्र ग्यासमा निगमलाई नाफा हुन्छ।’
यस्तै भारतबाट पेट्रोल लिटरमा १४ पैसाले मूल्य घटेर आउँदा डिजल लिटरमा २.१६ रुपैयाँले बढेर आएको छ। यस्तै मट्टितेलमा लिटरमा ५ पैसा बढेर आएको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै आईओसीले नेपालका लागि शनिबार (जुलाई १) बाट लागु गरेको नयाँ दरमा यस्तो मूल्य आएको निगमले जनाएको छ।
रुसमा भएको तनाव र तेल उत्पादन कटौती गर्ने ओपेक प्लसको निर्णयले गर्दा अन्तर्राष्ट्रिय बजारमा यो हप्ता कच्चा तेलको मूल्यमा केही वृद्धि भएको छ। त्यसैले आईओसीले निगमलाई मूल्य बढाएर पठाएको हो।
भारतले यसअघि पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा भएको छ।
अहिले निगमलाई पेट्रोल लिटरमा १२ रुपैयाँ र डिजेल लिटरमा १३ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ।
निगमले हवाइ इन्धनमा धेरै नाफा राखेको भन्दै चौतर्फी रुपमा आलोचना भएपछि केही दिनअघि लिटरमा २६ रुपैयाँ घटाएको थियो। यस्तै आन्तरिकतर्फ लिटरमा १० रुपैयाँले मूल्य घटाएको थियो। अहिले आन्तरिकतर्फ हवाई इन्धन लिटरको १५० रुपैयाँ छ।
यस्तै बाह्यतर्फ लिटरमा २६ रुपैयाँले मूल्य घटेर १५१ रुपैयाँमा बिक्री भइरहेको छ। यसपटक हवाई इन्धनमा पनि ५७ पैसा मूल्य बढेर आएको छ। निगमलाई हवाइ इन्धनमा आन्तरिक तर्फ लिटरमा अझै ३७ रुपैयाँ र बाह्य तर्फ लिटरमा ५७ रुपैयाँ नाफा रहेको ठाकुरले बताए।
यी सबैको मूल्य यथावत रहेमा निगमलाई आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा हुने ठाकुरको भनाइ छ। निगम आईओसीको ऋण मुक्त भएको छ। निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम असारमा तिरेर सकिएको जनाएको छ। अब आईओसीलाई निगमले बक्यौता वापतको ब्याज १७ करोड रुपैयाँ भने तिर्न बाँकी छ।
तर यो रकम पनि निगमले आईओसीलाई तिर्नु गरेको ८ तारिखमा बुझाउने तयारी गरेको ठाकुरले बताए। त्यसपछि निगमले आईओसीलाई तिर्नुपर्ने रेगुलर बाहेकको रकमहरु सकिने उनको भनाइ छ।