BIZMANDU
www.bizmandu.com

असार मसान्त नजिकिँदा बढेको सेयर बजारमा अब लगानी थप्ने कि बेचेर निस्किने?

२०८० असार १७

असार मसान्त नजिकिँदा बढेको सेयर बजारमा अब लगानी थप्ने कि बेचेर निस्किने?
असार मसान्त नजिकिँदा बढेको सेयर बजारमा अब लगानी थप्ने कि बेचेर निस्किने?


काठमाडौं। आर्थिक वर्षको अन्तिम त्रैमास सकिन दुई साता मात्रै बाँकी रहँदा सेयर बजार सूचक २२ सय नाघेको छ। घट्दो क्रममा रहेको ब्याजदर र तरलताले साथ दिँदा साढे ६ अर्बको कारोबार नाघ्न थालेको छ।

Tata
GBIME
NLIC

होटलको नेतृत्वमा नेप्से पछिल्लो डेढ महिनाको अवधिमै ठूलो अंकले उक्लियो। योबीच लगानीकर्ताले क्षेत्रगत फेरबदलको मौका पाउँदा ३९८ अंकले बजार वृद्धि भइसकेको छ। तर बुधबारको भारी गिरावटले लगानीकर्तामा संशय भने देखिन्छ। 

‘सेयर बजार पछिल्लो समय उत्साहजनक देखिन्छ। तरलता अधिक भएर पनि होला। त्यहि ब्याजदर घट्ने क्रम पनि जारी छ,’ एक बैंकरले भने,’तर नजिकिएको असार मसान्तले तरलता खिच्ने सम्भावना उच्च छ।’

नजिकिएको असार मसान्तले तरलतामा पार्ने दबाबले गर्दा पनि अन्योल बढी छ। बैंक वित्तीय संस्थासहित अधिकांशले आयकर बुझाउनुपर्छ। सरकारलाई दिने राजस्व बैंकिङ प्रणालीबाटै जाने हो। जसले गर्दा अनुमानित ७८ अर्ब रुपैयाँ प्रणालीबाट निस्किन्छ। 

सरकारले चालु आर्थिक वर्षमा आयकरबाट मात्र ३ खर्ब ४७ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ। जसमध्ये वैशाख मसान्तसम्म २ खर्ब ६९ करोड रुपैयाँ संकलन भइसकेको छ। 

दोस्रो समस्या, सीमाभन्दा बढी लिएको चालु पुँजीकर्जाको पहिलो किस्ता असारसम्म भुक्तानी गरिसक्नुपर्छ। २०८० असारसम्म १० प्रतिशत भुक्तानी गरिसक्नुपर्नेछ। जसले बैंकिङ प्रणालीमा तरलता त बढाउँछ तर निजी क्षेत्रलाई भने विभिन्न क्षेत्रमा गरेको लगानी झिक्न बाध्य बनाउँछ। सेयर बजार बढी तरल हुने भएकाले यहीको लगानी झिक्ने निजी क्षेत्रको प्राथमिकता हुन्छ।

मोटामोटी सीमा भन्दा २५ अर्ब रुपैयाँ अधिक रकम गएको थियो। यसको २.५ अर्ब रकम असारमा फिर्ता गर्नुपर्ने संशोधित मार्गदर्शनको शर्त थियो।  

तेस्रो समस्या, स्थानीय तहको पैसा हो। सरकारले स्थानीय तहमा विनियोजन भएको पैसामध्ये ८० प्रतिशत निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ। गत पुस मसान्तमा गणना गर्ने म्याद सकिएकाले ६ महिना थपिदिएको थियो। जुन असार मसान्तमा सकिँदैछ।

स्थानीय तहको करिब ३०० अर्ब पैसामध्ये अहिले २४० अर्ब रुपैयाँ बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाइरहेका छन्। असार मसान्तपछि सुविधा खोसिन्छ। यसो हुँदा उनीहरुले ९० अर्ब रुपैयाँ निक्षेप एकै पटक गुमाउनु पर्ने हुन्छ। १५० अर्ब रुपैयाँलाई मात्र निक्षेपका रुपमा गणना गर्न पाउँछन्। त्यसमाथि सरकारले असारसम्म आन्तरिक ऋण पनि उठाउने भएकाले त्यसले पनि तरलता अभावलाई बल दिने देखिन्छ।

तर असार महिना तुलनात्मक रुपमा धेरै सरकारी खर्च हुने महिना हो। यो महिना रोकिएका सबै भुक्तानी दिइसक्नु पर्ने भएकाले सरकारी खर्च उल्लेख्य हुने गर्छ। जुन रकम ढिलो चाडो बैंकिङ प्रणाली मै फर्किने हो। जसले तरलतालाई बढाउन मद्दत गर्छ।

चौथो समस्या, राष्ट्र बैंकले साउन १ गतेबाट काउन्टर साइक्लिकल बफर पनि लागू गर्दैछ। जस अनुसार वाणिज्य बैंकले पुँजीकोषमा अतिरिक्त २.५ प्रतिशत रकम जम्मा गर्नुपर्नेछ। अहिले पुँजीकोष ११ प्रतिशत कायम गर्नुपर्छ। जसमध्ये प्राथमिक पुँजीकोष मात्रै साढे ८ प्रतिशत कायम गर्नुपर्छ। अहिले दुवै पुँजीकोष गरेर कुल ६ खर्ब ८८ अर्ब रुपैयाँ संचित छ। 

काउन्टर साइक्लिकल बफरले गर्दा बैंकहरुको कर्जा लगानीमा ह्वात्तै ह्रास आउँछ। पुँजीकोष न्यूनतम सीमा नजिक पुगेकाले कतिपय बैंकको कर्जा लगानी निकै सुस्त छ। त्यसैले पनि बैंकहरुसँग पौने ४ अर्ब लगानीयोग्य रकम हुँदा समेत कर्जा बिस्तार गरिरहेका छैनन्। यस बिच कर्जाको माग पनि ह्वात्तै घटेको छ।

अर्कोतर्फ आगामी मौद्रिक नीति सेयर बजार प्रति उदार नहुने लगभग निश्चित छ। पाँचौ समस्या, वाणिज्य बैंकको खराब कर्जा उल्लेख्य हुन थालेको छ। असार सकिन १५ दिन मात्रै बाँकी हुँदा पनि कर्जा असुली नै सुस्त छ। खराब कर्जा यो त्रैमासमा झनै बढ्ने बैंकरहरुको प्रक्षेपण समेत छ। जुन सेयर बजारका लागि सकारात्मक होइन।