काठमाडौं। आन्तरिक वायुसेवा कम्पनी धमाधम आर्थिक संकटमा पर्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले वित्तीय अडिट गर्ने भएको छ।
गुण एयरलाइन्सपछि सौर्य एयरलाइन्स बन्दको संघारमा छ भने यती एयरलाइन्स पनि आर्थिक संकटका कारण समस्यामा पर्न थालेको छ। वित्तीय संकटले उडान सुरक्षामा गम्भीर प्रभाव पर्ने भन्दै प्राधिकरणले अडिटको निर्णय गरेको हो।
मुलुकको आर्थिक मन्दी र बैंकको बढ्दो ब्याजदरले आन्तरिक विमान कम्पनीमा समस्या देखिन थालेको हो। घरजग्गा कारोबारबाट संकटमा परेका र फेरि बाउन्स ब्याक भएर राजेन्द्र शाक्य (दिजेन्द्र)ले गुण एयरलाइन्स चलाएका थिए। तर यो पटकको मन्दीमा फेरि संकटमा परेपछि संचालनमा आएको केही समयमै गुण बन्द भएको छ। सौर्य एयरलाइन्स पनि मासिक ६ करोड नोक्सानी हुन थालेपछि कर्मचारी कटौती गर्न थालेको छ।
प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले तीन वटा कम्पनीको वित्तीय अवस्था कमजोर भएको जानकारी आएपछि सबै आन्तरिक कम्पनीको विशेष वित्तीय अडिटको निर्णय भएको बताए।
‘आन्तरिक उड्डयन उद्योगमा कोभिडको परिणाम अहिले देखिन थालेको छ। हामीले नयाँ आर्थिक वर्षबाट विशेष अडिट गर्ने निर्णय भएको छ। अडिट पहिला पनि नियमित नै थियो। तर पछिल्लो समय विभिन्न वायुसेवाको अवस्था दयनीय भएको जानकारी आएपछि विशेष अडिटको निर्णय भएको हो,’ उनले भने,’वित्तीय अवस्था नै कमजोर भएपछि उड्डयन सुरक्षा प्रभावित हुन्छ। त्यही भएर हामी यसमा संवेदनशील बनेका हौं।’
‘यती बेच्ने तयारी बारे जानकारी’
यती एयरलाइन्सले ४९ प्रतिशत सेयर बेच्ने तयारी गरेको बारेमा अनौपचारिक जानकारी क्यानमा समेत गराएको स्रोतले बतायो। आर्थिक संकटमा परेपछि यतीले ४९ प्रतिशत सेयर बेच्न विभिन्न व्यवसायिक घरानासँग छलफल गरिरहेको छ।
ऊर्जा क्षेत्रमा सक्रिय दीपककुमार श्रेष्ठलाई नयाँ साझेदारका रुपमा भित्र्याउन छलफल गरिरहेको छ। उनी एसियन लाइफ इन्स्योरेन्सका अध्यक्ष हुन्।
स्रोतका अनुसार संस्थागत रुपमा पनि एसियन लाइफको लगानीका बारेमा पनि छलफल भएको थियो। एसियनले समेत नेपाल बीमा प्राधिकरणमा समेत यती एयरलाइन्स किन्ने बारेमा प्रिजेन्टेसन गरेको थियो। प्राधिकरणले वित्तीय रुपमा राम्रो भए अगाडि बढ्न स्वीकृति दिएको स्रोतले बतायो।