BIZMANDU
www.bizmandu.com

खराब कर्जा थप बढ्ने प्रक्षेपण: चैतको ३.२३% बाट अझ एक प्रतिशत विन्दु माथि जाने

२०८० असार १३

खराब कर्जा थप बढ्ने प्रक्षेपण: चैतको ३.२३% बाट अझ एक प्रतिशत विन्दु माथि जाने
खराब कर्जा थप बढ्ने प्रक्षेपण: चैतको ३.२३% बाट अझ एक प्रतिशत विन्दु माथि जाने


काठमाडौं। राष्ट्र बैंकले सुविधाको नाममा दिएको पुनर्तालिकीकरण र पुनर्संरचना व्यवहारिक नहुँदा चौथो त्रैमास (असार मसान्त) मा खराब कर्जा थप वृद्धि हुने देखिएको छ।

Tata
GBIME
NLIC

अप्ठेरोमा परेकाहरुलाई उपयोगी नहुने, चैतसम्म ब्याज भुक्तानी गरिसकेकाले मात्र यो सुविधा पाउने हुँदा प्रभावकारी नदेखिएको हो। चैतसम्म नियमित कर्जा हुनेहरुले सुविधा लिन चाहेमा १० प्रतिशत भुक्तानी गर्नु पर्ने, बैंकले पनि ५ प्रतिशत नोक्सानी व्यवस्थापन छुट्याउनुपर्ने लगायतका अव्यवहारिक कारणले वास्तविक ऋणीले सहुलियत पाउने अवस्था छैन। यही कारण चालु आर्थिक वर्षको वासलातमा खराब ऋण बढ्ने देखिएको छ।

चालु वर्ष लागेदेखि नै कर्जा असुलीमा प्रभावकारी सुधार नदेखिएको बैंकरको गुनासो छ। अर्थतन्त्रको मन्दी कायमै रहेको र ब्याजदर सस्तिने बाटोमा गए पनि अझै माथिल्लो तहमा हुँदा समस्या यथावतै रहेको उनीहरुको गुनासो हो। बैंकका प्रमुख कार्यकारीहरु आफैं जिल्ला धाएर असुलीमा लक्षित हुँदा पनि ऋण उठ्न सकेको छैन।

‘निरन्तर फलोअपका बाबजुद ऋण उठ्ती दर निक्कै सुस्त छ। विस्तारै भइरहेको छ, तर अघिल्ला त्रैमासभन्दा यसपटक अवस्था अझै जटिल देखिन्छ,’ एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बिजमाण्डूसँग भने। उनका अनुसार कर्जा असुलीको दर वृद्धि नहुँदा ऋणीले मर्कामा परेर कर्जा नतिरेको या नचाहेर भन्ने छुट्याउन अप्ठेरो परेको छ। 

‘पुनर्तालिकीकरण/पुनर्संरचनामा त्यति ठूलो प्रभाव देखिएको छैन। ग्राहक आफैं आएर अनुरोध गर्नुपर्छ सुविधाका लागि,’ उनले भने,’चैतसम्म सक्रिय रहेका ऋणले १० प्रतिशत रकम भुक्तानी नगरेसम्म पाउँदैन। त्यसैले पनि सुविधा प्रयोग ज्यादै न्यून छ।’

एकातिर राष्ट्र बैंकको सर्तअनुसार पुनर्तालिकीकरण र पुनर्संरचना गर्दा बैंकहरुले यस्तो कर्जालाई खराब कर्जामा वर्गीकरण गर्नुपर्छ। जसअनुसार ५ प्रतिशत प्रोभिजनिङसमेत गर्नुपर्छ। खराब कर्जाको अनुपात ह्‍वात्तै बढेको अवस्थामा बैंकहरु यसप्रति आकर्षित देखिएका छैनन्।

अर्कोपट्टि राष्ट्र बैंकले प्रतिबद्धता गरेको पुनर्कर्जा पनि कार्यान्वयनमा आएको छैन। पछिल्ला दुई त्रैमासमा लगातार
ऋणात्मक वृद्धि भएका आर्थिक क्षेत्रहरुलाई पुनर्कर्जा उपलव्ध गराउने व्यवस्था गरेको थियो। तर राष्ट्र बैंकले त्यो सुविधा दिएको भने छैन।

चालु वर्षभरी नै बैंकहरुको खराब ऋण बढिरहेको छ। पोहोरभन्दा त दोब्बरमाथि पुगिसकेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार, चैतमा ३.२३ प्रतिशतमा रहेको वाणिज्य बैंकको निष्कृय कर्जाको अनुपात वैशाखमा पनि बढेको छ। असारसम्म आइपुग्दा यसको स्तर बढ्ने निश्चित देखिएको बैंकरहरु बताउँछन्। उनीहरुका अनुसार, अर्को एक प्रतिशत विन्दुले खराब ऋण बढेर ४ प्रतिशत नाघ्ने छ।

‘अहिले पनि खासै सुधार छैन। राष्ट्र बैंकका सुविधाले काम गरिहाल्यो भने चौथो त्रैमासको प्रतिवेदन राम्रो देखिएला,’ नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने,’चैतसम्म सक्रिय कर्जालाई मात्रै पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधाले भएको ऋण थप खस्किन नदिने हो। तर पहिले डुबेका ऋणहरु उठिहाल्ने अवस्था देखिँदैन।’

मर्जरमा गएका बैंक अझै असहज परिस्थितिसँग जुधिरहेका छन्। ज्ञवालीका अनुसार, एउटै स्तरका बैंकहरु मर्ज नहुँदा अवस्था जेलिएको छ। 

समग्र अर्थतन्त्रको कन्फिडेन्स उँचो नहुँदा कर्जा असुलीमा सुधार हुन नसकेको उनी बताउँछन्। ‘व्यवसाय जताततै प्रभावित छ। त्यसैको रिफ्लेक्सन रिकभरी रेटमा देखिने हो,’ उनले भने, ‘बैंकको कर्जा गुणस्तार, उसको लगानी गुणस्तरमा त भर पर्ने हो नि।’