काठमाडौं। माथिल्लो तामाकोसी (४५६ मेगावाट) को संरचना प्रयोग गरेर निर्माण हुने तामाकोसी-५ जलविद्युत आयोजना निर्माणका लागि ठेक्का आह्वान भएको छ।
तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले ९९.८ मेगावाटको आयोजनाको सिभिल संरचना र हाइड्रोमेकानिल इक्विपमेन्टको ठेक्का निकालेको हो। दुई महिनामासम्म आवेदन दिन मिल्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको छ।
इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा ठेक्का निकालिएको छ। यस्तो मोडलमा निर्माण गर्दा ठेक्का पाउने कम्पनीले डिजाइन, निर्माण खरिद लगायतका सबै काम गर्नुपर्छ। भने यो मोडलमा निर्माण कम्पनी बढी जिम्मेवार हुन्छ। आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ।
दुईवटा प्याकेजमा आयोजना निर्माण गर्न लागिएको छ। सोही अनुसार पहिलो प्याकेजको ठेक्का निकालिएको हो। दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल अर्थात ट्रान्समिसन लाइनको ठेक्का निकाल्ने तयारी छ।
कम्पनीले आयोजना निर्माणका लागि यसअघि नै ठेक्का निकालेको थियो। उक्त ठेक्कामा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएर सर्टलिष्टमा परेका थिए।
सर्टलिष्टमा परेका दुई कम्पनीसँग आर्थिक प्रस्ताव मागियो। दुवैले तामाकोसी जलविद्युत कम्पनीले गरेको इस्टिमेटभन्दा बढी रकमको प्रस्ताव हाले। सोही कारण कम्पनीले ठेक्का रद्द गरेको हो। गत साउनमा कम्पनीले सिभिल संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।
कम्पनी प्रमुख कार्यकारी अधिकृत विनोद भट्टराईले ठेक्कामा आवेदन दिएका कम्पनीसंग २ महिनामा प्राविधिक प्रस्ताव खोलेर वित्तीय प्रस्ताव मागिने बताए। ‘सबै खालको मूल्यांकन सक्न ५ महिना जति लाग्छ। ६ महिना निर्माण जाने तयारीमा छौं,’ उनले भने,’ पहिले जस्तो ठेक्का क्यान्सिल नभए निर्माणमा जान्छ।’ उनले पूर्व तयारीका काम समेत पूरा भइसकेको दाबी गरे। जग्गा अधिग्रहण, पहुँचमार्ग निर्माण, क्याम्प निर्माणलगायतको काम भइसकेको छ।
२१ अर्ब १४ करोड लागत, सञ्चयको कोषले मात्रै ऋण लगानी गर्ने
आयोजनाको लागत २१ अर्ब १४ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनामा कर्मचारी सञ्चय कोष एक्लैले लगानी गर्दैछ। जेठ ७ गते सञ्चय कोषसँग १३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानीका लागि त्रिपक्षीय सम्झौता भएको हो।
नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चयकोष र तामकोसी जलविद्युत कम्पनीबीच सम्झौता भएको हो।
यो आयोजना माथिल्लो तामाकोसीको क्यासकेड हो। माथिल्लो तामाकोसीको टेलरेसबाट निस्कने पानी सिधै डाइभर्सनबाट तामाकोसीको सुरुङमार्गमा पठाइनेछ। तामाकोसीका लागि छुट्टै हेडवर्क्स र डिसेन्डर पोखरी बनाइरहनुपर्दैन। जसले आयोजनाको लागत घटाएको छ। जसले वित्तीय रुपमा आयोजना आकर्षक समेत छ।
आयोजनाको निर्माण थालेको ४ वर्षमा व्यवसायिक उत्पादन थाल्ने योजना छ। सम्भाव्यता अध्ययन अनुसार यो आयोजनाका लागि करिब ८ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ। सुरी दोभान भन्ने ठाउँमा पावर हाउस (विद्युत गृह) रहनेछ। विद्युत गृह माथिल्लो तामाकोसीको जस्तै भुमिगत हुनेछ।