BIZMANDU
www.bizmandu.com

सोल्टीको १० रुपैयाँको सेयर बुलिस ट्रेन्ड, सय फेस भ्यालुको आधारमा ५ हजार पुग्यो मूल्य

२०८० असार १३

सोल्टीको १० रुपैयाँको सेयर बुलिस ट्रेन्ड, सय फेस भ्यालुको आधारमा ५ हजार पुग्यो मूल्य
सोल्टीको १० रुपैयाँको सेयर बुलिस ट्रेन्ड, सय फेस भ्यालुको आधारमा ५ हजार पुग्यो मूल्य


काठमाडौं। फेस भ्यालु १० रुपैयाँ भएको सोल्टी होटलको सेयर अहिले प्रतिकित्ता ५१८ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ। सो मूल्य फेस भ्यालुको तुलनामा ५१.८ गुणाले बढी हो।

Tata
GBIME
NLIC

१० रुपैयाँको सेयरले यस्तो भारी अंकले उक्लिनु आफैंमा आश्चर्यजनक हो। नेपाल स्टक एक्सचेन्जमा यस्ता उदाहरण सामान्यतया भेटिँदैन। धेरै लगानीकर्ता सोल्टी होटलको सेयर १०० रुपैयाँको पार भ्यालु भएको भन्ने पनि छन्।

त्यसो भए १०० रुपैयाँको कम्पनी भएको भए सोल्टी कति पुग्ने थियो त ? होटलको सेयरको फेस भ्यालु प्रतिकित्ता १०० रुपैयाँ हुन्थ्यो भने एक कित्ता सेयरको मूल्य अहिले ५ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको हुन्थ्यो। १० रुपैयाँको मूल्यले जुन अनुपातले बढेको छ त्यसैले १०० रुपैयाँको सेयरसँग मिलान गर्दा यस्तो मूल्य पाइन्छ।

तर १०० रुपैयाँकै फेस भ्यालु भएका होटलका कुनै पनि सेयर यति महँगो छैनन्। तर सबै होटलका सेयर पछिल्लो समय लगानीकर्ताको प्राथमिकतामा पर्न थालेका छन्। २०५ रुपैयाँबाट बढ्न सुरु गरेको सोल्टीको सेयर मूल्य ५१८ माथि छ। सजिलो भाषामा भन्ने हो भने अहिले होटल बुलिस ट्रेन्डमा छ। यसबीच होटलको मूल्य ३२ सयको बेलाभन्दा माथि उक्लिसकेको छ।

पुस ७ गते यता सोल्टी होटलको सेयर मूल्य निरन्तर बढिरहेको छ। कोभिडकालमा समस्यामा परेको सोल्टी होटल पर्यटन आगमनमा भएको उल्लेख्य सुधारका कारण पुन: लयमा फर्किएपछि सेयर मूल्यमा उछाल आएको हो।

सय रुपैयाँ फेस भ्यालुका आधारमा सोल्टी होटलको सेयर मूल्य महँगा कम्पनीहरुको सेयरहरुको सूची भित्र पर्थ्यो। हाल नेपाली सेयर बजारमा महँगा कम्पनीहरुमा युनिलिभर नेपाल, राष्ट्रिय बीमा कम्पनी, बोटलर्स नेपाल तराई, साल्ट ट्रेडिङ कर्पोरेसन, विशाल बजार कम्पनी छन्।

यी कम्पनीहरु मध्ये युनिलिभर नेपालको सेयर कारोबार हाल ३३ हजार माथि भइरहेको छ। यस्तै राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार १२ हजार, बोटलर्स नेपालको १३ हजारमाथि, साल्ट ट्रेडिङको ५ हजारमाथि र विशाल बजारको ३ हजारको हाराहारीमा कारोबार भइरहेको छ।

यसरी हेर्दा होटलको फेस भ्यालु १०० रुपैयाँ हुन्थ्यो भने विशालबजार र साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्यभन्दा सोल्टी होटलको सेयर मूल्य महँगो हुन्थ्यो।

पछिल्लो बुल अर्थात सेयर बजार ३२२७ विन्दुमा पुग्दा सोल्टीको सेयर मूल्य सामान्य थियो। सबैजसो कम्पनीको सेयर मूल्यमा रौनक देखिए पनि सोल्टी होटलको सेयर प्रतिकित्ता २६१ रुपैयाँमा कारोबार भइरहेको थियो।

तर अहिले बलियो सेयर पुँजीकरण भएका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा वियरिसको प्रभाव देखिएको छ।ब्याजदर तथा प्राकृतिक विपत्तिका कारण जलविद्युत क्षेत्रका दर्जनौ कम्पनीहरु नोक्सानीमा दौडिरहेका छन्। बैंकहरुको खराब ऋण बढ्दा नाफा घटेको छ। धेरै लघुवित्त नोक्सानीमा छन्।

होटलको सेयरले आफ्नै मूल्यको रेकर्ड ब्रेक गर्दै

नेप्सेमा सूचीकृत भएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५२ रुपैयाँसम्म पुगेको थियो। सो मूल्य कम्पनीको हालसम्मकै उच्च हो। उक्त मूल्यमा २०७१ साउन १५ गते कम्पनीको सेयर कारोबार भएको थियो।

त्यस यता निरन्तर घटिरहेको कम्पनीको सेयर मूल्यले हाल सो उचाइ छुनै लागेको छ। मंगलबार कम्पनीको सेयर मूल्य प्रति कित्ता ५१८ रुपैयाँ सम्म कारोबार भएको हो। सो मूल्य पछिल्लो ९ वर्षयताकै उच्च हो। यहि रफ्तारमा उचाइतिर जाने हो भने कम्पनीको सेयर मूल्यले अबको केही समयमा नै आफ्नो मूल्यको रेकर्ड ब्रेक गर्ने छ।

२०७१ साउनबाट घट्न सुरु गरेको सोल्टीको सेयर मूल्य २०७७ असार २१ गतेसम्म सबैभन्दा कम मूल्यमा आइपुगेको थियो। सो दिन कम्पनीको कारोबार न्यूनतम प्रतिकित्ता १३८ का दरमा भएको थियो।

त्यसपछि सामान्य उतारचढावमा रहेको कम्पनरीको सेयर मूल्य गत पुस ७ गते पछि प्रतिकित्ता २०५ रुपैयाँबाट बढ्न सुरु गरेको हो।

किन महँगो हुँदैछ सोल्टी होटल ?

पुस मसान्तपछि सबै सूचीकृत होटल कम्पनीको सेयर मूल्य बढेको छ। नेप्सेको तथ्यांकअनुसार पुसयता हालसम्म सोल्टीको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ।

पुस ७ गते सेयर मूल्य प्रतिकित्ता २०५ रुपैयाँ थियो। हाल ५३६ रुपैयाँसम्म कारोबार भइरहेको छ। पुस मसान्तको तुलनामा हाल कारोबार भइरहेको सेयर मूल्य सेयर मूल्य करिब १६५ प्रतिशतले बढिसकेको छ।

जानकारहरुका अनुसार कम्पनीले दोस्रो त्रैमास यता उल्लेख्य नाफा कमाएको छ। कम्पनीले चालु वर्षको चैत मसान्तसम्म पछिल्लो सात आर्थिक वर्षकै उच्च नाफा कमाएको छ। नाफा बढ्दा तुलनात्मक रुपमा पछिल्लो १० आर्थिक वर्षमा २१ प्रतिशत देखि ५७ प्रतिशत सम्म लाभांश वितरण गर्दै आइरहेकाले यो वर्ष पनि उच्च लाभांश पाउने अनुमानका साथ सेयर किन्नेहरु झुम्मिदा मूल्य बढेको हो।

लगानीकर्तामध्येकी गंगा सुब्बालाई कोरोना महामारीभन्दा अघिकै लयमा होटलको व्यवसाय फर्किएको र लाभांश उच्च दिने आशाले लगानीकर्ता झुम्मिएका हुन् भन्ने लाग्छ।

‘पहिले कोभिडको प्रभावले नाफा कमाउन छाडेपछि सस्तोमा पनि किन्ने थिएनन्। तर अहिले बाह्य पर्यटनको आगमन बढेकाले होटलको व्यवसाय राम्रो चलेको छ,’ उनले भनिन्।

चैत मसान्तसम्म कम्पनीले ३७ करोड ११ लाख खुद नाफा कमाएको छ। यो पछिल्लो करिब ७ आर्थिक वर्षकै उच्च हो।

यस्तै कम्पनीको प्रति सेयर आम्दानी पनि पछिल्लो सात आर्थिक वर्षकै उच्च छ। प्रति सेयर नेटवर्थ पनि पछिल्लो चार आर्थिक वर्ष यताकै उच्च छ।