BIZMANDU
www.bizmandu.com

सौर्य एयरलाइन्स फेरि आर्थिक संकटमा, मासिक ६ करोड रुपैयाँ नोक्सानीमा, एटीआर नआए बन्द

२०८० असार १२

सौर्य एयरलाइन्स फेरि आर्थिक संकटमा, मासिक ६ करोड रुपैयाँ नोक्सानीमा, एटीआर नआए बन्द
सौर्य एयरलाइन्स फेरि आर्थिक संकटमा, मासिक ६ करोड रुपैयाँ नोक्सानीमा, एटीआर नआए बन्द

काठमाडौं। मुलुकमा पहिलो जेट इन्जिन जहाजमार्फत आन्तरिक उडान गरेको सौर्य एयरलाइन्स आर्थिक संकटमा परेको छ। पटकपटक आर्थिक संकटबाट ग्रुजिएको यो एयरलाइन्स विभिन्न साझेदार ल्याएर उकास्ने प्रयास विफल बनेको छ।

Tata
GBIME

कम्पनी बन्दको संघारमा पुगेको छ। जेट इन्जिन जहाजबाट उडान गर्न नसक्ने भन्दै एटीआर जहाज ल्याउन नसके कम्पनी नै बन्द गर्ने निर्णयमा पुगेको छ। कम्पनीले खर्च कटौती गर्न ४० जना कर्मचारी हटाइसकेको छ।

स्वदेशी लगानीकर्ताबाट सुरु भएको यो कम्पनीमा पाँच वर्षअघि भारतको कुबेर समूहबाट लगानी ल्याएर सर्भाइभ गर्ने प्रयास भएको थियो। कम्पनी अहिले मासिक ६ करोड नोक्सानीमा छ। नोक्सानी बढ्दै गएपछि ७५ प्रतिशत सेयर रहेको कुबेर समूह पनि कम्पनी चलाउने पक्षमा सकारात्मक देखिएको छैन।

‘अब हामी जेट इन्जिन जहाजमार्फत आन्तरिक उडान गरेर टिक्न सक्दैनौं। कुबेरसँग साझेदारी गर्दा पनि हामी संकटबाट उम्किन सकेनौं,’ कम्पनीका अध्यक्ष दीपक पोखरेलले बिजमाण्डूसँग भने,’हामीले कुबेरसँगको छलफलमा एक वर्षको समय सीमा बनाएका छौं। यो अवधिमा एटीआर-७२ सिरिज जहाज आउनसके कम्पनी अगाडि बढ्छ। नत्र कम्पनी बन्द हुन्छ।’

पोखरेलले केही समयअघि कुबेर समूहका अध्यक्ष विकास मालुसँग छलफल गरेका थिए। त्यो छलफलमा अध्यक्ष मालुले नोक्सानी थेग्न नसक्ने भन्दै सकेसम्म एटीआर जहाज ल्याउने नभए कम्पनी बन्द गर्ने बताएका थिए।

एटीआर किन्न खर्च कटौती गर्नुपर्ने भएकाले कर्मचारी हटाएको पोखरेलले जानकारी दिए। उनका अनुसार हाल कम्पनीमा १४० जना कर्मचारी कार्यरत छन्। एटीआर जहाज संचालनमा आए चार जना पाइलटसहित ४० जना कर्मचारीलाई कम्पनीमै फिर्ता गर्ने गरी कर्मचारी हटाएको उनले जिकिर गरे।

‘थोरै उडान गर्दा धेरै घाटा हुँदैन। सकभर साझेदारलाई पनि नाफा दिनै पर्‍यो। कुबेरको लगानीकर्ताबाट पनि यसरी कम्पनी संचालन गर्न नसकिने सुझाब आयो,’ उनले भने,’ सात महिनाभित्र खर्च कटौती गर्न कुबेरका लगानीकर्ताले जोड दिएका छन्।’

कम्पनीले दुईवटा जहाजमार्फत दैनिक ५ वटा उडान गर्दै आएको छ। ‘काठमाडौं-भद्रपुर दुई तर्फी उडानमा जेट इन्जिनले २१ सय लिटर इन्धन खपत हुन्छ। अब बुद्ध, यतीको एटीआर जहाजले यही उडानमा करिब १००० लिटर इन्धन खपत गर्छ। सिटको तुलनामा एटिआरमा २२ जना यात्रु क्षमता अतिरिक्त रहेको छ,’उनले भने, ‘त्यही भएर जेटमार्फत उडान गर्न नसकिने हाम्रो निष्कर्ष हो।’

पोखरेलका अनुसार कुबेर समूहले सुरुमा दुई वटा एटीआर जहाज खरीदको प्रक्रिया सुरु गरेको छ। भारतका साथै दुबईमा पनि विभिन्न क्षेत्रमा लगानी गरेको कुबेर समूह सौर्य एयरलाइन्समा २०७५ फागुन ८ बाट साझेदार छ। सुरुमा कुबेरले सौर्यको ७५ प्रतिशत सेयर पाउने गरी ६२ करोड रुपैयाँ लगानी गरेको थियो। कुबेरले सौर्यमा दुई अर्ब रुपैयाँ लगानी गरेको छ।