BIZMANDU
www.bizmandu.com

कालिमाटीमा दुई रुपैयाँ किलो गोलभेँडा, गतवर्ष ७० रुपैयाँ पर्ने गोलभेँडा अहिले किन सस्तो ?

२०८० असार ३

कालिमाटीमा दुई रुपैयाँ किलो गोलभेँडा, गतवर्ष ७० रुपैयाँ पर्ने गोलभेँडा अहिले किन सस्तो ?
कालिमाटीमा दुई रुपैयाँ किलो गोलभेँडा, गतवर्ष ७० रुपैयाँ पर्ने गोलभेँडा अहिले किन सस्तो ?

काठमाडौं। शनिवार मेरो किसानले दराज अनलाइनमा अफर भन्दै गोलभेँडा किलोको ९ रुपैयाँ भन्दै बिक्रीका लागि राख्यो। एकसाता अघिसम्म किलोको ४० रुपैयाँमा मेरो किसानले गोलभेँडा बिक्री गर्दै आएको थियो।

Tata
GBIME

तर एक साताकै बीचमा एकाएक ९ रुपैयाँ किलोमा गोलभेँडा कसरी बिक्रीका लागि राख्यो ? मेरो किसानका प्रबन्ध निर्देशक अविनाश सिलवाल भन्छन्-‘उत्पादन बढी भएर बजारमा आउन थालेपछि एक सातामै गोलभेँडाको भाउमा ठूलो गिरावट आयो। त्यसैले हामीले किसानको उत्पादन खेर नजाओस् भनेर अफरमा गोलभेँडा बिक्रीका लागि राखेका हौं।’

उनका अनुसार बढी उत्पादन भएका कारणले किसानले किलोको २ रुपैयाँमा गोलभेँडा बिक्री गरिरहनुपरेको छ। मूल्य नपाएका कारण किसानले आइतबार कालिमाटी तरकारी बजारमा गोलभेँडा फालेर विरोध समेत जनाएका छन्। उपत्यका सबैभन्दा धेरै गोलभेँडा उत्पादक किसान रेशम आचार्य एक सातादेखि किलोको दुई रुपैयाँमा बेचिरहेको बताउँछन्।

‘एक सातादेखि हामीले गोलभेँडा सित्तैमा जस्तो बेचिरहनुपरेको छ। गोलभेँडा लगाउँदाको लागत होइन कालिमाटीसम्म ल्याउँदाको ढुवानी भाडा पनि थेग्न सकेको छैन,’ एसडटएन ग्रुपका अध्यक्ष समेत रहेका आचार्यले बिजमाण्डूसँग भने, ‘हामीले सय रुपैयाँ क्रेटमा गोलभेँडा बेचिरहेका छौं।’ एक क्रेटमा २२ किलो गोलभेँडा हुन्छ।

किन एकाएक घट्यो मूल्य ?

काठमाडौंमा गोलभेँडाको दैनिक खपत २० हजार क्रेट हो। तर अहिले काठमाडौंमा दैनिक ५० हजार क्रेट भित्रिने गरेको छ। मागभन्दा बढी एकैपटक बजारमा आउन थालेपछि बिक्री हुन छाड्यो। त्यसपछि एकाएक भाउ सस्तिएको हो।

‘अहिले तरकारी खेतीमा युवाहरु आकर्षित भएका छन्। युवाहरु पछिल्लो प्रविधिलाई आत्मसात गर्दै टनेलमा गोलभेँडा लगाउने धेरै भए,’ आचार्यले भने, ‘तर हामीले माग र आपूर्तिलाई हेरेनौं। अझ सरकारले कुन कृषि उत्पादन कति खपत हुन्छ भनेर किसानलाई जानकारी गराएर विविधिकरण गर्नेतर्फ ध्यान दिएन। त्यसैको परिणाम अहिले भोगिरहनुपरेको छ।’

उनका अनुसार पछिल्ला केही वर्ष यो सिजनमा गोलभेँडा ७० रुपैयाँ किलोसम्ममा बिक्री हुन्थ्यो। किलोको ७० रुपैयाँसम्म बिक्री भएका कारण उपत्यकाका विभिन्न स्थानमा टनेलमा गोलभेँडा खेती फष्टाउन थाल्यो। आचार्यका अनुसार साँखु, गोदावरी, सीतापाइला, तारकेश्वर लगायतका स्थानमा सेता प्लास्टिकभित्र व्यवसायिक रुपमा खेती गर्न थालियो।

गोलभेँडामा भएको मुनाफा देखेर अरु किसानले पनि देखासिकी गरे। त्यसले उपत्यकाको खपत भन्दा बढी उत्पादन हुन थाल्यो। काठमाडौं उपत्यकामा उत्पादन भएको गोलभेँडा चितवनको नारायणगढ, बुटवल, भैरहवा र पोखरासम्म जान्थ्यो। तर यो पटक काठमाडौंमा उत्पादन भएको गोलभेँडा त्यहाँ गएको छैन। केही किसानले भारतीय गोलभेँडा आएकाले उपत्यकाको उत्पादन जिल्लातिर नगएको बताएका छन्। तर आचार्य भने भारतमा गोलभेँडा महँगो भएकाले नेपाल नआएको जिकिर गर्छन्।

‘भारतमा अहिले गोलभेँडा सय रुपैयाँमा बिक्री भइरहेको छ। त्यताबाट गोलभेँडा आएको छैन जस्तो लाग्छ,’ उनले भने। उनका अनुसार टनेलभन्दा बाहिर धादिङतिरको गोलभेँडा भएको हुनसक्छ। यो पटक पानी नपरेकाले टनेल बाहिर लगाइएका गोलभेँडा अहिलेसम्म बजारमा आइरहेको छ।

काभ्रे र धादिङमा टनेलभन्दा बाहिर लगाइएको गोलभेँडा बजारमा आएकाले समेत मूल्य घटेको हो। विगतका वर्षमा जेठको अन्तिमतिरबाट टनेल बाहिरका गोलभेँडा बजारमा आउन बन्द हुन्थ्यो। पानीले बोट मर्न थालेपछि उत्पादन हुँदैनथ्यो।

टनेल गोलभेँडामा किन आकर्षण ?

पछिल्लो समयमा युवा किसान टनेल गोलभेँडामा आकर्षित भएका छन्। यो प्रविधिमा राम्रो मूल्य र जोखिम कम भएकाले आकर्षण बढेको थियो।

मेरो किसानका सिलवालका अनुसार टनेलमा लगाइएको गोलभेँडाले फल्न थालेपछि झण्डै चार महिना उत्पादन दिन्छ। ‘टनेलमा लगाइएको बोटले ४ देखि ६ महिनासम्म उत्पादन दिन्छ। यसमा डढेलोबाहेक ठूलो रोग देखिएको छैन,’ उनले भने, ‘अरु खेतीजस्तो मूल्य नपाइने जोखिम विगतमा थिएन। त्यसैले काठमाडौंका केही खाली जमिनमा सेता प्लास्टिक छोपेर गोलभेँडा खेती गर्ने प्रवृत्ति बढ्दो थियो।’

सिलवाल सिंगल क्रपमा राम्रो मुनाफा दिने गोलभेँडामा किसानको आकर्षण अहिले भने दुर्भाग्य भएको बताउँछन्। उनका अनुसार यो पटक भने आर्थिक मन्दीका कारण होटल र रेष्टुरेन्ट नचलेकाले समेत गोलभेँडाको खपत कम भएको हो।

भारत निर्यात खोलौं

नेपालले कृषि उपज निकासीका लागि भारतसँग तत्कालै छलफल गर्नुपर्ने किसानहरु बताउँछन्।

टनेलमा गोलभेँडा खेती गरिरहेका आचार्य भारतबाट निर्वाध रुपमा कृषि उपज आउने तर नेपालका उत्पादन निकासी गर्नै नपाउने व्यवस्था अन्त्य हुनुपर्ने बताउँछन्।

‘भारतबाट एक खर्बभन्दा बढीको कृषि उपज आउँछ। हामीले यहाँ उत्पादन भएका सामान भारत निकासी गर्न नपाउने किन ?’ उनले प्रश्‍न गर्दै भने, ‘सरकारले तत्कालै यो विभेद अन्त्य गर्नका लागि कूटनीतिक पहल गर्नुपर्छ।’

(तस्वीरः समर्थ रञ्जित/बिजमाण्डू)