BIZMANDU
www.bizmandu.com

उद्योगीले चार दिनमै चिनीको भाउ किलोमा ४ रुपैयाँ बढाए, खुद्रा मूल्य एक सय नाघ्ने


उद्योगीले चार दिनमै चिनीको भाउ किलोमा ४ रुपैयाँ बढाए, खुद्रा मूल्य एक सय नाघ्ने
उद्योगीले चार दिनमै चिनीको भाउ किलोमा ४ रुपैयाँ बढाए, खुद्रा मूल्य एक सय नाघ्ने


विराटनगर। चिनी उद्योगीले कार्टेलिङ गर्दै चिनीको मूल्य चार दिनमै किलोमा ४ रुपैयाँले वृद्धि गरेका छन्। काठमाडौंमा चिनीको व्यवसाय गरिरहेका व्यवसायीका अनुसार चिनीका ठुला उद्योगीले एकै चोटि मूल्यवृद्धि गरेर किलोको ९३ रुपैयाँ ५० पैसा बनाएका हुन्।

Tata
GBIME
NLIC

शुक्रवारदेखि उद्योगीले काठमाडौँका अधिकृत विक्रेतालाई किलोको ९३ रुपैयाँ ५० का दरले चिनीको डेलिभरी दिइरहेका छन् । अब यो चिनी खुद्रा बजारमा पुगेर उपभोक्ताले खरिद गर्नुपर्दा किलोको १ सय रुपैयाँभन्दा बढी पर्नेछ। उद्योगीले सोमबारसम्म एक किलो चिनी काठमाडौँ डेलिभरी गर्दा ८९ रुपैयाँ ५० पैसा लिइरहेका थिए।

त्यस्तै १० दिन पहिलाको दरभाउ किलोको ८७ रुपैयाँ थियो। अहिलेको दर ९३ रुपैयाँ ५० पैसा छ। यसप्रकार १० दिनमै चिनीको मूल्यमा साढे ६ रुपैयाँले वृद्धि भएको छ। व्यवसायीका अनुसार कार्टेलिङ गरेर चिनीको मूल्य तोक्न ५ ठुला उद्योगका सञ्चालकको मुख्य भूमिका छ। यसरी मूल्यवृद्धि गर्ने उद्योगमा इन्दुशंकर चिनी मिल, रिलायन्स सुगर मिल, एभरेस्ट सुगर मिल, हिमालय सुगर मिल र इस्टर्न सुगर मिल हुन्।

‘पुस महिनामा उखुको क्रसिङ सकिएपछि साना उद्योगले किसान र कामदारलाई भुक्तानी दिन सस्तोमा चिनी विक्री गरे’, काठमाडौँका अधिकृत विक्रेताको भनाइ छ, ‘तर ठुला उद्योगले आफ्ना उद्योगमा सञ्चित रकमबाट किसान र मजदुरको भुक्तानी गरे। ठुला उद्योगले क्रसिङलगत्तै चिनीको विक्री गरेनन् बरु गोदाममा थन्क्याएर राखे। जेठको अन्तसँगै साना उद्योगसित भएको चिनी सकिएको छ। यही मौका छोपेर ठुला उद्योगले चिनीको मूल्य चार दिनमै ४ रुपैयाँले वृद्धि गरेका हुन्। यिनीहरूले खुला बजारमा चिनीको मूल्य किलोको १२५ रुपैयाँसम्म पुर्यादउने लक्ष्य राखेका छन्।’

चिनीका साना उद्योगीलाई बैंकले ऋण दिन पनि नमानेपछि उनीहरूले सस्तोमा चिनीको विक्री गरेर कामदार र किसानको भुक्तानी गरेको बताइएको छ। भारतको सरकारले २०२३ लागेपछि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। यता नेपाल सरकारले हालको बजेटमा चिनीको आयात महसुललाई ४० बाट घटाएर ३० प्रतिशत पारेको छ।

तर सरकारले आयात महसुल घटाए पनि भारतबाट चिनीको आयात हुने सम्भावना देखिँदैन। नेपाल सरकारले भारत सरकारसँग चिनीको कोटाका लागि अनुरोध पनि गरेको छैन। व्यवसायीले भारतले नेपाललाई चिनीको आयात गर्न कोटा दिने हो भने उपभोक्ताले किलोको ९० देखि ९५ रुपैयाँमा खरिद गर्न पाउने प्रक्षेपण गरेका छन्।

‘भारतका चिनी उद्योगले नेपालका व्यवसायीलाई सिआइएफ भन्सार परिसरसम्मका लागि प्रति किलो भारु ३६ रुपैयाँमा चिनीको आपूर्ति गर्न सक्छन्’, एक आयातकर्ताले भने, ‘भारु ३६ भनेको नेरु ५७ रुपैयाँ ६० पैसा हो। यसमा ३० प्रतिशत भन्सार महसुल लाग्दा १७ रुपैयाँ २८ पैसा हुन्छ। त्यस्तै १३ प्रतिशत भ्याटको रकम ९ रुपैयाँ ७३ पैसा हुन्छ। यसरी आयातकर्ताले भन्सारबाट एक किलो चिनी जाँचपास गर्दा प्रति किलो ८४ रुपैयाँ ६१ पैसा परेको हुन्छ।’

इन्दुशंकर सुगर मिलका सञ्चालक राजेश केडियाले उद्योगीले चिनीको मूल्यमा वृद्धि गरेको नभई घटेको मूल्यलाई सन्तुलनमा ल्याएको भन्दै आरोपको बचाउ गरे। ‘चिनीको मूल्य घटेको थियो, अहिले ब्यालेन्समा आएको छ’, उद्योगी केडियाले बिजमाण्डूसँग भने, ‘यसमा हामी कसैले कार्टेलिङ गरेका होइनौँ, खुला बजारप्रणाली हो। हामी सबै बजारमा प्रतिस्पर्धामा छौँ।’
केडियाले विगतमा सीमा नाकाबाट तस्करी भएर धेरै चिनी नेपाल भित्रिएको चर्चा गरे।

उनले उक्त तस्करीको सस्तो चिनीसँग प्रतिस्पर्धा गर्न नेपालका उद्योगले पनि मूल्य घटाउनु परेको जिकिर गरे। ‘उद्योगले किसान र श्रमिकलाई भुक्तानी गर्नु थियो’, उनले सुनाए, ‘त्यसैले उद्योगहरू सस्तोमा चिनी विक्री गर्न बाध्य भएका हुन् । दुई महिनायता अनधिकृत मार्ग भएर भारतीय चिनी आउन पनि कम भएको छ।’

उनको प्रश्न थियो, ‘हामीले चिनीको विक्री नगरी किसान र श्रमिकलाई भुक्तानी गर्‍यो होला। तर भुक्तानी गर्ने रकम बैंकबाट महँगो ब्याजमा लिएको चाहिँ कसले हिसाब गरिदिने ? अनि गोदाममा चिनीको स्टक गरेर राख्ता एक महिनामा किलोको १ रुपैयाँले खर्च बढ्छ भन्ने तथ्यप्रति जानकार हुने कि नहुने ?’

उनले चिनीका ठुला उद्योगले आफूसँग सञ्चित रकमबाट किसान र श्रमिकलाई भुक्तानी गरेको भन्ने व्यवसायीको आरोप असत्य भएको दाबी गरे। व्यवसायीले बैंकबाट कर्जा लिएर नै किसान र श्रमिकलाई भुक्तानी गरेको उनको भनाइ छ। उनले बैंकको ब्याज सस्तो भएको भए अहिले चिनीको मूल्य पनि केही न केही सस्तो नै हुन्थ्यो भन्ने धारणा व्यक्त गरे।

केडियाका अनुसार गत सिजनमा सबै चिनी उद्योगले किसानलाई भुक्तानी गरेका छन्। बाँकी नराखी भुक्तानी भएको छ। इस्टर्न सुगर मिलका सञ्चालक हितेश गोल्छाले चिनीको मूल्य विश्वव्यापी रूपमै वृद्धि भइरहेको र नेपालमा पनि मूल्यवृद्धि हुनुमा कुनै आश्चर्य नभएको भन्दै मूल्यवृद्धिको पक्ष लिए।

उद्योगी गोल्छाका अनुसार गत वर्षका सिजनमा खडेरीका कारण भारत र नेपालमा चिनीको उत्पादन घट्यो। नेपालका उद्योगले एक क्विन्टल उखुबाट ९ हजार ७५० ग्राम चिनी उत्पादन गर्दै आइरहेका थिए।

तर गत वर्षका सिजनमा ९ हजार १५० ग्राम मात्र उत्पादन हुनसक्यो। खडेरीका कारण उखुमा पर्याप्त रस भएन र चिनीको उत्पादनमा असर पर्‍यो। गोल्छाले भारतमा पनि चिनीको मूल्यमा वृद्धि भएको दाबी गर्दै अहिले भारतीय चिनी नेपाल ल्याउँदा यहाँका उपभोक्ताले किलोको ९८ रुपैयाँभन्दा बढीमा खरिद गर्नुपर्ने दाबी गरे। उनले उद्योगीले चिनीको मूल्यमा कार्टेलिङ नगरेको स्पष्टीकरण दिए।