BIZMANDU
www.bizmandu.com

कर छुटसहित नयाँ भवनको नक्सा पास छिटो गर्न काठमाडौं महानगरलाई क्यानको पुन: पत्राचार

२०८० असार १

कर छुटसहित नयाँ भवनको नक्सा पास छिटो गर्न काठमाडौं महानगरलाई क्यानको पुन: पत्राचार
कर छुटसहित नयाँ भवनको नक्सा पास छिटो गर्न काठमाडौं महानगरलाई क्यानको पुन: पत्राचार


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगपालिकालाई कर छुटसहित तत्काल आफ्नो भवनको नक्सा पास गर्न पत्राचार गरेको छ। सिनामंगलमा बनिरहेको प्राधिकरणको नयाँ भवनको नक्सालाई लिएर महानगरले प्रश्न उठाएपछि प्राधिकरणको शुक्रबार बसेको बैठकले पत्राचार गर्ने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

प्राधिकरणले सम्पत्ति र भूमी कर नलिइकन सिनामंगलको नयाँ भवनको नक्सा पास प्रक्रिया अगाडि बढाइदिन यसअघि नै गरेको पत्राचारमा काठमाडौं महानगरपालिकाले कुनै जवाफ नदिएको प्राधिकरणले जनाएको छ।

‘यस अगाडी नै पत्राचार गरेका थियौं। तर, प्रतिकृया आएन। जसका कारण नक्सा पासको विषयमा अन्योलता सृजना भएर हालसम्म यो प्रकृया अगाडि बढ्न सकेन,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘यो विषयलाई लिएर शुक्रबार प्राधिकरणले मालपोत तथा सम्पत्ति करमा छुट दिन पुनः अनुरोध गर्दै तत्काल नक्सापास प्रक्रिया अगाडि बढाउन महानगरलाई पत्राचार गरेका छौं।’

प्राधिकरणका अनुसार गत वर्ष माघमा सम्पति कर तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५६ अनुसार भूमिकर नलिइकन नक्सा पास प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो। तर, महानगरबाट कुनै प्रतिक्रिया नआएपछि प्राधिकरणले शुक्रबार पुनः पत्राचार गरेको छ।   

बिहीबार महानगरका कर्मचारीसहित नगर प्रहरी बलले तीनकुने गैरीगाउँ स्थित प्राधिकरणको स्वामित्वमा रहेको जग्गाको तारबार हटाउनुका साथै सिनामंगलकव नयाँ भवनको निर्माण कार्यमा अवरोध पुर्‍याएको थियो। त्यसक्रममा भवनमा कार्यरत प्राधिकरणका कर्मचारीलाई काम गर्न अवरोध पुर्‍याइएको थियो। यस विषयमा क्यानले बिहीबार नै महानगरपालिकाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरीसहित पत्राचार गरेको थियो।

महानगरका कर्मचारीले सिनामंगलस्थित नयाँ भवन निर्माण क्षेत्र पुगेर नक्सा पास नगरेको भन्दै तत्काल काम रोक्न कामदारलाई निर्देशन दिएका थिए।