विराटनगर। नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको कार्गोरेल विराटनगरको आइसीपीसम्म नआउँदा जोगबनीको रेलवे यार्डमा करोडौँ मूल्यका सामानहरू भिजेर नष्ट भएका छन्।
तीन दिनयताको वर्षाले जोगबनीको यार्ड जलमग्न भएका कारण नेपाल ल्याउन यार्डमा राखिएका सामानहरू भिजेर नष्ट भएका हुन्। ढुवानीकर्ता गजेन्द्र ठाकुरका अनुसार साल्ट ट्रेडिङ विराटनगरले आयात गरेको नुन १ हजार बोराभन्दा बढी भिजेको छ।
त्यस्तै मोरङको प्रिमियर स्टिल र सुनसरीको स्वस्तिक रोलिङ मिल गरी दुई उद्योगले आयात गरेको स्पन्ज आइरन पनि १५–१५ सय बोराभन्दा बढी काम नलाग्ने भएको छ।
‘कति सामान खराब भएको छ भनेर अहिले नै यकिन गरेर भन्न सकिने अवस्था छैन,’ व्यवसायी ठाकुरले भने, ‘सबै सामान यार्डबाट उठाएर गाडीमा राखेपछि मात्र वास्तविक हिसाब आउँछ।’ जोगबनीको यार्डमा तीन दिनभित्र ६ वटा र्याक आएपछि समस्या उत्पन्न भएको उनले बताए।
जसमध्ये ४ वटा र्याकमा साल्ट ट्रेडिङको नुन थियो। एक र्याकमा प्रिमियर स्टिल तथा स्वस्तिक रोलिङको स्पन्ज आइरन र २ र्याक कमला स्टिलको फलामे तार थियो। ‘र्याकमा आएपछि यार्डमा सामान तत्काल अनलोड गरिन्छ र रेल फर्कन्छ,’ उनले सुनाए, ‘६ वटै र्याकका सामान अनलोड भइसकेको दिन नै ठूलो पानी पर्यो। जोगबनीको यार्ड जलमग्न भयो। यस यार्डमा पानीको निकास हुने गरी नाला बनाइएको छैन। त्यसैले थाक लगाएर राखिएको नुन र स्पन्ज आइरनका बोराहरू एक फिटसम्म भिजे। नुन र स्पन्ज आइरनमा पानी परेपछि दुवै सामान काम नलाग्ने हुन्छन्।’
थाक लगाएर राखिएका नुन र स्पन्ज आइरनका बोरामा माथिबाट त्रिपालले छोपिएको भए पनि भुईं जलमग्न भयो। भुईंका बोरालाई जोगाउन नसकिएको उनले बताए। ‘तीन दिनमा ६ वटा र्याक आइपुग्दा सामान अनलोड गर्न, मिलाएर राख्न र ढुवानी गर्न ठूलो समस्या भयो,’ उनले भने, ‘त्यसैले अधिकांश सामान यार्डमै राख्नुपर्यो। त्यही बेला पानी परिदियो।’
प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र नरेन्द्र मोदीले यही जेठ १८ गते विराटनगरको आइसीपीमा रहेको कस्टम यार्डसम्म आइपुग्ने गरी कार्गो रेलको उद्घाटन गरेका थिए। उद्घाटनका दिन आरती स्ट्रिप्सको कच्चा पदार्थ एचआर सिट लिएर कार्गो रेल आइसीपीसम्म आइपुगेको थियो। त्यसपछि कार्गोरेल आइसीपीको यार्डसम्म आउन सकेको छैन। व्यवसायीले सीमापारी जोगबनीकै यार्डमा र्याक मगाएर आयात गरिरहेका छन्।
रेल विभागका विराटनगर साइट इन्चार्ज इन्जिनियर रोशन देवले व्यवसायीहरू विराटनगरको आइसीपीस्थित यार्डसम्म कार्गो रेल ल्याउन अझै इच्छुक नदेखिएको आरोप लगाए। ‘प्रधानमन्त्रीका स्तरबाट कार्गो रेलको उद्घाटन भइसकेपछि व्यवसायीले आइसीपीको यार्डसम्म आइपुग्ने गरी र्याक ल्याउन सुरु गर्नुपर्ने हो,’ इन्जिनियर देवले भने, ‘तर अझै जोगबनीकै यार्डसम्म र्याक ल्याएर आयात गरिरहेका छन्। त्यसैले आइसीपीसम्म कार्गो रेल आउन नसकेको हो। कार्गो रेल हामीले होइन, व्यवसायीले ल्याउने हो।’
देवले व्यवसायीले आइसिपीको रेलवे यार्डसम्म कार्गो रेल ल्याए त्यसको सञ्चालन गर्न रेल विभाग तयार भएको जानकारी दिए। ‘यस प्रक्रियामा जम्मा तीन फाँट हुन्छन्। पहिलो कार्गो ह्यान्डलिङ, दोस्रो रेल अपरेसन र तेस्रो भन्सार जाँचपास। कार्गो ह्यान्डलिङको काम नेपाल इन्टर मोडल यातायात विकास समितिले गर्ने हो,’ उनले भने, ‘रेल अपरेसन गर्न हामी तयार छौँ। भन्सार जाँचपासको काम गर्ने भन्सार कार्यालय छँदैछ।’
नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कार्गो ह्यान्डलिङको काम गर्न इन्टरमोडल सक्षम र तयार रहेको जिकिर गरे। उनले भने ‘हामीले हेर्ने लजिस्टिक म्यानेजमेन्ट हो। हामी यसका लागि सधैँ तयार छौँ।’
इन्टरमोडलले आइसीपीको रेल वे यार्डबाट आयातनिर्यात सुरु गर्न ५५ करोडको लगानीमा संरचना निर्माण गरिरहेको उनले जानकारी दिए। उनले इन्टरमोडलले यार्डमा प्लेटफर्म बनाउने, यार्डदेखि आइसीपीसम्म आइपुग्ने सडक चौडा गर्ने र कन्टेनर पार्किङ यार्ड निर्माण गर्ने लगायतका काम गरिरहेको बताए। उक्त संरचना आगामी ६ महिनाभित्र निर्माण भइसक्ने बताइएको छ।
‘हामीलाई खोई जानकारी ?’
मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवम् प्रिमियर स्टिलका सञ्चालक अनुपम राठीले रेल विभागले व्यवसायीलाई आइसीपीमा सम्पूर्ण साधन र स्रोत सहितको रेलवे यार्ड तयार भएको जानकारी नदिएसम्म आइसिपीसम्म कार्गोरेल ल्याउन नसकिने बताए।
उद्योगपति राठीले आइसिपीसम्म कार्गोरेल ल्याएपछि समयमा मालवस्तु अनलोड हुन्छ कि हुँदैन र कार्गो ह्यान्डलिङको अवस्था के हुन्छ भन्ने बारेमा व्यवसायीलाई सरकारले अनभिज्ञ राखेको आरोप लगाए।
राठीले व्यवसायीले आइसीपीसम्म कार्गोरेल ल्याएपछि कार्गो ह्यान्डलिङ र भन्सार जाँचपासमा कुनै असुविधा नहुने प्रत्याभूति सरकारी पक्षले नगरेसम्म आइसिपीको रेल वे यार्डमा कार्गो रेल आउन नसक्ने दाबी गरे।उनले जोगबनीको यार्डमा आफ्नो उद्योगको १५ सय बोरा स्पन्ज आइरन नष्ट भएको र यसबाट ४५ लाखको क्षति भएको स्पष्ट पारे।
स्वस्तिक रोलिङका सञ्चालक रमेश राठीका अनुसार आइसीपीको रेल वे यार्डमा मालवस्तु ल्याएपछि ती सामान ओसार्न नेपाली नम्बरका पर्याप्त ढुवानीसाधन छैनन् । भारतीय नम्बरप्लेटका ढुवानीका साधनलाई नेपाली ढुवानी व्यवसायीले आइसिपीमा छिर्न दिँदैनन्। त्यसैले आइसीपीसम्म कार्गोरेलको सञ्चालनका लागि पर्याप्त ढुवानीका साधनको व्यवस्था पहिलो शर्त हो।
‘हामी एक पटकमा २४ सय टन स्पन्ज आइरन मगाउछौँ’, उद्यमी राठीले भने, ‘यसको ढुवानीका लागि ८० वटा ट्रक चाहिन्छन्। नेपाली नम्बर प्लेटका ८० वटा ट्रक जुटाउन गाह्रो छ। अर्कातिर रेल वे यार्डबाट निर्धारित समयमा मालवस्तु नउठाए त्यसको डिटेन्सन शुल्क अत्यन्त महँगो छ।’
राठीले आइसिपीको रेल वे यार्डमा हालसम्म कन्टेनर पार्किङ यार्ड नहुँदा कन्टेनरमा कार्गो ल्याउन नसकिने र स्पन्ज आइरन, फलामे तार, नुन, एचआर सिट जस्ता लुज कार्गो मात्र ल्याउन सकिने स्पष्ट पारे। उनले भने ‘जेठ १८ को उद्घाटनपछि कार्गोरेल सञ्चालन गर्न सरकारी पक्ष उदासीन देखिएको छ। त्यहाँ केकस्तो सुविधा छ वा छैन भन्ने बारेमा व्यवसायीलाई केही जानकारी गराइएको छैन।’
राठीले आफ्नो उद्योगको १५ सय बोराभन्दा बढी स्पन्ज आइरनमा पानी पसेर काम नलाग्ने भएको चर्चा गरे। उनले भने, ‘स्पन्ज आइरनमा पानी पसेपछि त्यसको गुणस्तर सकिन्छ । त्यसमा आइरन कन्टेन्ट ५० प्रतिशत पनि हुँदैन। यसले हामीलाई ४५ लाखभन्दा बढीको नोक्सानी पुर्याएको छ।’