काठमाडौं। नेपालका लागि ट्युनिसियाको अवैतनिक दूतको औपचारिक जिम्मेवारी भवानी राणाले लिएकी छिन्।
बिहीबार एक औपचारिक कार्यक्रममार्फत नवनियुक्त अवैतनिक दूत राणालाई नेपालका लागि ट्युनिसियाका राजदूत हाएत तल्बी इपि बिलेलले नियुक्ति पत्र दिएकी हुन्।
दुई मुलुकबीचको सम्बन्धले विश्वभर व्यापार व्यवसाय बिस्तार गर्न सकिने अवैतनिक दूत राणाले बताइन्। उनले दुवै मुलुकको सामाजिक, आर्थिक सुदृढिकरणसँगै दुईपक्षीय पर्यटन प्रवर्द्धनको प्रबल सम्भावना रहेको बताइन्।
‘हामी हजार कोस टाढा भए पनि कुटनैतिक तवरले हामी दुईपक्षीय समृद्धि बिस्तार गर्न सक्छौं। ट्युनिसिया युरोपेली मुलुकसँग जोडिएको हुँदा नेपाललाई युरोप तर्फ व्यापार बिस्तार गर्न सहज हुने देखिएको छ,’ राणाले भनिन्।
योसँगै चीन र भारतकोबीचमा रहेको नेपालमा ट्युनिसियाले
वैदेशिक लगानी गरेर भारत र चीनमा आफ्नो व्यापार बिस्तार गर्ने अवसर लिन सक्ने उनले बताइन्।
कार्यक्रममा माल्टाका अवैतनिक दूत दिनेश श्रेष्ठले यो सम्बन्धले दुवै मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। नेपालको ऊर्जा, कृषि, पर्यटन क्षेत्रमा लगानी अनुसारको प्रतिफल उल्लेख्य रहेको उनले जानकारी गराए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले भने, ‘१ करोड २० लाख जनसंख्या भएको ट्युनिसियामा वार्षिक ९० लाख पर्यटक भित्रिदै आएका छन्। मिलियन पर्यटज आइरहेका छन। यसबाट पनि नेपालले केही सिक्न सक्ने देखिएको छ। दुवै मुलुकबीचको सहकार्यले दुइपक्षीय व्यवसायिक फाइदा हुने देखिएको छ।’
यसैगरी नेपालका लागि ट्युनिसियाकी राजदूत इपि बिलेलले यो दुईपक्षीय सम्बन्धमार्फत विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने बताइन्। उनले कृषि, पर्यटन, ऊर्जा लगायतमा लगानीको सम्भावना रहेको बताइन्।
‘नेपालसँगको यो सम्बन्ध कायम गर्न पाउँदा हामी खुसी छौं। यसका लागि अवैतनिक वाणिज्य दूत भवानी राणालाई धन्यवाद दिन चाहान्छु। अझै नजिक रहेर दुई मुलुकको हितमा काम गर्न तयार छौं,’ उनले भनिन्।