विराटनगर। अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य खस्किएको छ। सामान्यतया हरेक वर्षको जुन र जुलाई महिनामा कोइलाको मूल्य घट्ने गर्दछ। वर्षायामका कारण कोइलाखानी बन्दप्रायः हुन्छन्।
उद्योगहरू मेसिनको मेन्टेनेन्समा लाग्छन्। इँटाभट्टामा पनि उत्पादन ठप्प हुन्छ। यी दुई महिना अन्तर्राष्ट्रिय बजारमै कोइलाको मागमा कमी आउँछ।
त्यसैले जुन र जुलाई गरी हरेक वर्षायामका दुई महिनामा कोइलाको मूल्यमा ह्रास आउने गरेको हो।व्यवसायीका अनुसार यति वेला कोइला सस्तो छ भन्दैमा यसलाई ठुलो परिमाणमा खरिद गरेर लामो समयका लागि राख्न सकिँदैन। यसका लागि धेरै ठुला गोदाम घरको आवश्यकता पर्दछ।
कोइला राख्न गोदाम घर बनाउँदा वा भाडामा लिँदा लागत धेरै महँगो पर्छ। त्यसैले उद्योगका लागि कोइला भनेको कच्चा पदार्थजस्तो २–३ महिनाका लागि भण्डारण गर्ने वस्तु होइन, बरु ल्याउँदै उपयोग गर्दै गर्ने इन्धन हो। भारतको कोलकाताबाट नेपालका सिमेन्ट उद्योगलाई कोइला आपूर्ति गरिरहेका व्यवसायी राघव चक्रवर्तीले भारतमा उत्पादित कोइलाको भाउ घटेर यति वेला सिएआइएफ रक्सौलका लागि टनको भारु ८ हजार भएको जानकारी दिए।
व्यवसायी चक्रवर्तीले ६ महिनाअघि भारतीय कोइलाको मूल्य सिआइएफ रक्सौलका लागि भारु १५ हजार भएको स्मरण गरे। अहिले यो मूल्यमा भारु ९ हजारको ह्रास आइसकेको छ। भारतको मेघालयका खानीबाट उच्च गुणस्तरको कोइला उत्पादन गरिन्थ्यो। तर भारत सरकारले मेघालयका खानी बन्द गरेको तीन वर्ष भइसकेको छ।
तर विहार, पश्चिम बंगाल र झारखण्ड गरी तीन राज्यमा अझै कोइला खानी सञ्चालनमा छन् । तर त्यहाँका सबै खानीहरू भारतको कोल इन्डिया लिमिटेड (सीआइएल)को अधीनमा छन्। भारतका आपूर्तिकर्ताले नेपाल निर्यात गर्ने कोइला सीआइएलबाटै खरिद गरेर पठाउँछन्।
कोइलाको अर्को मुख्य उत्पादक र निर्यातकर्ता मुलुक अस्ट्रेलिया हो। तर अस्ट्रेलियाले आफ्नो मुलुकमा उत्पादित कोइला विगत ६ महिनायता चीनतर्फ मात्रै निर्यात गरिरहेको छ। केहीसमय अस्ट्रेलिया र चीनका बीच व्यापार सन्धिमा समस्या थियो। तर ६ महिनाअघि दुबै मुलुकले सन्धिको नवीकरण गरेर मधुर सम्बन्ध स्थापित गरेका छन्। सन्धिअनुसार चीनले लामो समयसम्म अस्ट्रेलियाको कोइला खरिद गर्नेछ।
चीनमा ठुलाठुला कलकारखाना र विद्युतका लागि थर्मल प्लान्ट सञ्चालन गर्न ठुलो परिमाणमा कोइलाको आवश्यकता पर्दछ।
व्यवसायी चक्रवर्तीका अनुसार अस्ट्रेलियाका व्यवसायी भारतमा कोइलाको निर्यात गर्न चाहँदैनन्। गरिहाले भने पनि महँगो दाम लिन्छन्। निकै पटक आग्रह गरेर अहिले अस्ट्रेलियाबाट भारतमा कोइला मगाउने हो भने सिआइएफ कोलकाताका लागि टनको १२० डलर पर्छ।
तर भारतका व्यवसायी अस्ट्रेलियाबाट कोइला मगाउन इच्छुक देखिँदैनन्। किनकि यही स्तरको दक्षिण अफ्रिकाको कोइला मगाउँदा सिआइएफ कोलकाताका लागि टनको १ सय डलर मात्र पर्छ। दक्षिण अफ्रिकाको कोइलाको मूल्य ६ महिनाअघि सिआइएफ कोलकाताका लागि टनको १५० डलर थियो। अहिले मूल्य घटेर १ सय डलर भएको हो।
नेपालका सिमेन्ट उद्योगले केही समययता भारत वा दक्षिण अफ्रिकाको कोइला उपयोग गरिरहेका छन्। इँटाभट्टाका लागि प्रयोग गरिने अमेरिका र इन्डोनेसियाको कोइलाको मूल्यमा पनि ह्रास आएको छ। दक्षिण एसियाका अधिकांश इँटाभट्टाले सामान्यतया सेप्टेम्बरदेखि उत्पादन गर्न थाल्छन्। वर्षा याममा इँटाभट्टाहरू बन्द हुन्छन्। इटाभट्टाका लागि व्यवसायीहरू अगस्त महिनादेखि मात्र अर्डर लिने गर्दछन्।
त्यसैले अमेरिका र इन्डोनेसियामा उत्पादित कोइलाको मूल्य खस्किएको हो। अमेरिका र इन्डोनेसियाको कोइला इँटाभट्टाका साथै कलकारखानाका ब्वाइलरमा पनि प्रयोग हुने गर्दछ। तर विगत २ महिनादेखि नेपालमा अमेरिका र इन्डोनेसियाको कोइला आयात भएको छैन। व्यवसायी चक्रवर्तीका अनुसार ६ महिनापहिले अमेरिका र इन्डोनेसियाको कोइलाको मूल्य सिआइएफ कोलकातासम्मको प्रति टन २ सय डलर थियो । अहिले घटेर १ सय डलर भएको हो।
उनले अगस्ट महिना लाग्नेबित्तिकै भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, अमेरिका र इन्डोनेसिया गरी सबै मुलुकका कोइलाको मूल्यमा क्रमशः वृद्धि हुने दाबी गरे।