BIZMANDU
www.bizmandu.com

एनएसीलाई जहाज बेच्न उत्पादक कम्पनीको दौडादौड, दुई वटा कम्पनीको प्रिजेन्टेसन

२०८० जेठ ३२

एनएसीलाई जहाज बेच्न उत्पादक कम्पनीको दौडादौड, दुई वटा कम्पनीको प्रिजेन्टेसन
एनएसीलाई जहाज बेच्न उत्पादक कम्पनीको दौडादौड, दुई वटा कम्पनीको प्रिजेन्टेसन


काठमाडौं। जहाज किन्ने आर्थिक स्रोतको टुंगो विनानै नेपाल वायुसेवा निगमले विभिन्न कम्पनीसँग खरीदका लागि छलफल अघि बढाएको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले तीन वटा ट्‍वीनअटर जहाज किन्न पर्यटन मन्त्रालयमा प्रस्ताव गरेका थिए।

Tata
GBIME
NLIC

यो प्रस्तावसँगै अधिकारीले जहाज बेच्ने विभिन्न कम्पनीका प्रतिनिधिलाई बोलाएर छलफल गरेको प्रमाण बिजमाण्डूले फेला पारेको छ। डेढ महिनाअघि हेभिल्याण्डका क्षेत्रीय निर्देशक योगेश गर्ग जहाजका बारेमा छलफल गर्न नेपाल आएका थिए।

हेभिल्याण्ड क्यानेडियन कम्पनी हो, यो कम्पनीले ट्‍वीनअटर जहाज उत्पादन गर्छ। गर्ग भारतमा बस्छन्। स्रोतका अनुसार गर्गले अधिकारी र निगमका दुई जना बोर्ड डाइरेक्टरलाई जहाजका बारेमा आफ्नो प्रिजेन्टेसन दिएका थिए। ‘गर्गले जहाजको फिचर र मूल्य लगायतका बारेमा विस्तृत प्रिजेन्टेसन प्रस्तुत गरेका थिए,’ स्रोतले भन्यो।

उनी प्रिजेन्टेसन प्रस्तुत गरेर भिस्तारा एयरलाइन्सबाट फर्किने तयारीमा थिए। भिस्तारा एयरलाइन्समा बोर्डिङ गरेका गर्गलाई हताहतार भेट्न अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनै पुगेका थिए। अधिकारीसँग अर्को व्यक्ति पनिसँगै थिए।

‘भिस्ताराको जहाजमा बोर्डिङ गरिसकेका भारतीय मुलका एक व्यक्तिलाई एनएसी अध्यक्षज्यूले फिर्ता बोलाउनुभयो। त्यसपछि उनीसँग अध्यक्ष अधिकारी र अर्को व्यक्तिले भेट गरेका थिए,’ विमानस्थलका एक सुरक्षा अधिकारीले भने, ‘त्यहाँ तीन जनाबीच केही समय कुराकानी भएको थियो।’ अधिकारीले गर्गलाई भेटाएको व्यक्ति टीकाराम राई रहेको स्रोतले बतायो।

पर्यटनमन्त्री किरातीले आफूले जिम्मेवारी सम्हालेलगत्तै निगम व्यवस्थापकीय सुधारका लागि अध्ययन समिति गठन गरेका थिए। त्यो समितिको सदस्यमा राई नियुक्त भएका थिए। राईले पर्यटनमन्त्री किरातीलाई सल्लाह र सुझाव दिँदै आएका छन्। गर्ग गएको केही दिनमै सिंगापुरबाट एटीआरको प्रतिनिधि नेपाल आएर अधिकारीसँग छलफल गरेको थियो। स्रोतका अनुसार एटीआरको प्रतिनिधिले पनि निगमको केन्द्रीय कार्यालयमा प्रिजेन्टेसन दिएका थिए।

पहिला जहाज किन्न लिएको ऋण ४६ अर्ब

निगमले दुई वटा न्यारोबडी र दुई वटा वाइड बडी किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण ४६ अर्ब रुपैयाँ पुगेको छ।

चार वटा ठुला जहाज प्रभावकारी रुपमा संचालनका योजनाहरु थाती राखेर निगम अध्यक्ष अधिकारी नयाँ जहाज किन्ने दौडमा छन्। त्यसमा पनि निगमसँग भएको एउटा ट्‍वीनअटर मर्मत नगरेर ग्राउण्डेड छ। त्यो जहाज मर्मत गरेर चलाउन सकिने अवस्था हुँदाहुँदै नयाँ जहाज खरिदका लागि अधिकारीले मरिहत्ते गरिरहेका छन्।

त्यसमा पनि अर्थ मन्त्रालयले पुरानो ऋण नतिरी नयाँ जहाज किन्न ऋण दिन जमानी बस्न नसक्ने जानकारी दिइसकेको छ। यी सबै जान्दाजान्दै अधिकारीले पर्यटनमन्त्री किरातीलाई भुलभुलैयामा पारेर नयाँ जहाज किन्न हौस्याएका छन्। र, आन्तरिक उडानका लागि ल्याइएको पाँचवटा चिनियाँ जहाज वर्षौंदेखि ग्राउण्डेड छ।