BIZMANDU
www.bizmandu.com

अमेरिकामा रहेका १४ हजार ५०० नेपालीलाई फाइदा हुनेगरी टिपिएस पुन: स्थापित

२०८० जेठ ३१

अमेरिकामा रहेका १४ हजार ५०० नेपालीलाई फाइदा हुनेगरी टिपिएस पुन: स्थापित
अमेरिकामा रहेका १४ हजार ५०० नेपालीलाई फाइदा हुनेगरी टिपिएस पुन: स्थापित


अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अमेरिकामा बसिरहेका नेपालीहरुलाई ‘टेम्प्रोअरी प्रोटेक्सन स्ट्याटस’ (टिपिएस) पुन: दिने निर्णय गरेको छ। यो व्यवस्था अन्तर्गत अब अमेरिकामा बस्दै आएका १४ हजार ५०० जना नेपालीले त्यहाँ बस्नका लागि कानुनी रुपमा निवेदन दिन पाउने भएका छन्।

Tata
GBIME
NLIC

डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उनले नेपालसहित एल साल्भाडोर, होन्डुसर र निकारगुवाका नागरिकलाई प्रदान गरिँदै आएको टिपिएस व्यवस्था हटाएका थिए। सो निर्णयको विरुद्धमा नेपालीहरुले अमेरिकामा प्रदर्शनसमेत गरेका थिए। उनीहरुले ट्रम्प प्रशासनविरुद्ध मुद्दा पनि दर्ता गरेका थिए।

ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै चार देशका नागरिकलाई फेरि टिपिएस व्यवस्थाभित्र राखिएपछि अमेरिकामा बसिरहेका लाखौं मानिसलाई राहत मिलेको छ। होमल्याण्ड सेक्युरिटीले १८ महिनाका लागि टिपिएस व्यवस्थाअन्तर्गत चार देशका नागरिकलाई अमेरिकामा बस्न आवेदन दिनका लागि सुविधा दिएको हो। यो व्यवस्थासँगै चार देशका ३ लाख ३७ हजार आप्रवासीलाई राहत मिलेको छ। अब उनीहरुलाई जबर्जस्ती अमेरिकाबाट निकाल्न सकिने छैन।

‘टेम्पररी प्रोटेक्सन स्ट्याटस विस्तारसँगै अमेरिकामा बस्दै आइरहेका तर प्राकृतिक विपदका कारण आफ्नो देश फर्किन नसकेका एल साल्भाडोर, होन्डुरस, नेपाल र निकारागुआका नागरिकले निरन्तर सुरक्षा र प्रदान गर्न सक्षम भएका छौं,’ मंगलवार होमल्याण्ड सेक्युरिटीका अलेज्यान्ड्रो मेयरकासले भने।

एल साल्भाडोरबाट अमेरिकामा आएर बसिरहेका २ लाख ३९ हजार मानिस यस सुविधासँगै लाभान्वित हुनेछन्। उनीहरुले सन् २०२५ को मार्च ९ सम्म अमेरिकामा कानुनी रुपमा बस्न आवेदन दिन सक्नेछन्।

होन्डुरसबाट यो सुविधाको लाभ ७६ हजार व्यक्तिले पाउनेछन्। उनीहरुले टिपिएस अन्तर्गत सन् २०२५ को जुलाई ५ सम्म आवेदन दिन सक्नेछन्।

नेपालबाट अमेरिकामा गएर बस्दै आएका १४ हजार ५०० जना यो सुविधाबाट लाभान्वित हुनेछन्। उनीहरुले सन् २०२५ को जुन २४ सम्म टिपिएसमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ। निकारागुवाका चार हजार जनाले सन् २०२५ को जुलाई ५ सम्म आवेदन दिन सक्नेछन्।

यसरी सुविधा पाउने व्यक्तिहरुले नाम दर्ता गराउन योग्यता, टाइमलाइन र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। त्यो सार्वजनिक हुन बाँकी छ।

नेपालबाट सन् २०१५ जुन २४ पछि अमेरिका पुगेकाहरुले भने टिपिएस सुविधा पाउने छैनन्। यस्तै, सन् २००१ फेब्रुअरी १३ पछि एल साल्भाडोरबाट अमेरिका पुगेका र सन् १९९८ डिसेम्बर ३० पछि होन्डुरस र निकरगुवाबाट अमेरिका पुगेकाले यो सुविधाका लागि आवेदन दिन पाउने छैनन्।

के हो टिपिएस ?

अमेरिका सरकारले सशस्त्र द्वन्द्व, प्राकृतिक प्रकोप वा अन्य कुनै कारणले आफ्नो देशमा सुरक्षित नभएका व्यक्तिहरुलाई आफ्नो देश फर्किने अवस्था नआउँदासम्म अमेरिकामा कानुनीरुपमा बस्न र काम गर्ने दिने व्यवस्था गरेको छ।

यो स्टाटस अल्पकालीन भए पनि नवीकरण गर्न सकिन्छ। त्यस्तै केही आप्रवासीहरुले आफ्ना सन्तान अमेरिकामै जन्मिएका र उनीहरुले घर खरीद गरिसेको तथा करियर बनाइरहेको भन्दै उतै बस्न चाहन्छन्।

यस्तो कार्यक्रममा सहभागी हुन चाहने (वर्गीकरण गरिएका देशहरुका) आप्रवासीहरुले अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टमा निवेदन दिनुपर्छ। डिपार्टमेन्टले निवेदन अध्ययन गरी टिपिएसको अनुमति दिन सक्छ।

त्यस्तै यो व्यवस्था डिपार्टमेन्टले ६ देखि १८ महिनाका लागि नवीकरण गर्नुपर्छ। उनीहरुले नवीकरणका लागि आवश्यक शुल्क र कारणसहितको प्रमाण म्याद सकिनु अगाडि नै दर्ता गर्नुपर्छ।

ट्रम्प प्रशासनले यस्तो व्यवस्था नेपाल र होन्डुरसका लागि अन्त्य गर्ने घोषणा सन् २०१८ मा गरेको थियो। नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि १४ हजार ५०० जना आप्रवासीहरुले यो सुविधा लिएका थिए।

त्यस्तै होण्डुरसमा सन् १९९८ मा गएको विनासकारी हुरिकनपछि उनीहरुका लागि यो व्यवस्था गरिएको थियो। त्यसयता ८६ हजार होण्डुरसका नागरिकले अमेरिकामा यो सुविधा लिएका थिए।

यो सुविधा लिएकाबाट ५० हजार सन्तान अमेरिकामै जन्मिएका छन्। टिपिएस अन्त्यसँगै उनीहरु पनि प्रभावित थिए।

लामो समयदेखि दिइँदै आएको यो सुविधाबाट आश्रित भएकाहरु ६ लाख २० हजारको हाराहारीमा रहेको बताइन्छ। यो संख्याले टिपिएस पाएका आप्रवासीहरु ४ लाख ४८ हजार र उनीहरुका सन्तानहरु २ लाख ७९ हजार छन्। यी सन्तानहरु १८ वर्षमुनिका अमेरिकी नागरिक पनि हुन्। ट्रम्प प्रशासनको यो निर्णयले आप्रवासी नागरिकका अमेरिकामा जन्मिएका उनीहरुका सन्तानहरु बिछोडिने खतरा बढेको थियो।