BIZMANDU
www.bizmandu.com

हाइमास्ट तथा सडक बत्तीबाट बेथान र मन्थली झिलिमिली, ५ वर्ष व्यवसायीले मर्मत गर्ने

२०८० जेठ २९

हाइमास्ट तथा सडक बत्तीबाट बेथान र मन्थली झिलिमिली, ५ वर्ष व्यवसायीले मर्मत गर्ने
हाइमास्ट तथा सडक बत्तीबाट बेथान र मन्थली झिलिमिली, ५ वर्ष व्यवसायीले मर्मत गर्ने

काठमाडौं। रामेछापको सदरमुकाम मन्थली र सुनापति गाउँपालिका-४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ।

Tata
GBIME

नेपाल विद्युत प्राधिकरणले स्थानीय पालिकाहरुसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य-मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ती राखेको छ।

बत्ती राखेपछि रातिको समयमा ती क्षेत्रहरु झिलिमिली बनेका छन्। मन्थली नगरपालिकामा पर्ने करिब ६ किलोमिटर सहरी क्षेत्रमा कम विद्युत खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त १७० वटा सडक बत्ती जडान गरिएको छ। जसमा ६० वाटका एस्ट्रो लाइट १९ वटा, ६० वाटकै स्मार्ट लाइट ८० वटा र ९० वाटका स्मार्ट लाइट ७१ वटा जडान गरिएको छ।

बसपार्क र बिनिता चोकमा १२.५ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको छ। कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने वत्ती जडान गरिएको हो। सडक बत्तीको लागत एक करोड ५६ लाख रुपैयाँ रहेको छ।

यसैगरी, सुनापति गाउँपालिकाको बेथान क्षेत्रमा ३३१ स्मार्ट लाइट जडान गरिएको छ। जसमा ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमशः १४८ र १८३ वटा रहेका छन्।  १२.५ मिटर अग्लो पोलमा ३ वटा हाइमास्ट लाइट जडान गरिएको छ। सडक बत्तीको लागत २ करोड रुपैयाँ रहेको छ।

मन्थली क्षेत्रमा जडान गरिएको सडक बत्तीको प्राधिकरणका प्रबन्ध  निर्देशक कुलमान घिसिङ र नगरपालिकाका प्रमुख लब श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए। बेथानमा जडान गरिएको बत्तीको कार्यकारी निर्देशक घिसिङ र सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

कार्यक्रममा प्रबन्ध निर्देशक घिसिङले विद्युत पुगेका ठाउँमा भइरहेको लोडसेडिङको अन्त्यपछि अहिले २४ सै घण्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा विद्युत पुर्‍याउने काम अभियानकै रुपमा भइरहेको बताए। ‘देशभित्र उत्पादित विद्युत यही खपत गर्ने, हिउँदमा माग अनुसार अपुग रहेको विद्युत् पुग्ने गरी जलविद्युत आयोजनाहरु बनाउने र वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत निर्यात गर्ने रणनीतिका साथ अगाडि बढेका छौं’, घिसिङले भने।