BIZMANDU
www.bizmandu.com

भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्दै एनएसी, मंगलबारदेखि मलेसिया-भैरहवा उडान

२०८० जेठ २९

भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्दै एनएसी, मंगलबारदेखि मलेसिया-भैरहवा उडान
भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्दै एनएसी, मंगलबारदेखि मलेसिया-भैरहवा उडान

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको एक वर्षपछि नेपाल वायुसेवा निगमले मंगलबारबाट नियमित उडान सुरु गर्ने भएको छ।

Tata
GBIME

काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं रुट अन्तर्गत निगमले साताको एक दिन उडान गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हंसराज पाण्डेले बताए।

‘भोलि विहान ७:३० बजे निगमको न्यारोबडी जहाज विमानस्थलमा अवतरण हुनेछ। पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागतको तयारी गरिसकेका छौं,’ प्रमुख पाण्डेले भने,’भोलि यो जहाज यहाँ अवतरण गरेर पुनः काठमाडौं फर्कनेछ।’

सुरुमा साताको एक दिन उडान तालिका बनाएको निगमले यात्रु माग अनुसार उडान संख्या विस्तार गर्ने योजना बनाएको उनले जानकारी दिए।

हाल निगमले आफूसँग भएको  दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी गरी कुल चारवटा ठूला जहाजमार्फत काठमाडौं बेस रही दिल्ली, दोहा, बैंगलोर, दुबई, साउदी अरेबिया, मुम्बई, थाइल्याण्ड, मलेसिया, हङकङ लगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

जजिरापछि निगमको व्यवसायिक उडानसँगै भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या दुई पुग्नेछ।

विमानस्थल प्रमुख पाण्डेका अनुसार कम्बोडिया र म्यान्मारले पनि यो विमानस्थलमा नियमित उडान लागि बजार अध्ययन सुरु गरिसकेका छन्। बौद्ध धर्मावलम्बी रहेका दुवै मुलुकले लुम्बिनीलाई केन्द्रित गर्दै व्यवसायिक उडानको तयारी सुरु गरेको उनले जानकारी दिए।