काठमाडौं। सेयर बजार सूचक (नेप्से) ४.६८ अंकले बढेर १९३२.३३ बिन्दुमा उक्लिएको छ। दिनभरीमा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँको किनबेच भएको छ।
हिजो मंगलबार बजार २५ अंकले बढेर १९२७ बिन्दुमा बन्द भएको थियो। बुधबार त्यो बिन्दुबाट २३ अंक बढेर १९५० बिन्दुसम्म पुगेको बजार त्यसयता निरन्तर तल आएको थियो।
बजारमा तीव्र उतारचढाव आउँदा आज कारोबारमा पनि सुधार देखिएको छ। आज दिनभरको कारोबार रकम सवा दुई अर्ब नाघेको हो।
कारोबारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा छ। कम्पनीको १० करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। सोल्टी होटल कारोबारका आधारमा शीर्ष स्थानमा आएको यो निकै पछि हो।
होटलले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा उल्लेख्य रुपमा नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको थियो। त्यसै वित्तीय विवरणपश्चात होटलको सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको थियो। कम्पनीको सेयर मूल्यले निकैपछि प्रतिकित्ता ३६० रुपैयाँसम्म पुगेपछि सेयर बिक्री बढेको हो।
गत जेठ ३ गतेयता यस कम्पनीको सेयर मूल्य ४१ प्रतिशतले बढिसकेको छ।
तसर्थ नाफा बुक गरेर निस्किने लगानीकर्ता बढ्दा आज यस कम्पनीको सेयर कारोबार बढेको हो। अन्तत: यस कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ५ रुपैयाँ घटेर ३४३ रुपैयाँमा आएको छ।
यस्तै शिवम् सिमेन्टको पनि ८ करोड बराबरको सेयर कारोबार भएको छ। एफपीओ जारीको प्रक्रियामा रहेको युनिक नेपाल लघुवित्तको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १२३ रुपैयाँ बढेको छ।
आज साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य पनि प्रतिकित्ता २१९ (५.४२%) रुपैयाँ बढेको छ।