BIZMANDU
www.bizmandu.com

महतले पेस गरेको बजेटलाई ओलीले दिए ‘जिरो’ नम्बर, सोधे-‘मन्त्रालयमा टाइप गर्ने छैनन्?’

२०८० जेठ २३

महतले पेस गरेको बजेटलाई ओलीले दिए ‘जिरो’ नम्बर, सोधे-‘मन्त्रालयमा टाइप गर्ने छैनन्?’
महतले पेस गरेको बजेटलाई ओलीले दिए ‘जिरो’ नम्बर, सोधे-‘मन्त्रालयमा टाइप गर्ने छैनन्?’


काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि करको दर हेरफेर गरेको प्रकरणमा संलग्नता रहेकोबारे प्रश्न गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा ओलीले करको दर हेरफेरमा अर्थमन्त्रीको संलग्नताबारे प्रश्न गरेका हुन्।

Tata
GBIME

‘अर्थमन्त्री ज्यू, यहाँको कति हात छ? तपाईं मातहत को कति?’ उनले प्रश्न गरे।

‘को को बस्ने भनेर मेरो सरकारले निर्णय गरेको’

ओलीले आफू नेतृत्वको सरकारले २०७५ मै को-को व्यक्ति बजेट बनाउँदा बस्न पाइन्छ भनेर मापदण्ड बनाएको बताए। उनले पूर्व नायब सुब्बा रामकृष्ण श्रेष्ठलाई नियुक्ति दिनुको कारण पनि मागेका छन्।

‘फागुनमा किन नियुक्ति गरेको? बजेट बनाउन गरेको,’ ओलीले भने। 

श्रेष्ठलाई अनधिकृत रुपमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै एमालेलगायत विपक्षी दलले आरोप लगाएका थिए। अर्थमन्त्री महतले भने श्रेष्ठको दक्षतामात्रै उपयोग गरेको र निर्णय प्रक्रियामा उनको संलग्नता नरहेको स्पष्टीकरण दिएका थिए।

टाइप गर्ने मान्छे छैन?

ओलीले रामकृष्ण श्रेष्ठलाई बजेट निर्णय प्रक्रियामा निरन्तरता दिनु दुःखद भएको बताएका छन्।

‘अर्थमन्त्रालयमा टाइप गर्ने मान्छे छैन? लोकसेवा आयोगले कम्पिटिसन गरेर लिन्छ। ट्रेनिङ गरेर तीन महिनामा तयार गराउन सकिन्छ,’ ओलीले भने।

महतले श्रेष्ठ लामो समयदेखि अनुभवी व्यक्ति भएकाले ‘इन्ट्री’ गर्ने भूमिकामा राखेको बताएका थिए। 

अर्थमन्त्रालय विश्वास गर्न लायक छैन

ओलीले अर्थ मन्त्रालय विश्वास गर्न लायक मन्त्रालय नभएको टिप्पणी गरे। उनले गत वर्ष पनि अहिलेकै प्रकरण जस्तै दृश्य देखिएको बताए। गत वर्ष अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेको थियो।

ओलीले महतले प्रस्तुत गरेको बजेटलाई ‘फेल’ भन्दै त्यसलाई ‘जिरो नम्बर’ दिने बताए।