BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीले भने: श्रेष्ठले टाइपमात्रै गरेका हुन्, निर्णय प्रक्रियामा संलग्न छैनन्

२०८० जेठ २३

अर्थमन्त्रीले भने: श्रेष्ठले टाइपमात्रै गरेका हुन्, निर्णय प्रक्रियामा संलग्न छैनन्
Nepal BUDGET 2080-81 Finance Minister Dr. Prakash Sarad Mahat walks for the speech of new government's budget for the fiscal year 2023-24 at the Parliament House in Kathmandu, Nepal on Sunday 29 May 2023. The Nepal government has unveiled a budget of Rs17 Kharba 51 arba for the fiscal year 2023-24. Photo-Prabin Ranabhat


काठमाडौं।अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरुले करको दर हेरफेर गरेको आरोप लगाएपछि उनले स्पष्टीकरण दिएका हुन्। 

Tata
GBIME
NLIC

महतले बजेट निर्माणमा पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठले सहयोगीको भूमिका मात्रै निभाएको बताए। उनले निर्णय प्रक्रियामा उनको सहभागिता नभएको दाबी गरे।

‘टाइप गर्न त सहयोगी चाहियो। यो सहयोग गर्ने क्रममा म आउने भन्दा अगाडि नै रामकृष्ण श्रेष्ठ नियुक्त हुनुभएको छ। उहाँ अनुभवी दक्ष भनेर रिकोग्नाइज व्यक्ति हो,’ उनले भने। 

विपक्षी दलका सांसदहरुले श्रेष्ठको संलग्नतालाई अनधिकृत भन्दै महतसँग जवाफ मागेका थिए।

महतले मन्त्री भएयता बिचौलियालाई आफूले छेउमा पनि आउन नदिएको बताए। उनले आफू अर्थमन्त्री हुँदा नै पारदर्शी हुने वाचा गरेको बताए।

‘आधिकारिक व्यक्तित्वले निर्णय गरेको करको दर निर्णय प्रक्रियामा बसेका पदाधिकारीको आदेशमा भर्नका लागि वर्षौंदेखि यो काम लगातार गर्दै आउनुभएको छ। मभन्दा अगाडिको अर्थमन्त्रीले पनि आवश्यकता छ भनेर नियुक्त गरियो,’ श्रेष्ठको बचाउमा महतले भने।

महतले श्रेष्ठले बजेटबारे उनलाई दिइएको निर्देशन ‘टाइप’ गर्ने काम मात्रै गरेको बताए।

‘निर्णय प्रक्रियामा उहाँ कहिँ कतै हुनुहुन्न। उहाँले इन्टर गर्ने काम मात्रै गर्नुभएको हो,’ उनले भने।

आफू इमान्दारितामा एक इन्च पनि नहल्लिएको महतको भनाइ थियो। 

‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन। भेष्टेड इन्टरेष्ट भएकाहरु पछि लागेका छन्। कुरा यहि हो,’ उनले भने।