काठमाडौं। बर्तमान कार्य समितिका उपाध्यक्ष गणेश कार्कीले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
होटल रोयल सिंगीमा आयोजित एक कार्यक्रमबीच उनले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनले उम्मेदवारीका लागि प्यानल नै बनाइरहेका छन्। उनको प्यानलबाट मोहन डाँगी वरिष्ठ उपाध्यक्षमा उठ्दैछन्। उनी अहिले कार्यसमितिमा उपाध्यक्ष रहेका छन्।
महासचिवमा बलराम खतिवडाले उम्मेदवारी दिँदैछन्। केहि दिनमै पुरै प्यानल घोषणा गर्ने कार्कीले बताए। त्यसैको गृहकार्यमा लागेको उनको भनाई छ।
जेठ ३२ गतेको साधारणसभाले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ। डाँगी पनि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा थिए। तर आफ्नो बिजनेस पार्टनर समेत रहेका कार्कीले अध्यक्षमा उम्मेदवारी दिने भएपछि पछि हटेका हुन्।
‘स्वभाविक रुपले अध्यक्षको उम्मेदवारी दिने तयारीमा थिए। गणेशजी र म एउटा आयोजनामा पार्टनर छौं। ३० वर्ष हामी सहकार्य गर्नुपर्छ। इप्पानमा ३ वर्ष नेतृत्व गर्ने हो,’ डाँगीले भने, ‘गणेशजीको अध्यक्षतामा प्यानल बनाएर लागेका छौं।’

कार्की सिंगटी हाइड्रोपावर, बेनी हाइड्रोपावर, अपर खुदी हाइड्रोपावरमा प्रबन्ध निर्देशकका रुपमा कार्यरत छन्। सिंगटी हाइड्रोपावरले दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरेको छ। पिपुल्स हाइड्रोपावरका निर्देशक समेत छन्।
उनीसंग किरण मल्ल अध्यक्ष पदमा भिड्दैछन्। मल्लले पनि उम्मेदवारी घोषणा गरेर चुनावी तयारीमा थालिसकेका छन्। मल्ल इप्पानको कार्य समिति सदस्यमा निर्वाचित भइसकेका छन्। मल्ल हाइ हिमालयन हाइड्रोका अध्यक्ष हुन्। उनी युनियन मेवा हाइड्रोमा पनि अध्यक्ष छन्। उनीसंग बुटवल पावर कम्पनी लिमिटेडमा समेत काम गरेको अनुभव छ।