BIZMANDU
www.bizmandu.com

मुग्लिनदेखि पोखरा जाने बाटोको पूर्वी खण्डमा कालोपत्रे सुरु, ‘जतिसक्दो गर्दै जाने हो’

२०८० जेठ २१

मुग्लिनदेखि पोखरा जाने बाटोको पूर्वी खण्डमा कालोपत्रे सुरु, ‘जतिसक्दो गर्दै जाने हो’
मुग्लिनदेखि पोखरा जाने बाटोको पूर्वी खण्डमा कालोपत्रे सुरु, ‘जतिसक्दो गर्दै जाने हो’

डुम्रे। पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ। आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो।

Tata
GBIME
Nepal Life

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार, दुई लेनको सडकलाई चार लेन बनाउने क्रममा पहिलो चरणमा दुई लेन कालोपत्र गर्न सुरु गरिएको छ। 

‘पहिलो चरणको परीक्षण सकिएपछि कालोपत्र सुरु गरेका हौँ, कालोपत्र गर्दै जाने हो, यति नै गर्नेछौँ भन्ने छैन, माटोअनुसारको कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै कालोपत्र गर्नेछौैँ’, प्रमुख सुवेदीले भने। 

चालु आर्थिक वर्षमा सात किलोमिटर पूरा गर्ने गरी कालोपत्र गर्न थालिएको उनले जानकारी दिए। 

यस खण्डमा सडक विस्तारअन्तर्गत सत्रसय क्षेत्रमा कालोपत्र र अन्य क्षेत्रमा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो कटान तथा खाल्टा पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको उनले बताए।

पूर्वी खण्डको निर्माणका लागि विसं २०७७ माघ १७ मा सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। करिब ४१.४५ किलोमिटर यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। 

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ। 

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ मा सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ। यस खण्डको म्याद २०८१ भदौसम्म रहेको छ। विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउने कार्य तीव्रताका साथ भइरहेको छ। 

पूर्वी खण्डको ६ अर्ब २१ करोड रुपैयाँ र पश्चिम खण्डको ७ अर्ब ४० करोड रुपैयाँमा ठेक्का लागेको छ। सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र तथा बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक निर्माण हुनेछ। 

सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक निर्माण हुनेछ। दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ।