काठमाडौं। म्युचुअल फन्डहरुको न्याभ भ्यालु (प्रति इकाइ खुद सम्पत्तिको मूल्य) नै कम हुन थालेपछि दोस्रो बजारमा निकै सस्तोमा पाइन थालेको छ।
लगानीकर्तासँग लगानीयोग्य रकम नहुँदा अंकित मूल्य भन्दा निकै तल म्युचुअल फन्डहरुको कारोबार दोस्रो बजारमा भइरहेको छ। न्याभ भ्यालु घटेर आउँदा इकाईहरु प्राथमिक निष्कासनमा भन्दा सस्तो भएको हो।
सेयर बजार वियरिस ट्रेण्डमा रहँदा पछिल्लो लामो समय यता बजार पनि निकै तल्लो विन्दुमा छ। म्युचुअल फन्डहरुको ठुलो लगानीको हिस्सा सेयर बजारमा भएकाले बजारको सामान्य उतारचढावले पनि योजनाहरुको आम्दानीमा ठुलो झड्का लाग्छ।
अहिले दोस्रो बजारमा सूचीकृत भएका म्युचुअल फन्डहरुको बजार मूल्य न्याभ भ्यालु भन्दा तल छ। न्याभ भन्दा बजार मूल्य कम भएमा सो फन्ड सस्तो भने थाहा पाउन सकिन्छ।
हाल हरेक वर्ष जसो राम्रो प्रतिफल वितरण गर्दै आइरहेका म्युचुअल फन्डहरुको कारोबार डिस्काउन्ट रेटमा नै भइरहेको छ। यसकारण म्युचुअल फन्डहरु प्राथमिक बजारमा भन्दा दोस्रो बजारबाट किन्नु निकै राम्रो समय हो।
हाल सूचीकृत रहेको योजनाहरु मध्य १० बन्दमुखी योजनाको बजार मुल्य प्रति इकाइ ७ रुपैयाँको हाराहारीमा रहेको छ।
पछिल्लो तथ्यांक अनुसार यी योजनाहरु मध्य सानिमा लार्ज क्याप फन्ड योजनाको प्रति इकाइ मूल्य ७.२० रुपैयाँ छ। यस्तै आरबीबी म्युचुअल फन्ड -१ को ७.२१ रुपैयाँ, सनराइज ब्लूचिपको ७.२७ रुपैयाँ, नविल ब्यालेन्स फन्ड-३ को ७.२८ रुपैयाँ, मेगा म्युचुअल फन्ड -१ को ७.३१ रुपैयाँ, नविल समृद्धि फन्ड -२ को ७.४४ रुपैयाँ र सिटिजन्स म्युचुअल फन्ड -१ को ७.६३ रुपैयाँ कारोबार मूल्य रहेको छ।
यी योजनाहरुको न्याभ भ्यालु पनि करिब ८ रुपैयाँको हाराहारीमा रहेको छ।
यस्तै एनआइसी एसिया फ्लेक्सी क्याप फन्डका इकाइहरु ७.७७ रुपैयाँ, सनराइज फोक्स्ड इक्विटी फन्डको ७.९३ रुपैयाँ र एनआइसी एसिया सेलेक्ट -३० को ७.९८ रुपैयाँमा कारोबार भइरहेका छन्।
यी योजनाहरुको न्याभ भ्यालु भने प्रति इकाइ ९ रुपैयाँ रहेको छ।
म्युचुअल फन्डहरु नोक्सानीमा छन् ?
गत वैशाख महिनामा वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश योजनाहरु नोक्सानीमा रहेका छन्।
वित्तीय विवरण सार्वजनिक गरेका ३४ योजाहरु मध्ये २७ बन्दमुखी सामुहिक योजनाहरु वैशाख महिनामा नोक्सानीमा गएका हुन्।
यी योजनाहरु मध्य सबैभन्दा बढी नोक्सानीमा लक्ष्मी इक्विटी फन्ड रहेको छ। लक्ष्मीको वैशाखमा २४ करोड नोक्सानीमा रहेको छ।
यस्तै सिद्धार्थ इक्विटी ९ करोड ८३ लाख, ग्लोबल आईएमई ब्यालेन्स फन्ड-(१) ९ करोड ३० लाख, लक्ष्मी उन्नति कोष ८ करोड ८१ लाख, नविल ब्यालेन्स्ड फन्ड(२) ७ करोड ३४ लाख नोक्सानीमा रहेको छ।
एनआइसी एसिया क्यापिटलका लगानी प्रमुख तथा सुचना अधिकारी दामोदर रायमाझीका अनुसार थुप्रै योजनाहरु लगानी दोस्रो बजारमा आएको गिरावटसंगै नाफा र न्याभ भ्यालु घटेको हो।
‘सूचीकृत भएका योजना दोस्रो बजारमा नै लगानी हुँदा सेयर बजार घट्दाको असर देखिएको हो,’उनले भने,’नेप्से माथि हुँदा किनिएको सेयर बजार घट्दा बेच्न मिलेको छैन। त्यसैले न्याभ पनि कम देखिएको छ। बजार सुधार हुनेवित्तिकै न्याभ र नाफा दुबै बढ्छ।’
वैशाखमा ७ योजना नाफामा छन्। नाफामा रहेका योजनाहरुमा एनआइसी एसिया ग्रोथ फन्ड, प्रभु सेलेक्ट फन्ड, कुमारी धनबाराही योजना, एनआइसी एसिया ब्यालेन्स फन्ड, सनराइज फष्ट म्युचुअल फन्ड, सनराइज ब्लूचिप फन्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड -२ रहेका छन्।
वैशाखमा नाफामा देखिएका यी योजनाहरुको नाफा चैतको तुलनामा घटेको हो।