BIZMANDU
www.bizmandu.com

सांसद विकास कोष ब्युँताएपछि बालेनको टिप्पणी- ‘बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनुभयो’

२०८० जेठ १६

सांसद विकास कोष ब्युँताएपछि बालेनको टिप्पणी- ‘बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनुभयो’
सांसद विकास कोष ब्युँताएपछि बालेनको टिप्पणी- ‘बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनुभयो’

काठमाडौं। सांसद विकास कोष ब्युँताउदा अर्थमन्त्री डा. प्रकाशशरण महतको विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ। त्यसैमाथि काठमाडौं महानगरपालिकाका मेयर  बालेन्द्र शाह (बालेन)ले पनि थपेका छन्। उनले ‘सांसदहरु बल्ल वडाध्यक्षको स्तरमा आइपुगेको’ भन्दै कटाक्ष गरेका हुन्।

Tata
GBIME
Nepal Life

उनले सामाजिक संजालमा ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनुभयो। वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्यूहरु’ भन्दै लेखेका छन्। सरकारले आगामी आर्थिक वर्ष बजेटमा सांसद विकास कोषका लागि बजेट छुट्याएको छ। हरेक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

अर्थमन्त्री डा. महतले जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकता जनप्रतिनिधिमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा प्रस्ताव गरेका छन्। एउटा कार्यक्रमका लागि न्यूनतम १ करोड रुपैयाँ विनियोजन हुने गरी सडक, सिंचाई, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका भौतिक पूर्वाधार निर्माणका आयोजना तथा कार्यक्रम छनोट गरिनेछ।

यो कार्यक्रमका लागि अर्थमन्त्री महतले ८ अर्ब २५ करोड रुपैयाँ छुट्याएका छन्। सांसदलाई बजेट छुट्याएर बजेटका राम्रा पक्ष छायामा परेका छन्।