BIZMANDU
www.bizmandu.com

निक ट्रान्सफर्मर अन्तर्राष्ट्रिय बजारमा, कोरोना महामारीपछि भुटान निर्यात सुरु

२०८० जेठ १०

निक ट्रान्सफर्मर अन्तर्राष्ट्रिय बजारमा, कोरोना महामारीपछि भुटान निर्यात सुरु
निक ट्रान्सफर्मर अन्तर्राष्ट्रिय बजारमा, कोरोना महामारीपछि भुटान निर्यात सुरु

काठमाडौं। ‘नेपाल ईकरात इन्जिनियरिङ कम्पनी लिमिटेड (निक)’ ले पुनः भुटानमा ट्रान्सफर्मर निर्यात सुरु गरेको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको अन्त्य भएपछि ३ वर्षदेखि रोकिएको निर्यात कम्पनीले सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

कोरोना महामारीको अन्त्यसँगै विद्युतीकरणको काममा तीव्रता आएपछि भुटान पावर कर्पोरेशन लिमिटेड (बीपीसी)ले ट्रान्सफर्मर खरिदका लागि ठेक्का आह्वान गरेको थियो। त्यसमा भारतलगायतका विभिन्न देशलाई पछि पार्दै निक बोलपत्रमा छनोट भएको थियो।

ठेक्का पाएअनुसार ट्रान्सफर्मर उत्पादन गरी निर्यात सुरु भइसकेको कम्पनीका प्रबन्ध संचालक कुशकुमार जोशीले बताए। ठेक्का सम्झौता अनुसार १४ करोड १४ लाख ३८ हजार रुपैयाँ (१० लाख ७१ हजार अमेरिकी डलर) बराबरको १५ केभीएदेखि १२५० केभीए क्षमतासम्मका १६० ट्रान्सफर्मरहरूको निर्यात सुरु भएको उनले बताए।

‘अन्तर्राष्ट्रिय बजारमा पनि नेपालमा उत्पादित वस्तुहरूको प्रतिस्पर्धा छ’, उनले भने, ‘नेपाली उद्योगले समेत निर्यात क्षेत्रबाट पर्याप्त विदेशी मुद्रा आर्जन तथा देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्न सक्छ।’ सरकारले निर्यात करमा छुट दिएमा तथा अन्य सहुलियत प्रदान गरेमा भुटान लगायत दक्षिण एसियाली मुलुकमा समेत ट्रान्सफर्मर निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने उनको भनाइ छ।

स्वदेशी बजार विस्तार गर्नुका साथै विदेश निर्यातमा समेत फराकिलो सम्भव्यता अध्ययन गरिरहेको जोशीले जानकारी दिए। निक र बीपीसीसबीच ट्रान्सफर्मर निर्यात गर्ने विषयमा २०७९ साल मंसिर २ गते (२०२२ नोभेम्बर १८) ठेक्का सम्झौता भएको थियो।

सम्झौतामा सन् २०२३ मार्चभित्र निर्यात गर्नुपर्ने सर्त थियो। निकले यसअघि भुटानसहित बंगलादेशमा पनि यहाँ उत्पादित ट्रान्सफर्मर निर्यात गर्दै आएको थियो। निकले प्राधिकरणका विभिन्न ठेक्कामा १० हजार वितरण ट्रान्सफर्मर बिक्री गर्न ठेक्का पाएकोमा अहिलेसम्म ७ हजार हस्तान्तरण गरिसकेको जानकारी दिएको छ।

वार्षिक १० हजार थान ट्रान्सफर्मर उत्पादन क्षमता रहेको निकले स्वदेशभित्र ग्रामीण विद्युतीकरण, जलविद्युत आयोजना निर्माण क्षेत्र, सामुदायिक तथा सार्वजनिक संस्थाहरूसम्म ट्रान्सफर्मर व्यवसायको पहुँच पुर्‍याएको छ। निकले सन् १९९२देखि ट्रान्सफर्मर उत्पादन र बिक्री गर्दै आएको छ।