BIZMANDU
www.bizmandu.com

भारतमा एप्पलपछि अब विद्युतीय गाडी निर्माता टेस्लाको इन्ट्री, कारखाना खोल्न प्रस्ताव गर्‍यो

२०८० जेठ १०

भारतमा एप्पलपछि अब विद्युतीय गाडी निर्माता टेस्लाको इन्ट्री, कारखाना खोल्न प्रस्ताव गर्‍यो
भारतमा एप्पलपछि अब विद्युतीय गाडी निर्माता टेस्लाको इन्ट्री, कारखाना खोल्न प्रस्ताव गर्‍यो

काठमाडौं। इलन मस्कको विद्युती कार निर्माता कम्पनी टेस्लाले भारतमा कारखाना खोल्न प्रस्ताव गरेको छ। भारतबाट फोर्ड, जनरल मोटर्स जस्ता ठूला अटो कम्पनी बाहिरिदा इभी निर्माता टेस्ला आफ्नो उत्पादन प्लान्ट लगाउने तयारीमा छ।

Tata
GBIME
Nepal Life

रोयटर्सका अनुसार कार निर्माता कम्पनीका उच्च अधिकारीले केही दिन अगाडि भारतीय सरकारी अधिकारीहरूलाई भेटी भारतमा बिक्री र निर्यातका लागि विद्युतीय कार निर्माण गर्न भारतमा कारखाना स्थापना गर्ने प्रस्ताव गरेको हो।

चीन र अमेरिकाबीच बढ्दो भूराजनीतिक तनावका कारण बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन र आपूर्ति श्रृंखलाको लागि वैकल्पिक आधार खोजिरहेका छन्। विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारत स्मार्टफोनदेखि विद्युतीय सवारीसाधनसम्मका उत्पादनहरूको बढ्दो मागको बीचमा अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि आकर्षक बजारका रुपमा देखिएको छ।

केही अघि विश्वका ठूला मोटर उत्पादक कम्पनीहरु भारतबाट धमाधम बाहिरिएपनि टेस्लाले यहाँ कारखाना खोल्न चाहनु अन्य ब्राण्डहरुका लागि पनि उत्साहपूर्ण हुनेछ।

पछिल्लो समय अमेरिकाको फोर्ड कम्पनीले भारत छाडेको थियो। यसैगरी फियाट चिर्यस्लर अटोमोबाइल एफसीए इन्डियाले पनि २०१९ देखि रन्जनगाउँमा रहेको प्लान्टमा फियाट ब्राण्डका गाडीहरु उत्पादन गर्न बन्द गर्यो। अमेरिकी मोटर कम्पनी जनरल मोटर्सले पनि २०१७ देखि भारतमा उत्पादन बन्द गरेका थियो। कोरियाको स्याङयोङ कम्पनी पनि सन् २०१६ मा भारतीय बजारबाट पलायन भएको थियो। यसबाहेक अमेरिकाको दुईपांग्रे मोटरसाइकल उत्पादक हार्ले डेभिडसनले पनि भारतमा आफ्नो उत्पादन बन्द गरेको छ।

तर चीनबाट अन्य स्थानमा बजार खोजिरहेको टेक जायन्ट एप्पलले हालै भारतमा आफ्नो आइफोन उत्पादनको प्लान्ट लगाएको छ। यस्तै इलेक्ट्रोनिक्स र अन्य सवारीसाधानमा आवश्यक पर्ने चिप उत्पादनको लागि पनि भारतमा फ्याक्ट्री खुल्ने क्रम बढेको छ।

टेस्लाका वरिष्ठ अधिकारीहरू पार्टपुर्जा खरिदलगायत कारखाना खोल्ने विषयमा सरकारी अधिकारीसँग छलफल गर्न भारत भ्रमणमा छन्। गतवर्ष नै टेस्लाले कारमा आयात कर कम गर्न भारतलाई आग्रह गरेपनि सरकारले उक्त आग्रह अस्वीकार गरिदिएको थियो। कर कम नभएपछि टेस्लाले भारतमा नै आफ्नो कारखाना खोल्न प्रस्ताव अघि सारेको हो।

भारतमा अहिले ४० हजार डलर मूल्यभन्दा माथिका गाडी आयात गर्दा १०० प्रतिशतसम्म कर लाग्छ जसले गर्दा भारतमा कारखाना नभएका ब्राण्डहरु मूल्य प्रतिस्पर्धामा महंगो सावित भएका छन्। यसैले पनि कार निर्माता टेस्लाले भारतमै कार उत्पादन गरी बजार परीक्षण गर्न चाहिरहेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इण्डिया’ अभियानका कारण पाउने विविध सहुलियतका कारण पनि कम्पनीहरु भारतमा कारखाना खोल्न इच्छुक देखिएका छन्। हाल भारत प्रवेश गर्न बढी इच्छुक ती कम्पनीहरु छन् जसले चीनभन्दा बाहिर आफ्नो आपूर्ति शृंखला विविधीकरण गर्न खोजिरहेका छन्।

मोदीको अमेरिका भ्रमणको केही हप्ता अघि टेस्लाका प्रतिनिधिहरुले प्रधानमन्त्रीकै कार्यालयका अधिकारीहरु तथा अन्य मन्त्रालयका अधिकारीहरूसँग भेटवार्ता गरेको बताइएको छ। प्रधानमन्त्री मोदी यही जुनमा अमेरिका भ्रमण गर्दै छन्।

भारत सरकारले आयात हुने कारमा लगाएको बढी करको मारमा परेको भन्दै टेस्लाले भारतमा कार बेच्ने योजना रोकेको लगभग एक वर्ष पूरा भएको छ। भारतमा जनसंख्या बढी हुँदै गएका कारण आफ्नो गाडीको लागि बजार बढ्दै गएको र चीनसँग केही लफडा भएपछि इलेक्ट्रिक कार निर्माता टेस्लाले भारतमा प्लान्ट लगाउन चासो देखाएको हो।

टेस्लाले भारतमै उत्पादन गर्दा भारत सरकारले दिने कर छुटको लाभ लिन आतुर रहेको बुझिएको छ। यो वर्षको अन्त्यसम्ममा टेस्लाले कारखाना स्थापनाको अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ। अहिले कम्पनीले कारखाना निर्माण गर्ने स्थान र शोरुमहरुको लागि ठाउँ खोजिरहेको छ। यस परियोजनाका लागि भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स जियोले पनि टेस्लासँग छलफल गरिरहेको छ। भारतमा ठूला औद्योगिक घरानाहरु नै यस्ता बहुराष्ट्रिय कम्पनीहरु आफ्नो देशमा भित्र्याउने अभियानमा सरकारलाई साथ दिइरहेका छन्।