BIZMANDU
www.bizmandu.com

ब्रोकर थपिने भएपछि ३० खर्बको कारोबार धान्ने प्रणालीलाई पनि स्तरोन्नति गर्दै सीडीएससी

२०८० जेठ १०

ब्रोकर थपिने भएपछि ३० खर्बको कारोबार धान्ने प्रणालीलाई पनि स्तरोन्नति गर्दै सीडीएससी
ब्रोकर थपिने भएपछि ३० खर्बको कारोबार धान्ने प्रणालीलाई पनि स्तरोन्नति गर्दै सीडीएससी


काठमाडौं। सेयर बजारको कारोबार ह्‍वात्तै बढ्ने भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले काठमाडौंबाट दिँदै आएको सेवा हेटौंडाबाट पनि दिने भएको छ। सर्भर प्रणालीमा हुने अत्यधिक ट्राफिक लोडलाई काठमाडौं र हेटौंडामा ५०/५० प्रतिशत विभाजन गर्ने सीडीएससीको योजना हो।

Tata
GBIME
Nepal Life

खासमा कम्पनीले व्यवसाय निरन्तरता योजना (बिजनेस कन्टिन्युटी प्लान) कार्यान्वयन गर्न लागेको प्रवक्ता सुरेश न्यौपानेले बताए। जसअन्तर्गत प्रधान कार्यालयबाट उपलब्ध गराउँदै आएको सेवालाई हेटौंडामार्फत् पनि दिने योजना हो।

‘जहिले पनि बजारको अवस्था यही रहँदैन। नयाँ ब्रोकर पनि थपिँदैछन्। सँगै नयाँ लगानीकर्ता पनि प्रवेश गर्ने अनुमान छ,’ उनले भने, ‘बीसीपीमार्फत लगानीकर्ताको जतिसुकै ठूलो जमात र उनीहरुको कारोबार धान्ने क्षमता बिस्तार हुन्छ। विपत्तिमा समेत चुस्त सेवा दिने हाम्रो लक्ष्य हो। सीडीएसको सेवा अवरुद्ध भएको अनुभूति समेत हुन नदिने तयारी गरिरहेका हौं।’

तयारी अनुसार अहिले हेटौंडामा अवस्थित कम्पनीको डिजास्टर रिकभरी (डीआर) साइटलाई स्तरोन्नति गर्दैछ। हाल यसलाई डाटा ब्याकअपको लागि मात्रै प्रयोग गरिरहेको छ। कम्पनीको प्राइमरी डाटा सेन्टर भने राष्ट्र सूचना प्रविधि केन्द्र (जीआइडीसी) मा छ। पुतलीसडकको कार्यलय कम्पनीको नजिकैको डीआर साइट हो। सीडीएसले दिने सेवाको अभिलेख तीनतिरै एकै पटक रियल टाइममा जान्छ।

‘बीसीपीमार्फत लगानीकर्ताको जतिसुकै ठूलो जमात र उनीहरुको कारोबार धान्ने क्षमता विस्तार हुन्छ। विपत्तिमा समेत चुस्त सेवा दिने हाम्रो लक्ष्य हो।

-सुरेश न्यौपाने, प्रवक्ता, सीडीएस एण्ड क्लियरिङ लिमिटेड

तर अब भने कम्पनीले जुनसुकै अवस्थामा पनि सेवा सुचारु राख्न प्रतिरक्षात्मक प्रणाली निर्माण गर्दैछ।  अहिले डिजास्टर रिकभरी प्लान भने सञ्चालन मै छ। यस अन्तर्गत जीआइडिसीमा रहेको ब्याकअपबाट पनि डाटा लस हुने अवस्था आयो भने डिजास्टर रिकभरी साइट मार्फत उपलब्ध हुन्छ। जुन हेटौंडामा अवस्थित छ। र अर्को काठमाडौंको प्रधान कार्यालय नै हो। त्यही भएर पनि डेटा लस हुँदैन। तर सेवा भने अवरुद्ध हुन सक्छ। जसलाई बीसीपी लागू गरी हल गर्ने कम्पनीको तयारी हो।

‘अहिले हेटौंडाको डीआर साइटमा नै फुल बीसीपी हुने गरी तयारी गरिरहेका छौं,’ न्यौपानेले भने,’पहिलो चरणको परीक्षण यही आर्थिक वर्षमै गर्ने हो। जुन सेवा काठमाडौंबाट उपलब्ध भएको छ, त्यो सबै हेटौंडाबाट सञ्चालन गर्ने योजना छ। यसलाई डीआर ड्रिल भनिन्छ।’

तर प्रधान कार्यालयको जति पूर्वाधार भने त्यहाँ छैन। त्यसैले उपलब्ध स्रोत मै पनि एक चरण न्यूनतम सेवा भने दिन तयारी रहेको जानकारी उनले दिए। ड्रिलले हेटौंडामार्फत् कति ट्राफिक धान्ने सक्ने क्षमता छ भन्ने पुष्टि हुन्छ।

सबै पूर्वाधार पुरा भएपछि केही समय प्रधान कार्यालय नै बन्द गरेर हेटौंडाबाट मात्रै सेवा सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ।  त्यसका लागि प्रधान कार्यलयका कतिपय पूर्वाधार हेटौंडा नै लगिने र पछि सफल भए नयाँ पूर्वाधान स्थापना गर्ने योजना हो।

सँगै आउने आर्थिक वर्ष भने दुवै साइट समान क्षमतामा सञ्चालन गर्ने लक्ष्य कम्पनीको छ। न्यौपानेले भने, ‘अत्यधिक कारोबार र ट्राफिक आएको अवस्थामा ५०/५० प्रतिशत क्षमतामा दुवै साइटबाट सेवा उपलब्ध हुनेछ।’