BIZMANDU
www.bizmandu.com

सरकारले लिन खोजेको उल्टो बाटो, सवारीसाधन एसेम्ब्ली उद्योगको कर छुट घटाउँदै

२०८० जेठ ९

सरकारले लिन खोजेको उल्टो बाटो, सवारीसाधन एसेम्ब्ली उद्योगको कर छुट घटाउँदै
सरकारले लिन खोजेको उल्टो बाटो, सवारीसाधन एसेम्ब्ली उद्योगको कर छुट घटाउँदै

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमा एसेम्ब्ली प्लान्टका लागि करमा दिएको छुट घटाउने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

राजस्वको स्रोत पुर्‍याउने नाममा एसेम्ब्ली प्लान्टलाई प्रोत्साहन गर्न दिइएको कर छुट घटाउने तयारी गरिएको हो। ‘एसेम्ब्ली प्लान्टका लागि दिइएको कर छुट घटाउने बारेमा छलफल भइरहेको छ। यो छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई समेत कन्भिन्स गराउने प्रयास भइरहेको छ,’ अर्थका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘बजेटले कर छुट कम गर्नसक्ने सम्भावना प्रबल छ।’

ती कर्मचारीका अनुसार एसेम्ब्ली प्लान्टबाट विस्तारै मुलुक सवारीसाधन उत्पादनको बाटोमा लागिरहेका बेला कर छुट घटाउने निर्णय प्रत्युत्पादक हुनेछ।

‘केही कर्मचारीले विगतमा भएका राम्रा निर्णयलाई समेत उल्टाउन मन्त्रीलाई उक्साइरहेका छन्। यस्तो अवस्थामा मन्त्रीज्यूले विवेक प्रयोग नगरे डिजास्टर हुन्छ,’ उनले भने, ‘राजस्वको स्रोत खोज्ने नाममा दीर्घकालीन रुपमा अहित हुने निर्णय गर्नु पनि राष्ट्रहीत विपरीत हो।’

जनार्दन शर्मा अर्थमन्त्री भएका बेला स्वदेशमै मोटरसाइकल र गाडी उत्पादन गर्ने कम्पनीलाई ५० प्रतिशत अन्त:शुल्कमा छुटको व्यवस्था बजेटमा ल्याएका थिए।

शर्माले आर्थिक ऐनमा २५ प्रतिशत दिँदै आएको छुटलाई बढाएर ५० प्रतिशत पुर्‍याएका थिए। ऐनमा भनिएको थियो, ‘एसेम्बल गरी सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ९७.०३ र ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्त:शुल्क र त्यस्ता उद्योगले तयारी गरेको साधन बिक्री गर्दा लाग्ने अन्त:शुल्कमा ५० प्रतिशत छुट हुनेछ।’

यो छुटपछि दुई पांग्रेसँगै चार पांग्रेका एसेम्ब्ली प्लान्ट लगाउने बारेमा अटो व्यवसायीले छलफल अगाडि बढाएका थिए।

धमाधम खुलेका उद्योगको भविष्य संकटमा

सरकारले एसेम्ब्ली उद्योग स्थापनालाई प्रोत्साहन गर्न छुट दिएको थियो। यही छुटका कारण मुलुक भित्र बजाज, टीभीएस र हिरोले एसेम्ब्ली प्लान्ट स्थापना गरेर बाइक उत्पादन गरिरहेका छन् भने यामाहाको एसेम्ब्ली प्लान्टबाट केही बाइक उत्पादन भर्खरै सुरु भएको छ। त्रिवेणी समूहले नेपालमै बुलेट बाइकको एसेम्ब्ली प्लान्ट राख्ने प्रक्रिया अगाडि बढाइरहेको छ।

यी चारवटा उद्योग स्थापना भएमा दुई हजार भन्दा माथि रोजगारी सृजना भएको छ। उद्योगमा दक्ष जनशक्ति (हाइली स्कील्ड म्यानपावर) काम गरिरहेका छन्।

बजाजमा झण्डै चार सय इन्जिनियर काम गर्छन्। एसेम्बली प्लान्ट राखेर बाइक बिक्री मात्रै होइन रोजगारी र अर्थतन्त्रलाई समेत फराकिलो बनाउन सहयोग गरिरहेको देखिएपछि करमा छुट दिइएको थियो। एक मोटरसाइकल एसेम्ब्ली उद्योगका संचालकले कर नीतिमा परिवर्तन भएमा विदेशी लगानीकर्ताको विश्वास पनि गुम्ने बताउँछन्।

‘कर छुट घट्यो भने सवारीसाधन उत्पादकले नेपाल प्रति हेर्ने दृष्टिकोण नै नकारात्मक हुन्छ। उनीहरुले नेपाललाई लगानी जोखिमको मुलुकमा राख्छन्,’ उनले भने, ‘हाम्रो दुई अर्ब लगानी संकटमा पर्ला। तर नेपालको विश्वसनीयता गुम्छ।’

गाडीले पनि राख्न सक्ने आधार बन्दै थियो

गत वर्षको छुटले नेपालमा धेरै प्यासेन्जर भेहिकल बिक्री हुने हुण्डाई र मारुतीले समेत नेपालमा एसेम्बली प्लान्ट राख्ने आधार तय भएको थियो। यी दुवै कम्पनीका नेपालका आधिकारिक बिक्रेताले एसेम्बली प्लान्ट उद्योग विभागमा दर्ता गरेर पर्ख र हेरको अवस्थामा थिए। आधिकारिक बिक्रेताले वर्षेनी हुने करको दरलाई हेरेर नै पर्ख र हेरको अवस्थामा रहेका हुन्।

मारुती सुजुकीको सिजी होल्डिङले दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारीसाधन एसेम्बल गर्ने भन्दै सिजी अटोमोटिभ्स इन्डस्ट्रिज प्रालि उद्योग विभागमा दर्ता गरिसकेको छ। कम्पनीले उद्योगमा १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ लगानी गरेर प्लान्ट राख्ने उल्लेख छ। यो प्लान्टबाट वार्षिक १० हजार थान २ पांग्रे सवारी, ३ हजार थान तीन पांग्रे सवारी र १० हजार थान चार पांग्रे सवारीसाधन उत्पादन गर्ने लक्ष्य राखेको छ।

हुण्डाई गाडीको अधिकृत बिक्रेता रहेको लक्ष्मी समूहले पनि ५ अर्ब १० करोड रुपैयाँ लगानीमा स्वदेशमै गाडी एसेम्बली गर्ने भन्दै उद्योग विभागमा कम्पनी दर्ता गरिसकेको छ।

अरु उद्योग पनि आउँदै थिए

एसेम्बली उद्योग स्थापना भएपछि त्यसलाई चाहिने पाटपुर्जा, सिट, भाइजर लगायतका सामान उत्पादन गर्ने उद्योग समेत स्थापना हुने वातावरण बन्दै थियो।

केही समयअघि हुलास अटोक्राफ्टका प्रबन्ध निर्देशक शेखर गोल्छाले केही एनसिलरी उद्योग खुल्ने क्रममा रहेको बताएका थिए। विश्वकै उदाहरण हेर्ने हो भने पनि पाटपुर्जा ल्याएर जोड्ने उद्योगबाट सुरु हुने गरेको छ।

त्यसपछि अरु सहायक (एनसिलरी) उद्योगहरु स्थापना भएका थिए। बाइकलाई चाहिने प्लास्टिक मोडलिङ गर्ने उद्योग, टायर उद्योगसँगै अन्य धेरै बाइकलाई आवश्यक पर्ने उद्योगहरु स्थापना हुने वातावरण बनिरहेको थियो।