काठमाडौं। सम्पदा घुम्ती बस सेवा मंगलबार उद्घाटन गरिएको छ। पूर्व पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पालामा तयार गरिएको योजना अनुसार काठमाडौंका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले सम्पदा घुम्ती बस सेवा सुरु गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु – पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म पहुँच पुर्याउने उद्देश्यले सेवा संचालनमा ल्याएको बताइएको छ।
मंगलबार पर्यटनमन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले यो सेवाको उद्घाटन गरेका हुन्।
उद्घाटन क्रममा मन्त्री किरातीले यो सेवाले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने बताए। उनले यो परीक्षण पछि सेवा विस्तार गर्दै लाग्ने भन्दै पुल्चोकदेखि नारायणहिटी दरबार संग्रहालयसम्म यात्रा गरेका थिए।
ललितपुर महानगरपालिका मेयर महर्जनले पर्यटन प्रर्वद्धनका लागि सम्पदा घुम्ती बस सेवा सहयोगी हुने बताए। यसका लागि सबै क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताए।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले सम्पदा घुम्ती बस सेवाको सञ्चालनलाई सफल र प्रभावकारी बनाउन निजी क्षेत्रका संगठन र व्यवसायीहरुसँग समन्वय र सहकार्य आवश्यक रहेको जानकारी दिए।
साझा यातायातका कार्यवाहक अध्यक्ष सुशिल प्याकुरेलले सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बस सञ्चालन हुने र पछि माग अनुसार बस थपिने जानकारी दिए।
पर्यटन बोर्डका अनुसार सम्पदा घुम्ती बस बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म हुनेछ। जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक), महांकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग, नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी, पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हँदै बौद्ध पुग्ने तालिका रहेको छ।
यस्तै फर्किंदा तारागाँउ संग्रहालय, बौद्ध, चाबहिल चोक, नारायणगोपाल चोक, गोंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालीमाटी) कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हँदै साझा यातायात, पुल्चोक आउने बोर्डले जनाएको छ।