BIZMANDU
www.bizmandu.com

करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सले चनौटामा नयाँ उद्योग थप्यो, ‘बजारको माग धान्नै कठिन’

२०८० जेठ ९

करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सले चनौटामा नयाँ उद्योग थप्यो, ‘बजारको माग धान्नै कठिन’
करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सले चनौटामा नयाँ उद्योग थप्यो, ‘बजारको माग धान्नै कठिन’

विराटनगर। रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘करेन्ट’ र ‘लाली’ लगायतका विभिन्न ब्रान्डमा चाउचाउको उत्पादन गर्दै आएको यशोदा फुड्स प्रा.लि.ले कपिलवस्तुको चनौटामा अर्को उद्योग सञ्चालनमा ल्याउने भएको छ।

Tata
GBIME
Nepal Life

‘करेन्ट’ ब्रान्डका चाउचाउको माग अत्यधिक हुन थालेपछि यशोदा फुड्सले यही ब्रान्ड उत्पादन गर्न अर्को उद्योगको स्थापना गर्न लागेको हो ।

यशोदा फुड्सले तिलोत्तमामा उद्योग सञ्चालन गर्न थालेको ६ वर्ष पनि पूरा नहुँदै कपिलवस्तुमा अर्को युनिट थप्ने भएको हो ।

‘करेन्ट चाउचाउ र यसको हट एन्ड स्पाइसी गरी दुबै ब्रान्डको माग बजारबाट धेरै आइरहेको छ’, उद्योगका सञ्चालक चुन्नुप्रसाद पौडेलले बिजमाण्डूलाई भने, ‘त्यसैले अर्को उद्योग लगाउन हामी बाध्य भयौँ ।’

उनले यशोदा फुड्सले करेन्ट ब्रान्डमा गुन्द्रुक र सिन्कीको स्वाद तथा सुगन्धमा पनि चाउचाउ उत्पादन गरिरहेको र बजारमा यसको माग पनि अत्यधिक भएको दाबी गरे ।

उनले करेन्ट ब्रान्डका चाउचाउको माग भारतीय बजारमा पनि राम्रो भएकाले नियमित रूपमा निर्यात भइरहेको बताए ।

सञ्चालक पौडेलले चनौटामा ४ बिघा जमिन खरिद गरेर यशोदा फुड्सले २०७९ माघदेखि पूर्वाधार निर्माणको काम गरिरहेको जानकारी दिए ।

पौडेलले आगामी सन् २०२४ देखि नयाँ उद्योगबाट उत्पादन सुरु हुने स्पष्ट पारे । यसका लागि चीनबाट चाउचाउका मेसिन आयात गर्ने काम भइरहेको छ ।

तिलोत्तमामा भएको उद्योगमा चाउचाउका साथ विभिन्न प्रकारका स्न्याक्सको उत्पादन गरिन्छ । तर चनौटामा भने चाउचाउको मात्र उत्पादन गरिनेछ । उद्योगले वार्षिक साढे १२ हजार टन चाउचाउ उत्पादन गर्नेछ ।

सञ्चालक पौडेलले उद्योगको स्थिर पुँजी ८४ करोड भएको र चालु पुँजीसहित १ सय करोडभन्दा बढी लगानी हुने देखिएको उल्लेख गरे ।

उनले कपिलवस्तुको नयाँ प्लान्टमा ३ सय जनाभन्दा बढीले रोजगारी पाउने बताए ।

कपिलवस्तुको चनौटामा उत्पादन सुरु भएपछि यशोदा फुड्सले कोशी प्रदेशमा चाउचाउकै अर्को युनिट थप्ने लक्ष्य राखेको छ ।