BIZMANDU
www.bizmandu.com

तामाकोसी-५ निर्माणका लागि संचयकोषले १३ अर्ब ७४ करोड ऋण दिने, आजै सम्झौता हुँदै

२०८० जेठ ७

तामाकोसी-५ निर्माणका लागि संचयकोषले १३ अर्ब ७४ करोड ऋण दिने, आजै सम्झौता हुँदै
तामाकोसी-५ निर्माणका लागि संचयकोषले १३ अर्ब ७४ करोड ऋण दिने, आजै सम्झौता हुँदै

काठमाडौं। कर्मचारी संचयकोषले तामाकोसी-५ जलविद्युत आयोजना निर्माणका लागि १३ अर्ब ७४ करोड रुपैयाँ ऋण दिने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल विद्युत प्राधिकरण, तामाकोसी कम्पनी लिमिटेड र संचयकोषबीच आइतबार साँझ ऋण सम्बन्धी त्रिपक्षीय सम्झौता हुन लागेको हो। संचयकोषसँग यसअघि नै समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। उक्त समझदारी कार्यान्वयनका लागि सम्झौता गर्न लागिएको हो।

करिब १०० मेगावाटको यो आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ (ब्याजसहित) लाग्नु अनुमान गरिएको छ। यसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी (सेयर) बाट जुटाउन लागिएको छ। कर्मचारी संचयकोषबाट मात्रै ऋण लिएर आयोजना बनाउन लागिएको हो।

कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीइओ) बिनोद भण्डारीका अनुसार आयोजना अघि बढाउनका लागि यो ऋण सम्झौता गर्न लागिएको हो। ऋण दिने टुंगो भएपछि आयोजना अघि बढाउन सजिलो हुनेछ।

यो आयोजना निर्माणका लागि कम्पनीले साउन ९ गते ठेक्का निकालेको थियो। उक्त ठेक्कामा आवेदन दिएकामध्ये दुईवटा मात्रै कम्पनी प्राविधिक प्रस्तावमा पास भए। प्राविधिक प्रस्तावमा पास भएका कम्पनीको आर्थिक प्रस्ताव खोलियो। तर लागत अनुमानभन्दा धेरै कबोल गरेर आवेदन  दिएपछि ठेक्का नै रद्द भएको थियो। सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएका थिए।

कम्पनीका सीइओ भण्डारीले ठेक्का रद्दपछि पुन: ठेक्का निकाल्नका लागि बिडिङ डकुमेन्ट रिभाइजको काम भइरहेको बताए। उनका अनुसार तयारी काम सकेर निकट भविष्यमा नै ठेक्का निकाल्न लागिएको छ।

यो आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) को क्यासकेड आयोजना हो। माथिल्लो तामाकोसीको टेलरेस टनेलबाट निस्केको पानी ५.४ मिटर ब्यास भएको ८ किलोमिटर सुरुङमार्गमार्फत तामाकोसी-५ को सुरी दोभानमा प्रस्तावित अण्डरग्राउण्ड पावर हाउसमा पुर्‍याइनेछ।

यस आयोजनामा अण्डरग्राउण्ड पावर हाउस लगायत अन्य संरचना निर्माण गरिने भएका कारण वातावरणीय क्षति समेत कम हुने आयोजनाका अधिकारीहरुको भनाइ छ। ती संरचनाहरु निर्माण गर्न नपरेका कारण लागत समेत घटेका कारण आकर्षक आयोजना मानिएको छ।

अहिले आयोजनाको प्रस्तावित निर्माणस्थलमा निर्माण पूर्वतयारीका कामहरु अन्तिम चरणमा चलिरहेको छ। साइटमा क्याम्प निर्माणको काम चलिरहेको छ। अडिट टनेल परीक्षणको काम समेत भइसकेको छ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण पनि भइसकेको छ।

यो कम्पनीको सेयर स्वामित्वको मोडालिटी भने टुङ्गिएको छैन। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले समेत १० प्रतिशत लगानी गर्ने प्रस्ताव गरेको छ। सर्वसाधरणले समेत शेयर पाउनेछन्।

सुरुमा यो आयोजनालाई नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना भनिएको थियो। तर पछि माथिल्लो तामाकोसी अर्धजलाशययुक्त आयोजना भएकाले त्यस्तो आयोजनाको क्यासकेड आयोजनालाई पनि अर्धजलाशययुक्त हुने भन्ने निर्णय भयो। सोही कारण यो आयोजना पनि अर्धजलाशययुक्त आयोजनाको बास्केटमा परेको हो।

यो आयोजना निर्माण थालेको चार वर्षमा सम्पन्न गर्ने योजना छ। कतिपय पूर्वाधारहरु माथिल्लो तामाकोशीकै प्रयोग हुने भएकाले नयाँ निर्माण गर्नुपर्ने नहुँदा लक्षित समयमा नै यो पूरा हुने विश्वास आयोजना कम्पनीको छ।