BIZMANDU
www.bizmandu.com

बजेटमा भन्दा मौद्रिक नीतिमा अपेक्षा धेरै भएको गभर्नरको टिप्पणी, ‘स्वायत्तता दिनुपर्छ’

२०८० जेठ १

बजेटमा भन्दा मौद्रिक नीतिमा अपेक्षा धेरै भएको गभर्नरको टिप्पणी, ‘स्वायत्तता दिनुपर्छ’
बजेटमा भन्दा मौद्रिक नीतिमा अपेक्षा धेरै भएको गभर्नरको टिप्पणी, ‘स्वायत्तता दिनुपर्छ’

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटभन्दा बढी मौद्रिक नीतिप्रति अपेक्षा बढेको बताएका छन्।

Tata
GBIME
Nepal Life

‘मौद्रिक नीतिप्रतिको अपेक्षा अलिक बढी देख्छौं। यसका केही सीमाहरु छन्,’ उनले भने, ‘मौद्रिक नीतिको उद्देश्यभन्दा बाहिर गएर काम गर्दा समस्या आउन सक्छ। वित्त र मौद्रिक नीतिबीच सामानजस्यता चाहिन्छ।’

राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कर्यक्रममा बोल्दै गभर्नर अधिकारीले वित्त र मौद्रिक नीतिमा ‘चेक एण्ड ब्यालेन्स’ चाहिने बताए।

‘मौद्रिक नीति सञ्चालनका लागि स्वायत्तता पनि चाहिन्छ,’ उनले भने, ‘राजनीतिमा शक्ति सन्तुलनजस्तै यतातिर पनि चेक एण्ड ब्यालेन्स आवश्यक छ।’

गभर्नर अधिकारीले अहिलेको समस्या सार्वजनिक वित्त तिर बढी भएको भन्दै विगतमा राजनीतिक व्यवस्थाका लागि काम गर्नु परेका कारण आर्थिक क्षेत्रमा समस्या आएको बताए।

‘राजस्व बढाउनुपर्ने छ, भन्सारमा सुधार गर्नुपर्ने देखिन्छ। वास्तविक क्षेत्रमा हामीले ध्यान दिनै पर्छ। औद्योगिक क्षेत्र घोषणा भयो तर त्यो अगाडि बढ्न सकिरहेको छ। उद्योग खोल्न कसैले खोज्दा ठाउँ देखाउन सक्नुपर्छ,’ उनले भने, ‘धेरै काम गर्नुपर्ने छ। अलिकति हामीले अर्थतन्त्रको पुनर्संरचना गरेर जानुपर्ने छ।’

उनले बजेटको आफ्नै सीमा देखिएको भन्दै स्रोत अभावका कारण ठूलो निर्णय गर्न पनि गाह्रो हुने तर्क गरे।

‘नेपालको अर्थतन्त्र भिन्न प्रकृतिको छ। हामी परनिर्भर छौं। यसलाई अन्तरनिर्भरतामा लैजानुपर्ने हुन्छ,’ उनले भने, ‘आन्तरिक उत्पादन कम हुने र बाह्य उत्पादन बढी उपभोग हुने अवस्था छ। राजस्व आयातमा निर्भर हुने देखिएको छ। यहाँ संरचनामा सुधार गर्नुपर्ने छ।’

उनले अर्थतन्त्र धेरै हदसम्म रेमिटेन्समा भर परेको भन्दै यो वर्ष बाह्य क्षेत्र सुधार भएको, वित्तीय क्षेत्रमा नीति नियमका कारण सफल नै भएपनि भोलिका दिन चुनौतिपूर्ण रहेको बताए।

गभर्नर अधिकारीले अर्थतन्त्रका बारेमा खासै कुरा गरेनन्। उनले कर्मचारी युनियनहरुको प्रशंसा गरे भने निर्माणाधीन भवनको अवलोकन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे।