BIZMANDU
www.bizmandu.com

पेट्रोल तस्करी प्रकरणः चालकलाई ढुवानीमा सधैंका लागि बन्देज, ३५ लाख जरिवाना

२०८० जेठ १

पेट्रोल तस्करी प्रकरणः  चालकलाई ढुवानीमा सधैंका लागि बन्देज, ३५ लाख जरिवाना
पेट्रोल तस्करी प्रकरणः चालकलाई ढुवानीमा सधैंका लागि बन्देज, ३५ लाख जरिवाना

काठमाडौं। भैरहवा नाकाबाट पेट्रोल तस्करी गर्दै रहेको फेला परेको ट्यांकरका चालकलाई नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीको काम पुनः कहिले पनि गर्न नपाउने गरी कारबाही गरेको छ। निगमले यसबारे आइतबार सूचना जारी जनाएको हो।

Tata
GBIME
Nepal Life

तोकिएको परिमाणभन्दा ३ हजार ३ सय ८४ लिटर बढी पेट्रोल लोड गरेर ल्याएको अवस्थामा गत बैशाख ८ गते ट्यांकरलाई भैरहवा भन्सारले नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले उक्त चालकलाई थुनामा राखेर अनुसन्धान गरेको थियो।

बेतालपुर-भैरहवा रुटमा पेट्रोलियम ढुवानी गर्ने एक्सप्रेस परिवहन सेवाको नाममा रहेको नम्बर लु२ख ४८३९ ट्यांकर निगमसँग करार सम्झौता भइ सञ्चालनमा थियो। २० किलोलिटर क्षमताको उक्त ट्यांकरमा ३ हजार ३ सय ८४ लिटर पेट्रोल बढी ल्याएको भेटिएको थियो।

उक्त ट्यांकरलाई भैरहवा भंसार कार्यालयबाट चेकजाँच गर्दा ट्यांकर क्षमता र इण्डियन आयल कर्पोरेशनको इन्भोइसमा २० किलोलिटर थियो। तर शंका लागेर जाँच्दा कागजमा उल्लेखित परिमाणभन्दा बढी पेट्रोल लिएर आएको फेला परेको थियो। भैरहवा भंसार कार्यालयबाट पेट्रोल चोरीपैठारी कसुरमा कारवाही अगाडि बढाएको थियो।

त्यही आधारमा निगमले ढुवानीकर्ता र ट्यांकर चालकलाई निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ (तेस्रो संशोधन सहित) अनुसार कारवाही गरिएको निगमले जनाएको छ।

अहिलेसम्म ढुवानी गरेको भाडा रोक्ने र २० हजार लिटर पेट्रोलको रकम असुल उपर गर्ने निर्णय गरिएको निगमले जनाएको छ। उक्त रकम ३५ लाख रुपैयाँ हुन आउँछ। जुन अहिलेको खुद्रा मूल्य अनुसार हिसाब गरिएको छ। साथै उक्त ट्यांकरलाई ३ महिनाको लागि निलम्बन गर्ने निर्णय पनि निगमले गरेको छ।

यसैगरी ट्यांकर चालकलाई निगमको सम्पूर्ण डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा सधैंका लागि बन्देज लगाउने निर्णय गरिएको निगमले जनाएको छ।