BIZMANDU
www.bizmandu.com

पप्पुको लापरवाहीले निर्माण नसकिदै भत्किएको जब्दीघाट पुलको ६ वर्षपछि नयाँ कार्ययोजना

२०८० जेठ १

पप्पुको लापरवाहीले निर्माण नसकिदै भत्किएको  जब्दीघाट पुलको ६ वर्षपछि नयाँ कार्ययोजना
पप्पुको लापरवाहीले निर्माण नसकिदै भत्किएको जब्दीघाट पुलको ६ वर्षपछि नयाँ कार्ययोजना

काठमाडौं। पप्पु कन्स्ट्रक्सनको चरम लापरवाहीले निर्माण नसकिदै भत्किएको बर्दिया जब्दीघाट पुलको नयाँ कार्ययोजना अगाडि सारिएको छ। जब्दीघाट पुल निर्माणको पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको थियो।

Tata
GBIME
Nepal Life

जब्दीघाट पुलको भत्किएको एक भाग नदीको बीचमा छ। भत्किएको भागले वर्षाको पानी छेक्न सक्ने र बस्तीहरु डुबानमा पर्ने खतरा देखिएपछि मन्त्रालयले नयाँ कार्ययोजना अगाडि सारेको हो। 

पुल निर्माण कार्य नसकिँदै एक भाग भत्किएको थियो। जब्दीघाटको पुल २०७४ साल साउनमा भासिएको थियो भने २०७९ असोज २० गते बबई नदीमा आएको बाढीले पुल बगाएको थियो। 

पुल भासिएको ६ वर्ष भइसक्दा समेत अझैसम्म निर्माण गर्नतर्फ सरकारले चासो दिएको थिएन। पुल नहुँदा सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाका झण्डै १ लाख बासिन्दा प्रभावित भएका छन्।

यसको निर्माणमै गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए। यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो। पुल ४ सय ३५ मिटर लामो र ७.४ मिटर चौडा छ।

भत्किएको पुल पुनर्निर्माण नगरेपछि ठेकेदार कम्पनीलाई पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कारवाही पनि गरिसकेको छ। तर पुल निर्माण कम्पनी अदालत पुगेपछि अर्को टेण्डर प्रक्रिया रोकिएको थियो। 

‘भत्किएर पानीमा रहेको भाग तत्काल हटाउने निर्णय २८ वैशाखमा हामीले गरिसकेका छौं,’ सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले भने, ‘आजदेखि नै ड्यामेज भाग हटाउने काम शुरु हुन्छ। त्यसपछि पुनः ठेक्काका लागि अन्तिम तयारी गरिरहेका छौं।’

तत्काल नदी सफा गर्ने र नयाँ ठेक्का लगाउने तयारी सडक विभागले गरिरहेको छ। भत्किएको पुलको स्थलगत अध्ययन गर्न महानिर्देशक ढकाल सोमबार बर्दिया जाने मन्त्रालयले जनाएको छ। जब्दीघाट समस्या सामधानका लागि मन्त्रालयले एउटा टोली पनि गठन गरेको मन्त्रालयको भनाइ छ।