BIZMANDU
www.bizmandu.com

उत्तरी नाकामा चैतसम्म लक्ष्यभन्दा कम राजस्व संकलन, दुवै भन्सारको असुली घट्यो

२०८० बैशाख ३१

उत्तरी नाकामा चैतसम्म लक्ष्यभन्दा कम राजस्व संकलन,  दुवै भन्सारको असुली घट्यो
उत्तरी नाकामा चैतसम्म लक्ष्यभन्दा कम राजस्व संकलन, दुवै भन्सारको असुली घट्यो

काठमाडौं। चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई उत्तरी नाकामा लक्ष्यभन्दा कम राजस्व असुली भएको छ।

Tata
GBIME
Nepal Life

विविध कारणले नाका लगातार बन्द भैरहेपछि त्यहाँका भन्सार कार्यालयहरुले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेका छैनन्। तातोपानी भन्सार कार्यालयले चैत मसान्तसम्म २ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तै रसुवा भन्सार कार्यालयले चैत महिनासम्म ५ अर्ब रुपैयाँ राजस्व असुली गरेको छ।

तातोपानी भन्सार कार्यालयले यस अवधिसम्मको लागि भन्सार राजस्व ३ अर्ब ४१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो।गत वर्ष यस भन्सारबाट चैतसम्म ३ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

तातोपानी भन्सार कार्यालयले चालु आर्थिक वर्षको लागि ४ अर्ब राजस्व संकलन हुने लक्ष्य राखेको प्रमुख भन्सार अधिकृत दयान्नद केसीले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व उठ्न मुस्किल छ। नाका पूर्ण रुपमा संचालनमा आएको छैन भने दैनिक रुपमा हुने आयात पनि नियमित नभएको उनले बताए।

हालसम्मको आँकडाअनुसार चालु आवमा ७० प्रतिशत राजस्व संकलन हुने अनुमान रहेको भन्सार प्रमुख केसीले जानकारी दिए।

रसुवा भन्सार कार्यालयले चैत महिनासम्म ५ अर्ब रुपैयाँ राजस्व असुली गरेको जुन छ लक्ष्यभन्दा ७२.७४ प्रतिशतले कम हो।भन्सार कार्यकालयले यस अवधिसम्म ६ अर्ब ८९ करोड रुपैयाँको भन्सार असुली गर्ने लक्ष्य राखेको रसुवा भन्सार कार्यालय प्रमुख नारायण भण्डारीले बताए।

गत वर्ष पनि यहि हाराहारीमा राजस्व संकलन भएको थियो। चैत महिनामा मात्र यस भन्सारबाट ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। बैशाख महिनामा लक्ष्यभन्दा धेरै राजस्व संकलन भएको छ। जसमा भन्सारले बैशाखमा ८२ करोड रुपैयाँ लक्ष्य राखेको थियो भने ९० करोड रुपैयाँ असुली भएको भण्डारीले बताए।

उनका अनुसार चालु आर्थिक वर्षको लागि करिब ९ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन हुने लक्ष्य राखिएको छ जुन गत वर्षको भन्दा २ अर्बभन्दा बढी लक्ष्य हो।

गत वर्ष भन्सारले ७ अर्ब १७ करोड रुपैयाँको राजस्व संकलनको लक्ष्य राखेपनि त्यो भन्दा धेरै उठेको उनले बताए।
उनका अनुसार हालको जस्तै आयात भइरहे भन्सारले गरेको लक्ष्य अनुसार राजस्व संकलन हुनेछ।अझै पनि केहि कन्टेनरहरु आउने क्रम रहेको उनले जानकारी दिए।

पछिल्लो समय रसुवा भन्सार नाकामा दैनिक ८ भन्दा बढी कन्टेनरमा सामान आयात भइरहेको छ। तातोपानी भन्सारबाट दैनिक ५ वटाभन्दा बढी कन्टनेर आइरहेको छ। यी दुई नाकाबाट निर्यात समेत हुन थालेको छ।