काठमाडौं। दक्षिण कोरियाको सवारी उत्पादक कम्पनी हुन्डाई मोटरले दक्षिण एसियाली मुलुकको बजारमा आक्रामक तवरले उपस्थिति जनाउने योजना बनाएको छ। यसका लागि भारतमा विद्युतीय सवारी उत्पादन पूर्वाधारमा २ अर्ब ४५ करोड डलर लगानी गर्ने भएको छ।
हुन्डाईले बिहीबार भारतको तमिलनाडुमा विद्युतीय सवारी साधनको उत्पादन बढाउन आगामी १० वर्षमा २०० अर्ब रुपैयाँ भारु अर्थात २ अर्ब ४५ करोड डलर लगानी गर्ने जनाएको हो।
एसियाको डेट्रोइट मनिने तमिलनाडुको चेन्नई यस्तो अटोमोबाइल हो जहाँ अशोक लेल्याण्ड, टिभिएस मोटर र रेनो-निसानजस्ता कम्पनीहरूले हरेक वर्ष लाखौं गाडीहरू उत्पादन गर्छन्।
हुन्डाईले आफ्नो भारतीय सहायक कम्पनी हुण्डाई मोटर इन्डियामार्फत वार्षिक १ लाख ७८ हजार युनिट क्षमताको ब्याट्री प्याक एसेम्बली युनिट पनि स्थापना गर्नेछ। आगामी पाँच वर्षमा दक्षिणी राज्यमा १०० वटा इभी चार्जिङ स्टेशनहरू स्थापना गर्ने एक विज्ञप्तिमा भनिएको छ।
कम्पनीले चेन्नई नजिकैको आफ्नो कारखानामा उत्पादनको मात्रा वार्षिक ७ लाख ७५ हजारबाट ८ लाख ५० हजारसम्म पुर्याउने योजना बनाएको छ। तर, अस्थिर मागका कारण कार निर्माताले लक्ष्य हासिल गर्ने टाइमलाइन खुलाएको छैन।
हुन्डाईले पनि सन् २०२२ मा १ लाख ८१ हजारभन्दा बढी तथा सन् २०३२ सम्ममा ३ लाख १९ हजार सवारी साधनको निर्यात हुने अपेक्षा गरेको छ।

लगानी योजना भारतको संघीय सरकारले स्थानीय उत्पादनलाई बढावा दिन आयातित सवारी साधनमा कर बढाउने बताएको केही दिनपछि आएको हो।
सरकारको उत्पादन प्रोत्साहन योजना देशभित्र उत्पादन गर्दा मात्रै लागू हुने भएकाले हुन्डाईले विद्युतीय पार्टपुर्जाहरू आयात गर्नुको सट्टा स्थानीय बिक्रेताहरुको आधारलाई पनि विकास गरिरहेको कर्पोरेट मामिलाका वरिष्ठ कार्यकारी पुनीत आनन्दले बताए।
घरेलु कार निर्माताहरू टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्राका साथै विश्वव्यापी प्रतिद्वन्द्वी निसान मोटर र रेनो एसएद्वारा धेरै लन्चहरूको साथ भारतको इभी उद्योग द्रुत रूपमा अगाडि बढिरहेको छ।
हुन्डाईले सन् २०३२ सम्ममा २० प्रतिशत हिस्सा पुर्याउने लक्ष्य राख्दै विश्वको तेस्रो ठूलो कार बजारमा पाँचवटा नयाँ इभी लन्च गर्दैछ। यद्यपि, भारतको इभी बजार अझै सानो छ।
सन् २०२२ मा भारतमा कुल कार बिक्रीको १ प्रतिशत मात्रै हुन्डाईले ओगटेको छ। संघीय सरकारले सन् २०३० सम्ममा त्यो हिस्सा ३० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
हुन्डाईको भारतको प्यासेन्जर सवारी बजारमा लगभग १५ प्रतशित सेयर छ।