BIZMANDU
www.bizmandu.com

शिवेन्द्रको आरोपमा वीरेन्द्रको जवाफ: ‘५६ सालमै बुद्धको सेयर बेचेर माउन्टेन एयर खोलेको हो’

२०८० बैशाख २८

शिवेन्द्रको आरोपमा वीरेन्द्रको जवाफ: ‘५६ सालमै बुद्धको सेयर बेचेर माउन्टेन एयर खोलेको हो’
शिवेन्द्रको आरोपमा वीरेन्द्रको जवाफ: ‘५६ सालमै बुद्धको सेयर बेचेर माउन्टेन एयर खोलेको हो’


काठमाडौं। बुद्ध एयरको घर झगडामा भाइ शिवेन्द्रको आरोपमाथि दाइ वीरेन्द्रले काउन्टर जवाफ फर्काएका छन्। भाइ शिवेन्द्रले आफ्नो ४० प्रतिशत सेयरको हिसाबकिताव खोज्दै पत्रकार सम्मेलन गरेपछि दाइ वीरेन्द्रले विज्ञप्तिमार्फत खण्डन गरेका छन्।

Tata
GBIME
Nepal Life

दाइ वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरमा संस्थापक सेयरधनी अर्थात वीरेन्द्र र शिवेन्द्रका बुबा स्व. सुरेन्द्रबहादुर बस्नेत र आफू भएर संचालन भएको कम्पनीमा पछि मात्रै शिवेन्द्रबहादुर बस्नेतले पाएको १४ प्रतिशत सेयर २०५६ सालमै बिक्री गरेको काउन्टर जवाफ दिएका छन्।

वीरेन्द्रले शिवेन्द्र बुद्ध एयरबाट अलग भएर प्रतिस्पर्धी ‘माउन्टेन एयर’ खोलेको बताएका छन्। साविकमा बुद्ध एयरका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा रहेको ८० प्रतिशत सेयरमध्ये ४० प्रतिशत सेयर वीरेन्द्रबहादुर बस्नेत र बाँकी ४० प्रतिशत सेयर अर्चना बस्नेत, शिवानी बस्नेत, देव्यानी बस्नेत र पछिबाट आदर्शबहादुर बस्नेत समेतको नाउँमा हुने गरि सुरेन्द्रले बकसपत्र गरेको वीरेन्द्रले बताएका छन्।

‘सेयरधनीहरु बीच कम्पनी ऐन, २०६३ को दफा १४५ समेत अनुसार मिति २०७५/०४/१५ मा भविष्यमा बुद्ध एयर सञ्चालन गर्ने विस्तृत प्रक्रियासहितको सर्वसम्मत सम्झौता गरी कम्पनी ऐन, सर्वसम्मत सम्झौता, प्रबन्ध पत्र नियमावली समेत व्यवस्थाहरुलाई पूर्ण रुपमा विधिसम्मत रुपले पालना गरी पारदर्शी रुपमा कम्पनीका सेयरधनी, कर्मचारीसमेतको हितमा रही काम कारोबार गरी आएको अवस्था छ,’ वीरेन्द्रले भनेका छन्।

सर्वसम्मत सम्झौता अनुसार ‘क’ समूहका ६० प्रतिशत सेयरबाट २ जना र ‘ख’ समूहको ४० प्रतिशत सेयर मध्येबाट १ जना संचालक नियुक्त गर्नुपर्ने विषयमा प्रस्ताव राखेर २०७९ फागुन २२ गते साधारणसभा आह्‍वान गर्‍यो।

दैनिक पत्रिकामा सार्वजनिक सूचनाबाट सबै सेयरधनीहरुलाई आह्‍वान गर्दा समेत अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्शबहादुर बस्नेत उपस्थित नभएपछि उक्त संचालक पद खाली नै राखेर ६५ प्रतिशत सेयरधनीहरुको उपस्थितीमा साधारण सभा सम्पन्न भएको वीरेन्द्रले बताएका छन्।

‘३५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने तीनजना सेयरधनीहरु अर्थात अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्शबहादुर बस्नेतले कम्पनी ऐन, २०६३ को दफा १४६ र १४७ को अधिकार प्रयोग गर्ने सम्बन्धमा विभिन्न पटक पत्राचारहरु आदान प्रदान भएर २०७९ चैत १५ गते कागजात तथा अभिलेख निरीक्षण गर्न तथा आर्थिक विवरण लिन निश्चित स्थान र समय निर्धारण भएको अवस्थामा समेत कुनै पनि सेयरधनीहरु वा प्रतिनिधि उपस्थित हुन नआएको अवस्था छ,’ वीरेन्द्रको भनाइ छ।

त्यसैगरी, २०७९ चैत २४ गते शिवेन्द्रले आफूसँग दुईजना कानून व्यवसायी तथा एक जना लेखापरीक्षकसमेत कम्पनीको रजिष्टर्ड कार्यालय भित्र प्रवेश गराएर विभिन्न काल्पनिक आरोप लगाएको वीरेन्द्रको भनाइ छ।

समूह क र खबाट समानान्तर दुईवटा व्यवस्थापन संचालन गर्ने, नत्र कम्पनीलाई ‘लिक्यूडेसन’ मा लगेर ४० प्रतिशत सेयर बराबरको सम्पत्ति लगेर छुट्टै वायुसेवा कम्पनी सञ्चालन गर्ने मागहरु राख्दै शिवेन्द्रले व्यक्त गर्नु भएको भनाइको अडियो कम्पनीसँग सुरक्षित रहेको दाबी वीरेन्द्रको छ।

‘३५ प्रतिशत सेयरधनीहरुले कम्पनी ऐन, २०६३ को दफा १४६ र १४७ बमोजिमको अधिकार प्रयोग गर्ने बहानामा गैरकानूनी, अनुचित लाभ प्राप्ती तथा कम्पनीको अहित हुने कार्यतर्फ अग्रसर रहेको अवस्थामा कम्पनीले बाध्य भइ सेयरधनीहरुले उक्त कानूनी व्यवस्थाको प्रयोग आगामी साधारण सभामा उपभोग गर्न जानकारी गराइएको छ,’ वीरेन्द्रले भने, ‘बुद्धको सम्पूर्ण कारोबार, सर्वसम्मत सम्झौता, साधारणसभा, ३५ प्रतिशत सेयरधनीहरुले कम्पनीलाई पटकपटक गरेको पत्राचार, कम्पनीले निज सेयरधनीहरुलाई विभिन्न मितिमा गरेको पत्राचारहरु समेतको कागजातहरु कम्पनी रजिष्ट्रारको कार्यालय समक्ष अभिलेख भएको छ।’

सो कागजातहरु बुद्धसँग समेत सुरक्षित रहेको हुँदा सरोकारवाला व्यक्तिले जुनसुकै बखत अवलोकन गर्न सक्ने विज्ञप्तिमार्फत जनाएको छ।

‘शिवेन्द्रजीले बुध्द एयर छोड्दा कम्पनी घाटामा थियो। २३ वर्षको अनवरत मेहेनत तथा प्रयासका कारण सफल व्यापारिक संस्थाको रुपमा आज स्थापित भएको छ। १५ सय कर्मचारीलाई रोजगार, नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न कर दस्तुर तथा राज्यलाई वर्षको करोडौं रकम समयमै भुक्तानी गर्न सफल भएको छ,’ वीरेन्द्रले भने।

बुधबार पत्रकार सम्मेलन नै आयोजना गरेर सुरेन्द्रका कान्छा छोरा शिवेन्द्रले आफू बुद्ध एयरको ४० प्रतिशत हिस्सेदार भएको बताउँदै वीरेन्द्रबहादुरले कुनै पनि हरहिसाब पारदर्शीरुपले उपलब्ध नगराएको बताएका थिए। शिवेन्द्रले माग गरेको हिसाबकिताब माग्दा नदिनुले ६० प्रतिशत सेयर स्वामित्व हुनेले ठुलै आर्थिक घोटाला गरेको गम्भीर आरोप लगाएका थिए।

‘बुद्ध एयरलाइन्समा बुबा सुरेन्द्रबहादुर बस्नेतको ८० प्रतिशत सेयर स्वामित्व र दाजु वीरेन्द्रबहादुर बस्नेतको नाममा २० प्रतिशत सेयर कायम थियो। पछि बुबाले आफ्नो नाममा रहेको ८० प्रशित सेयरमध्ये ४० प्रतिशत दाजु वीरन्द्रबहादुर बस्नेतसहित उहाँको परिवारका सदस्यको नाममा र बाँकी ४० प्रतिशत सेयर मेरा परिवारका सदस्यको नाममा गरिदिनु भएपछि पछिल्लो समय वीरेन्द्रबहादुर बस्नेतको ६० प्रतिशत र मेरो परिवारका सदस्यका नाममा ४० प्रतिशत सेयर स्वामित्व छ,’ शिवेन्द्रले भनेका थिए।

शिवेन्द्रले आफू पाइलट नै भएको बताउँदै कामको सिलसिलामा अमेरिकामा बसोबास तथा व्यवसाय सञ्चालन गर्न थालेपछि बुद्ध एयरमा प्रत्यक्ष संलग्नता नरहेको बताएका थिए।