काठमाडौं। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको अघिल्लो दिन सेयर कारोबार रातै भएर बन्द भयो। तर दोहोरो अंक घटिकसकेको सेयर बजारले अन्तिम प्रहरमा भने छलाङ लिएको छ।
१२ अंक गुमाइसकेको सूचक बन्द हुँदा जम्मा ३.३४ अंक घटेर बन्द भएको हो।
शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने राष्ट्र बैंकको तयारी रहेको छ। सेयर बजार र रियल स्टेटप्रति लचक हुने राष्ट्र बैंकको संकेत छ। यसबीच सकारात्मक बन्दै गएको बाह्य क्षेत्र र घट्दो निक्षेप ब्याजदरका कारण राष्ट्र बैंक केही नरम भएर प्रस्तुत हुने जानकारहरुको अनुमान छ। बैंकले जेठका लागि निक्षेपको ब्याजदर भने नघटाउने भएका छन्।
जारी उतारचढावमा नेपाल टेलिकमको सेयर कारोबार चर्किएको छ। कम्पनीको मात्रै आज सवा ३ करोड रुपैयाँको किनबेच भयो। जबकि समग्र बजारमा आज ५७ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार मात्रै भएको थियो।
तर कम्पनीको सेयर मूल्य ४ रुपैयाँ घटेको छ। अन्तिम पटक टेलिकमको सेयर ७९० रुपैयाँमा खरिद बिक्री भयो।
नेप्से १८३८.५९ को विन्दुमा ओर्लिएको छ। साताभर जारी उतारचढावका बाबजुद आइतबार जुन विन्दुमा नेप्से बन्द भएको थियो, बिहिबार सोहि विन्दुमा नजिम आएर थामिएको हो।
१८५० को विन्दुबाट सुरुभएको आइतबारको कारोबार पनि १८३३ मा ओर्लिएको थियो। तर बुधबार १८५२ सम्म उक्लिएको सूचक बिहिबारसम्म घुमिफेरी सुरुवाती विन्दु निरै आइपुगेको हो।