BIZMANDU
www.bizmandu.com

ग्रेटवाल मोटर्सको ‘ओरा जेरो थ्री’ जुलाइमा नेपाल आउने, मूल्य ४६.५० लाख

२०८० बैशाख २८

ग्रेटवाल मोटर्सको ‘ओरा जेरो थ्री’ जुलाइमा नेपाल आउने, मूल्य ४६.५० लाख
ग्रेटवाल मोटर्सको ‘ओरा जेरो थ्री’ जुलाइमा नेपाल आउने, मूल्य ४६.५० लाख

काठमाडौं। यसको आधिकारिक बिक्रेता बिशाल ग्रुपअन्तर्गतको भिजी इम्पेक्सले यो गाडी ९९ किलोवाट मोटर पावरमा नेपाल ल्याउने निश्चित भएको छ।

Tata
GBIME
Nepal Life

यसअघि नै ल्याउने तयारी भएपनि सरकारले १०० किलोवाट माथिकोमा कर बढाएका कारण तोकिएको समयमा यो गाडी बिक्रेता कम्पनीले नेपालमा ल्याएको थिएन।

अब भने उत्पादक कम्पनीले ९९ किलोवाट मोटर पावरमा सहजता कायम गरिदिएकाले केही महिनामै नयाँ गाडी नेपाल आइपुग्ने कम्पनीका मार्केटिङ प्रमुख पंकज यादवले बताए। तर यो गाडी बजेट भाषणपछि मात्र नेपाल ल्याउने तयारी रहेको उनको भनाई छ।

‘सरकारले आगामी बजेटमा करको दर के गर्छ भन्ने कुरा निश्चित छैन। त्यसैले पनि हामी अहिले गाडी ल्याउन हतार गरिरहेको छैन,’ उनले भने, ‘हाम्रो गाडी बजेटपछि मात्र ल्याउने योजना छ। यो गाडी जुलाईतिर नेपाल आउने छ।’

उनले यो गाडी पहिलेको भन्दा थोरै मूल्य बढेर आउने बताए। डलरहरुको भाउले धेरै असर गर्ने भएकाले यसको मूल्य थोरै मात्रामा बढेर आउने उनको भनाइ छ। ‘हामीले ४६.५० लाख रुपैयाँको हाराहारीमा मूल्य कायम गरेर बिक्री गर्ने योजना बनाएका छौं। यही डलर घटेर आयो भने मूल्य कम भएर आउँछ,’ उनले भने, ‘यो गाडी एक वर्ष अगाडि सार्वजनिक गर्दा ४३ लाख ५० हजार राखिएको थियो।’

यस्तै उनले यो पटक नाम परिवर्तन भएर आउने बताए। ‘पहिला ओरा गुड क्याट नाम राखेर ल्याइएको थियो। गुड क्याट भनेर थाइल्यान्डको नेम हो। तर यो पटक भने उक्त गाडीको ग्लोबल नेम ओरा जेरो थ्री हो,’ उनले भने, ‘यही नाम क्यारी गरेर नेपालमा बिक्री सुरु गरिने छ।’

 कस्तो छ ओरा गुड क्याट?

कम्पनीले परीक्षण गर्नका लागि ओरा जेरो थ्रीका तीनवटा भेरियन्ट नेपाल ल्याएको थियो। गुडक्याट ४०० टेक, गुड क्याट ४०० प्रो र गुड क्याट ५०० अल्ट्राको नेपालमा परीक्षण भैसकेको छ। यो नेपाली भूगोल सुहाउँदो गाडी भएको कम्पनीले बताएको छ। यी तीन मोडलका गाडी नै आगामी दिनमा नेपाल आउनेछन्।

ओरा टेकमा सन रुफ छैन भने अन्य दुई भेरियन्ट प्रो र अल्ट्रामा सनरुफ राखिएको छ।

ओरा टेक र प्रोमा ४७.७८ किलोवाट र ओरा अल्ट्रामा ६३.१३ किलोवाट क्षमताको ब्याट्री छ। उक्त ब्याट्रीले एक पटकको चार्जमा ४०० देखि ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दावी छ।

फास्ट चार्जरबाट चार्ज गर्दा ४० मिनेटदेखि १ घन्टामा ८० प्रतिशत चार्ज हुन्छ। आफ्नै घरमा भएको एसी चार्जरले चार्ज गर्दा ८ देखि १० घण्टाको समय लाग्छ। यसमा भएको मोटरले २१० एनएम टर्क उत्पादन गर्छ।

यसमा अटोमेटिक एसी, सेन्ट्रल लक, रिमोट लक, कि-लेस स्ट्राटसम्मका फिचरहरु छन्। यसैगरी रियर भ्यू क्यामेरा, टायर प्रेसर सिस्टम, एबीएस, ईबीडी, हिल स्टार्ट एसिस्ट, ब्लाइन्ड स्पोट एसिस्टलगायतका फिचरहरु छन्। साथै भ्वाइस कन्ट्रोल, एलईडी स्टुमेन्ट प्यानल, ब्लुटुथ सिस्टम पनि छ।

यसैगरी अन्य सुरक्षाको फिचरहरुमा फ्रन्ट एयरब्यागको व्यवस्था गरिएको छ। यसमा २२८ लिटरको बुट स्पेस छ भने यसलाई पछाडिको सिटलाई फोल्ड गरी बुट स्पेस बढाउन पनि सकिने कम्पनीले जनाएको छ। यसमा ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ।