BIZMANDU
www.bizmandu.com

अन्तत: सबैको समन्वयमा काठमाडौं महानगरमा टाँगिएका अव्यवस्थित तार सोमबारबाट हटाइँदै

२०८० बैशाख २४

अन्तत: सबैको समन्वयमा काठमाडौं महानगरमा टाँगिएका अव्यवस्थित तार सोमबारबाट हटाइँदै
अन्तत: सबैको समन्वयमा काठमाडौं महानगरमा टाँगिएका अव्यवस्थित तार सोमबारबाट हटाइँदै

काठमाडौं। काठमाडौं महानगरपालिका भित्र अव्यवस्थितरुपमा टाँगिएका तार सोमबारबाटै हट्ने भएको छ। आइतबार काठमाडौं महानगरपालिका, नेपाल दूरसंचार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरुबीच भएको छलफलले सोमबारबाटै अव्यवस्थित तार हटाउने सहमति गरेको छ।

Tata
GBIME
Nepal Life

भोलिबाट माइतीघर-नयाँ बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र न्यूरोड गेट-हनुमानढोका हुँदै असनसम्मको कोर एरियामा टाँगिएका अव्यवस्थित तार हटाउन सुरु गरिने इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का कोषाध्यक्ष पुष्कर सिंह बडालले जानकारी दिए।

‘सोमबारबाट काठमाडौं महानगर भित्र तार व्यवस्थापनको काम सुरु हुने भयो। हामीले विभिन्न १० वटा रुटहरु तयार गरेका छौं। भोलि दुईवटा रुटबाट तार व्यवस्थापनको काम हुन्छ। जनशक्तिको उपलब्धता हेरेर सबै स्थानमा रहेका तार व्यवस्थापन गर्दै जान्छौं,’ बडालले भने।

तार व्यवस्थापनका लागि काठमाडौं महानगरसँगै इन्टरनेट सेवा प्रदायक, विद्युत प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी (सीसीटीभी) सबैको समन्वयमा तार व्यवस्थापन अघि बढ्न लागेको हो।

काठमाडौं महानगरपालिकाले प्रमुखस्तरीय निर्णय गर्दै वैशाख १२ गते सहरभर टाँगिएका अनावश्यक तार हटाउने सूचना निकालेको थियो। काठमाडौंका पोलमा टाँगिएका करिब ७० प्रतिशत तार अनावश्यक भएको भन्दै महानगरले १५ दिनभित्र सडक किनारामा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न लगाउन भनेको थियो।
१५ दिनको डेडलाइन वैशाख २६ गते सकिँदैछ। महानगरले सूचना प्रकाशित भएको १६औं दिनपछि आफैंले तार हटाउने चेतावनी दिएको थियो।

महानगरले तोकेको डेडलाइन नजिकिएसँगै प्राधिकरणले शनिबार मात्रै विज्ञप्ति जारी गर्दै दशकौंदेखि टाँगिएका र सेवा प्रवाह भइरहेको तार एकैपटक व्यवथापन गर्न कठिनाई हुने भन्दै दूरसंचार सेवा अवरुद्ध नहुने गरी व्यवस्थापन गर्न विभिन्न काम भइरहेको जनाएको थियो।

उता जबरजस्ती रुपमा इन्टरनेटको तार काट्ने महानगरको प्रयास प्रति इन्टरनेट सेवा प्रदायकहरु सन्तुष्ट थिएनन्। सोमबारको छलफलपछि भने तार व्यवस्थापनको काम सहजरुपमा अघि बढ्ने वातावरण तयार भएको छ।

महानगरका मेयर बालेन शाहले अव्यवस्थित तारहरुका कारण सहरमा आगलागीको जोखिम उच्च रहेको भन्दै तार हटाउनुपर्ने बताउँदै आएका छन्। उनले गत वर्ष मात्रै अव्यवस्थित तारहरुका कारण ५३ ठाउँमा आगलागीका घटना भएको भन्दै जसरी पनि लथालिंग तार हटाउने मुडमा छन्।